हनी हन्टिङबाट १३० लिटर मह

समाधान संवाददाता २०८१ जेठ १३ गते ९:४७

पोखरा ।
गत वर्षको महोत्सवमा ३ लिटरमात्र मह जम्मा भएकोमा खिन्न कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ लान्द्रुकका बासिन्दा यसपालि भने प्रशन्न छन् । मंगलबार सुरु भएर शुक्रबार सकिएको लान्द्रुक हनी हन्टिङ महोत्सवमा १७ गोलाबाट १ सय ३० लिटर मह भीरौटेहरुले निकालेका छन् ।

Advertisement


महोत्सवका संयोजक विष्णुप्रसाद चपाई यसरी निकालिएको मह हातहातै बिक्री भएकोमा झनै उत्साहित छन् । मोदीखोलामाथिको छङ्गाछुर कोसेटाङ भीरमा सिमसिम पानी र टन्टलापुर घाम दुवैको परवाह नगरी मह निकालिएको हो । ४ दशकदेखि भीरौटे बन्दै आएका ६१ वर्षीय खड्गबहादुर गर्बुजामगर यसपालि पनि निगाँलोको चोया बाटेर बनाइएको डोरी (पराङ)को सहायतले भीरमा गए ।


६ दशक नाघे पनि ज्यान हत्केला राखेर भीरबाट मह निकाल्ने गर्बुजामगरलाई यो पेशामा लागेकोमा दुखेसो छैन । उनी भन्छन्, ‘एकदम जोखिमकै काम हो । गाउँघरमै बसेर यही काम गरियो । खुसी नै छु ।’ यसका बासिन्दा पहिले आफूलाई चाहिने महको जोहो गर्न भीरमा जान्थे, अहिले त्यही काम पर्यटकको आकर्षण समेत बनेको छ ।

Advertisement


अहिले भीरौटेहरुलाई प्रविधिले सजिलो बनाइदिएको छ । पहिले कोराको कपडा मुखमा बाँधेर मह काढिन्थ्यो, अहिले साधन, स्रोत हुँदा मौरीले टोक्न पाउँदैन, कोरा कपडा बाध्नु पर्ने वाध्यता छैन । महोत्सव गर्न अन्नपूर्ण गाउँपालिकाले सघाएको छ ।

गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङ यो महोत्सवले पर्यटन प्रवर्धनसहित लान्द्रुकलाई परिचित गराउन भूमिका खेलेको बताउँछन् । वर्षमा ३ पटकसम्म भीरमौरीको मह निकाल्ने गरिएको छ । कात्तिक, फागुन र जेठमा मह काढिने गुरुङ बताउँछन् ।

Advertisement

तपाईको प्रतिक्रिया