नमुना भेटेरिनरी अस्पताल भवन तयार

पोखरा ।
गण्डकी प्रदेशको राजधानी पोखरामा पशुपक्षीको उपचारका लागि नमुना भेटेरिनरी अस्पताल सञ्चालन गर्न नयाँ भवन निर्माण भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १२ मा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा नयाँ भवन बनेको हो ।
२०७८ जेठ अन्तिम साता शिलान्याश भएको भवनका सामान्य फिनिसिङका काममात्र बाँकी रहेकोे भेटेरिनरी अस्पतालका वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताए ।
९ करोड ९९ लाख ६९ हजार ४ सय २८ रुपैयाँ लागत अनुमान गरिएको यो भवन निर्माणको जिम्मा ५ करोड ५४ लाख ४७ हजार २ सय ६५ रुपैयाँमा सिद्धबाबा फूलजोर जेभीले पाएको थियो । भवन निर्माण गर्ने कम्पनीलाई अझै १ करोड ४५ लाख भुक्तानी गर्न बाँकी छ ।
प्रशासनिक कामका लागि निर्माण गरिएको ३ दशक पुरानो र साँघुरो भवनबाट भेटेरिनरी अस्पतालले अहिले सेवा दिइरहेको छ । पशुको शल्यक्रिया र अरु उपचार मूल भवनको छेउमै रहेको टिनको टहरामा गर्ने गरिएको छ । नयाँ भवनमा शल्यक्रिया कक्ष, पोस्टअप वार्ड, एक्सरे रुम, प्रयोगशाला, भिडियो एक्सरेकोठा लगायतका संरचना बन्ने छन् ।
टिनको टहरामा पशुपक्षीको शल्यक्रिया गर्ने गरिएको छ । साढे ५ करोडमा भवन बनेपछि साउनबाट नयाँ भवनबाट सेवा दिने तयारी छ ।
वरिष्ठ पशु विकास अधिकृत पाण्डेले अन्तरंग, बहिरंगसहितका सेवा अस्पतालले चाँडै नयाँँ भवनबाट सेवा दिने उल्लेख गरे । ‘केही उपकरण यही वर्ष किन्छौँ, बाँकी उपकरण र व्यवस्थाका लागि आगामी वर्षको बजेटमा व्यवस्था होला,’ उनले भने, ‘नयाँ आर्थिक वर्षबाट नयाँ भवनबाट सेवा सुरु गर्ने लक्ष्य छ । त्यसपछि भेटेरिनरी अस्पताल साच्चिैको अस्पताल जस्तो हुनेछ ।’
भेटेरिनरी अस्पताल कास्कीले यो आर्थिक वर्षको वैशाख महिनासम्म ६ हजार ७ सय ३७ पशुलाई उपचार सेवा दिएको छ । यो अवधिमा कार्यालयले १ लाख ९४ हजार एक सय ३४ पशुलाई खोप लगाएको छ । १ हजार ९ सय २२ पशुलाई प्रयोगशाला सेवा दिएको पशु विकास अधिकृत सहदेव पौडेलले जानकारी दिनुभयो ।
कार्यालयले नश्ल सुधारका लागि कृत्रिम गर्भाधानबाट जन्मेका पाडी/बाच्चीलाई एकमुष्ठ अनुदान दिइरहेको छ । १ वर्ष उमेर नाघेका एक पाडी र बाच्चीका लागि किसानले एकमुष्ठ १० हजार पाउँछन् । यस्तै, बहुवर्षे घाँसे खेतीलाई पनि प्रोत्साहन गरिरहेको पौडेल उल्लेख गरे । उन्नत जातको बहुवर्षे घाँस खेती गर्ने किसानलाई प्रतिरोपनी ३ हजार प्रदान गर्ने गरिएको छ ।
भेटेरिनरी अस्पतालले अफ्रिकन स्वाइन फ्लुबाट बङ्गुर मर्दा नोक्सानी व्यहोरेका व्यवसायीलाई पुनस्र्थापना गर्न पनि प्रोत्साहन गरिहेको छ । बङ्गुरपालन गर्न पाठापाठी किन्ने किसानलाई एक पाठापाठीको ४ हजारका दरले रकम दिने गरिएको छ ।
कास्कीसँगै निर्माण थालिएको तनहुँको नमुना भेटेरिनरी अस्पतालको भवन निर्माण भने सुस्त छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशकी महानिर्देशक डा प्रेरणा सेढाइँ भट्टराईले तनहुँमा ठेकेदारले काम ढिलो गर्दा समस्या आएको जनाइन् । तनहुँको अस्पताल भवनको प्रगति ६५ प्रतिशत छ ।
तनहुँमा चार करोड ९० लाखमा इको बिल्र्डस प्रालि चितवनले भवन निर्माणको जिम्मा लिएको छ । गण्डकीका सबै जिल्लामा भेटेरिनरी अस्पताल छन् । प्रदेशमा एक पशु सेवा तालिम केन्द्र र एक मत्स्य विकास केन्द्र सञ्चालनमा छन् ।
तपाईको प्रतिक्रिया