‘ढाक्रे’ कवितामा गोकुल जोशी

स्ट्रगल राना २०८१ जेठ ९ गते १०:२५

पश्चिमको कर्णाली प्रदेशबाट उद्भव भएको ‘खस कुरा’ पूर्वतिर सर्दै गण्डकी प्रसवण क्षेत्रमा आइपुग्दा अरु विकसित हुन पुग्यो । अठारौँ शताब्दीको अन्ततिरबाट सुरु भएको राजनीतिक उथलपुथल र परिवर्तनले अन्ततः यसै क्षेत्रको गोर्खा राज्यबाट पृथ्वीनारायण शाहले राज्य विस्तारको अभियान थाले जुन ‘नेपाल एकीकरण’ को रुपमा स्थापित भयो र नेपाल एउटा नयाँ युगमा प्रवेश गर्‍यो ।


जसरी गोर्खा राज्यको विस्तारसँगै नेपाली जातियताले नयाँ भाष्य स्थापित ग¥यो कर्णालीबाट सुरु भएको ‘खस कुरा’ नेपाली भाषा बनेर गोर्खाली जाति पुगेका सबै ठाउँहरुमा प्रसारित हुँदै गयो र विभिन्न स्थानीय, विदेशी र प्राचीन संस्कृत भाषाका शब्दहरु थपिँदै विकसित र उन्नत नेपाली भाषाको रुपमा स्थापित भयो । राणाकालसम्म बर्मादेखि काश्मिरसम्म सीमित यो अहिले सूचना प्रविधिको विश्वग्रामसँगै ग्लोबल डायस्पोरामा फैलिएको छ ।


गण्डकी प्रदेश र नेपाली भाषा
राजनीतिक विकासमा गण्डकीको जुन योगदान छ नेपाली भाषाको प्रसार र उत्थानमा पनि यसको आदि कालदेखि हालसम्म पनि महत्वपूर्ण स्थान छ । सुरु कालका शक्ति बल्लभ, शिखरनाथ सुवेदी, स्वयं पृथ्वीनारायण शाह साथै नेपाली भाषाका आदिकवि भानुभक्त यही प्रदेशको माटोमा जन्मेका हुन् ।

Advertisement


आधुनिक नेपाली साहित्यका ठूलाठूला विद्वान् लेखकहरु लेखनाथ, धर्मराज, अलिमियाँ, गोकुल जोशी, सरुभक्तसम्म यही धर्तीका उपज हुन् । अरु थुप्रै कति सम्झनामा नहोलान् जसको योगदानले नेपाली भाषासाहित्यको डायस्पोरा पृथ्वीको कुनाकुनामा पुगेकोमा गर्व मान्नै पर्छ । यिनैमध्येका एक गोकुल जोशी हुन्, जसले राणाकालको अन्त्यतिरबाट जनसचेतनाको विगुल आफ्ना कवितामार्फत फुकेर जनतालाई सचेत बनाउने र समाज परिवर्तनमा ठूलो योगदान पुर्‍याउने काम गरे ।


प्रत्येक वर्ष उनको जन्म दिन जेठ ८ गतेलाई ‘गोकुल जयन्ती’को रुपमा मनाइरहँदा राज्यले र जनताले पनि भुलेका र उति वास्ता नगरेका यी पिछडिएका र कम शिक्षित कविको बारेमा केही बताउन आवश्यक लागेको छ ।

Advertisement


को हुन् गोकुल जोशी ?
हालको तनहुँ जिल्ला शुक्लागण्डकी –११, ढोर राईपुरमा १९८७ जेठ ८ गते गोकुल जोशीको जन्म भएको हो । उनका बाबु हरिलाल र आमा मनरुपा पोख्रेल थिए । तनहुँ नेपाली भाषाका आदिकवि भानुभक्तको जन्मथलो, अरु पनि थुप्रै विद्वान्हरु जन्मिएको भूमिमात्र नभएर चौबिसे कालदेखि नै ज्ञानका अनेक पक्षहरुमा अग्रणी स्थान हो । तर पनि गोकुलको जन्म समय तानाशाही र क्रुर राणा शाहीको उत्कर्षको त्यो अवधि थियो जति बेला मानिसका चेतना र भौतिक विकासमा सकेसम्मको ताला लगाइएको थियो ।

भारतका महान् कवि राहुल सांकृत्यानदेखि नेपालका देवकोटासम्मले यिनको प्रतिभाको उच्च प्रशंशा गरेका छन्


देशका अन्य भू–भागहरुमा जस्तै यहाँ पनि उच्चाहट लाग्दो गरिबी, पिछडापन र चेतनाहीनताको अवस्था विद्यमान थियो । गाउँमा पढ्ने स्कुल थिएनन् । बरु लाहुरेका चिठी र साहुका किर्ते तमसुक पढ्ने, लेख्ने र बुझ्नेसम्म हुन सावाँ अक्षर सिक्ने र पढ्ने सुविधा पाउनु पनि ठूलो कुरा हुन्थ्यो । त्यो पनि सबै गाउँ र सबै जाति, वर्ग र लिंगका मानिसहरुमा सम्भव थिएन ।


गोकुलको गाउँमा बाहिर कतैबाट केही पढेर आएका लक्ष्मीनारायण भन्ने पण्डितले स्थानीय ठिटाहरुलाई सिकाउने जिम्मा पाएका थिए । उनीहरु दिनभर कृषिकर्ममा मेहेनत गर्थे र बेलुका एक ठाउँमा जम्मा भएर टुकी र लालटिनको उज्यालोमा उतिबेलाको काठको पाटी र खरीको सहारामा पढ्थे ।

गरिबीको कारण गोकुलसँग मट्टीतेल प्रयोग गर्ने पैसा पनि हुँदैनथ्यो । अरुहरुले उनलाई आफ्नो समूहमा मिसाउन चाहँदैनथे । तर उनकै अनुसार जति अपहेलित भएपनि अरुले छोडेको उज्यालो प्रयोग गरेर उनले पढ्न लेख्न सिके । औपचारिक शिक्षा त धेरै परको कुरा भयो ।


घरमा पर्याप्त खेतीपाती नहुँदा खान लाउन अभाव थियो । उनको मात्र हैन अधिकांश गाउँलेको । मानिसहरु हट्टाकट्टा र क्षेत्री, गुरुङ, मगरका छोराहरु विदेशी सेनामा भर्ती हुन्थे भने अरुको विकल्प आसाम, सिलोङ लगायत पूर्वोत्तर, भारतमा गई गाईगोठ र भैँसी गोठमा काम नै गर्ने हुन्थ्यो र यी पनि लाहुरे कहलिन्थे । कमाइको स्रोत यही हुन्थ्यो । अझ कति ‘भाग्यमानी’ त आफूलाई विकास गर्दै साहु, महाजन बनेर कुस्त धन कमाएर पनि फर्कन्थे । गोकुल पनि १२/१३ वर्षकै कलिलो उमेरमा ‘लाहुर’ गए र सिलोङ पुगे ।


गाईगोठमा काम गर्दै, छोड्दै शिलोङ, आसाम हुँदै उनी कलकत्ता र मद्रास पनि पुगे । कहिले पानी जहाजमा कहिले फ्याक्ट्रीमा काम गर्दा गर्दै समय बिताए । तर कमाउन सकेनन् । बरु नयाँ ठाउँ, नयाँ अनुभव र नयाँ संगतले उनलाई धेरै सिकायो । स्वअध्ययन गरे । सानैदेखिको कवि हृदयको कारण उनमा विकसित काव्य भावना कविता र गीत बनेर प्रस्फुटि भए । सातसालको क्रान्तिपछि नेपाल फर्के र केही समय गौचर हवाई अड्डामा स्टोरकिपरको काम पनि गरे ।


यसैबिच धर्मराज थापासँग यिनको भेट र मित्रता भयो । दुवैजना भेकीय हिसाबले एकैतिरका र भावनाका हिसाबले कवि हृदयका भएकाले गीत संकलन र खोजी गर्ने हिसाबले नेपाल भ्रमण गर्ने निर्णय गरे र नेपालका धेरै ठाउँमा पुगे अनि त्यहाँका मौलिक भाकाहरु टिपेर जनताका गीत बनाए । पहुँचवाला धर्मराजले तिनलाई आफ्नो नाममा रेडीयो नेपालमा रेकर्ड गराए । गोकुल विमुख भए । आफू ठगिएको महसुस भएपछि यिनीहरुको मित्रता टुट्यो र अलग्गिए ।


गोकुल राजनीतिक पाटीसँग नजिकिए र जनपक्षीय गीतहरु लेख्दै र छपाउँदै देश विदेश गए । यसबिचमा सिमानाको गीत, बाँच र बाँच्न देऊ, एसियाको फूलबारी नेपाल जस्ता केही छोटा छोटा कविता संग्रह निकाले । उनी नितान्त घुमन्ते र फिरन्ते स्वभावका थिए । आफ्नै गाउँमा पनि एक दुईपटक बाहेक आएनन् र लामो समय पनि बसेनन् ।


अन्तमा झापाको घैलाडुब्बामा एकजना सहृदयीको सहयोगमा यिनले बसोबास मिलाएका थिए र त्यहीँ नै २०१८ सालको असार ४ गते ३१ वर्ष कै सानो उमेरमा यिनी दिवंगत भए । जीवनको छोटो अवधिमै यिनले धेरै अनुभव हाँसिल गर्न भ्याए । भारतका महान् कवि राहुल सांकृत्यानदेखि नेपालका देवकोटासम्मले यिनको प्रतिभाको उच्च प्रशंशा गरेका छन् ।


‘ढाक्रे’ कवितामा गोकुल जोशीः
ढाक्रे भन्ने शब्द ‘ढाकर’ भन्ने शब्दबाट आएको हो । मगर भाषामा डोकोलाई ढाकर भनिन्छ । डोको अर्थात ढाकर बोक्नेलाई ढाक्रे भनिएको हो । त्यतिबेला डोकोलाई सामान र वस्तु वस्तु बोकेर ओसार पसार गर्ने महत्वपूर्ण साधनको रुपमा प्रयोग गरिन्थ्यो । ढाकर अर्थात डोको मेलापात, खेतीपातीदेखि बजारबाट आवश्यक मालवस्तु ओसार्न पनि उपयोगमा ल्याइन्थ्यो र डोकोमा सामान राखेर ‘नाम्लो’ भन्ने एक प्रकारको डोरी लगाएर बोकिन्थ्यो ।


त्यति बेलाका मानिसहरु आफूलाई आवश्यक पर्ने कृषि उपज बाहेकका अन्य सामानहरु खासगरी नुन तेल लिन त्यतिबेला बटौली भनिने अहिलेको बुटवल बजार जान्थे । लाहुर जानु अघि सानैमा गोकुल पनि यिनै ढाक्रेहरुको पछि लागेर बटौली गएका रहेछन् । यिनको गाउँबाट त्यस ठाउँमा हिँडेर जानुपर्ने भएकाले पुगेर फर्कंदा हप्तौँ लाग्ने गथ्र्यो । खासगरी हिउँदको फुर्सदिलो समयमा मानिसहरु समूह बनाएर थुप्रै दिनको लागि आवश्यक पर्ने सामल तुमल बोकेर बटौली झर्थे र ठाउँ ठाउँमा बास बस्दै जान्थे र उसरी नै फर्कन्थे ।


सानै उमेरका भएपनि उनले यो अनुभव गरे र यसलाई ‘ढाक्रे’ कवितामा उतारे । यहाँ उनले ढाक्रेहरुको समग्र यात्रा र उनीहरुको जीवन शैलीको आफ्नो गीतीलयमा सजीव चित्रण गरेका छन् ।


‘बर्खाभरि कालकाटी हिउँद लागेपछि लुगा फेर्न सुन्तला र सुठो बोकीबोकी’
बर्खामासमा खेतमा काम गर्ने किसानको जीवन कष्टकर नै हुन्छ । नुनतेल किन्न र लुगाफाटो किन्न उनीहरु बटौली बजार जान्थे । अर्कोतिर उनीहरुसँग नगद नहुनाले आफैँले उत्पादन गरेको कृषिजन्य वस्तुहरु सुन्तला, सुठो (सुकेको अदुवा), जडिबुटी, घिउ आदि लगेर बजारमा बेच्थे र सामान किन्थे ।


यहाँ उनले ढाक्रे र किसानहरुको दुःखदायी कथा मात्र भनेका छैनन् पहाडदेखि मधेश झर्दासम्मका प्राकृतिक, भौगोलिक र विकासका बयान पनि गरेका छन् । उनले मानिसहरुले खेपेका दुःख र हण्डरको कथा पनि उल्लेख गरेका छन् । यो श्रमजीवी मानिसहरुको वेदनाको पोको त हो नै, त्यतिमात्र हैन गाउँदेखि धेरै टाढा ती मानिसहरु जातीय भेदबाट मुक्त भई समानताको व्यवहार गरेको वर्णन पनि गरेका छन् ।

त्यो परदेशमा उचनीय र धनी गरिब बिचको पर्खाल तोडिएको बताएका छन् । उनको यो छोटो र सरल शब्दमा लेखिएको गीति कवितामा सामूहिकताको सन्देश छरपष्ट पाइन्छ । बेलुका कंकड (चिलिममा राखिएको सुर्तीको धुलो जसलाई त्यतिबेला चुरोटको रुपमा प्रयोग गरिन्थ्यो) खानेबेला एउटाले सल्काएर सबैले मिलेर खान्थे भनेर उनले लेखेका छन् ।
जस्तोः
अर्को भन्छ तैँले मात्र नखा भन्दै त्यही
स्यानो ठुलो भन्ने भेद देखिँदैन केही ।।

तपाईको प्रतिक्रिया