‘९५ प्रतिशत हिंसा आफन्तबाट’

समाधान संवाददाता २०८१ जेठ ८ गते ११:१०

पोखरा ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा ६ बैदामले लैंगिक हिंसा तथा साइबर अपराध विरुद्धको सचेतनामूलक कार्यक्रम गरेको छ ।


पोखरा महानगरपालिका वडा नम्बर ६ को कार्यालयको सहयोगमा भएको कार्यक्रममा वरिष्ठ प्रहरी नायब निरीक्षक होतबहादुर रोकायले सहजीकरण गरे ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा सिंहले कार्यक्रमको उद्घाटन गर्दै ९५ प्रतिशत महिला हिंसाका घटना चिने जानेको आफन्तबाट हुने दाबी गरिन् । साइबरका अपराधमा महिला र बालबालिका पीडित भएको उल्लेख गर्दै उनले छिटो विश्वास गर्दा महिला त्यस्ता अपराधिक घटनामा फसेको जानकारी दिइन् ।

Advertisement


‘समाजमा लैंगिक असमानता र विभेद कायम छ,’ उनले भनिन्, ‘लैंगिक हिंसा न्यूनीकरणका लागि पुरुषको सहभागिता आवश्यक पर्छ ।’ उनले लैंगिक हिंसा न्यूनीकरणका सवालमा धेरै महिला सचेत भइसकेको बताइन् ।

नेपाल प्रहरीले स्थानीय समुदायसँगको सहकार्यमा शान्ति, सुरक्षा कायम गरी समुन्नत समाज निर्माण गर्न सक्ने जानकारी दिदै उनले सामुदायिक सेवा केन्द्रहरुको अग्रसरता र प्रतिवद्धताले समुदायका लागि उल्लेखनीय काम भएको उल्लेख गरिन् ।

Advertisement


पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराइले लैंगिक हिंसा तथा साइबर अपराधको अन्त्यका लागि वडा कार्यालयले सहकार्य गरेको बताए । कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक रोकायाले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदाय स्तरमा धेरै गतिविधि भएको बताए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष नेत्रलाल भण्डारी, सचिव ठाकुरप्रसाद बराल, सहसचिव शान्ता सुवेदी तिमिल्सिना, धादिङ, त्रिपुरा महिला समूहका अध्यक्ष बविता मल्ल लगायतले लैंगिक हिंसाका कारण समाजलाई परेको असरको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया