ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २ को आयोजनामा ज्येष्ठ नागरिकका लागि विशेषज्ञ सुविधासहित स्वास्थ्य परीक्षण शिविर गरिएको छ । शिविरमा २ सय २६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
पोखरा महानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जुदेवी गुरुङले उमेर पुगेका ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण गरी निगरानीमा राख्न सके उनीहरूको आयु बढाउन सकिने जनाइन् । ज्ञान र अनुभव सहितको अभिभावकत्व परिवारका लागि आवश्यक पर्ने भन्दै उनले ज्येष्ठ नागरिकलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक रहेको बताए ।
वृद्ध उमेरका उनीहरूलाई गरिने व्यवहारमा सम्मान र हार्दिकता हुनुपर्नेमा गुरुङले जोड दिइन् । स्वास्थ्य मानव जीवनको पहिलो प्राथमिकताको विषय भएकाले आम नगरवासीको स्वास्थ्य सुरक्षाप्रति महानगरपालिका प्रतिबद्ध रहेको जनाइन् ।
महानगरपालिकाका हरेक स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र अस्पताल समेतबाट नागरिकलाई सरल र सुलभ सेवा प्रदान गर्ने कार्यमा महानगरपालिका लागि रहेको उनले बताए ।
पोखरा २ का वडाध्यक्ष दिवसमान प्रधानांगले वडामा रहेका ज्येष्ठ नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए । उनीहरूको स्वास्थ्य पहुँच सहज नहुने, आफै अस्पताल जान नसक्ने र नियमित स्वास्थ्य परीक्षणको सुविधाबाट वञ्चित भएका ज्येष्ठ नागरिकलाई वडामा नै सेवा उपलब्ध गराइएको हो । ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसहित १ महिनालाई पुग्ने औषधीसमेत निःशुल्क उपलब्ध गराइएको अध्यक्ष प्रधानांगको भनाइ छ ।
शिविरमा सुगर, प्रेसर, मुटुसम्बन्धी जाँच तथा परामर्श र जनरल हेल्थ चेकअप लगायत सेवा दिइएको महानगरपालिकाका जनस्वास्थ्य अधिकृत दीपेन्द्र सुनारले जानकारी दिए ।
कार्यक्रममा सहरी स्वास्थ्य केन्द्र २ को सञ्चालन तथा व्यवस्थापन समितिकी उपाध्यक्ष गोमा सुवेदी र सचिव याचना खवास लगायतले स्वास्थ्य सचेतना र ज्येष्ठ नागरिकको स्याहार सुसारका सन्दर्भमा विशेष ख्याल गर्न आग्रह गरे ।
तपाईको प्रतिक्रिया