आत्माराम सरको ‘रानी चरी’ म

प्रकाश ज्ञवाली २०८१ जेठ १३ गते १०:२७

कोरोना महामारीको दोस्रो लहर चलिरहेको थियो, विश्वभर । कामधन्दा थान्को लगाएर घरमै बसिरहेको थिएँ । कामै परेमात्र बाहिर निस्कन्थेँ, नत्र घरभित्रै बन्दी बनेर बसिरहेको थिएँ । ‘सकभर घरबाट बाहिरै ननिस्कौं, निस्किहाले पनि एकदम सचेत भएर निस्कौं, भीडभाडमा कतै घुलमिल नहोऔं !’ यही नै त थियो कोरोना महामारीबाट बच्ने एकमात्र उपाय ।


घरबाट बाहिर ननिस्केपछि काम के नै हुन्थ्यो र ! सामाजिक सञ्जाल चहार्‍यो । अरु बेलाभन्दा घर–परिवारलाई दिने समय धेरै मिलेको थियो । त्रासदीको समयमा परिवारको साथमा छु भन्नुमात्रै । मन त्यसै तर्सिएर आउने । काम गर्न खोज्यो हातमै नआउने । मन स्थिर थिएन । यही मेसोमा हामी स्कुले साथीसंगातीको भेला हुने मौका पनि जुटेको थियो– भर्चुअल्ली । मैले २०६० को ब्याचमा एसएलसी दिए पनि ०५९ र ०६० सालका ग्रुप ब्याच दुवैमा जोडिएको थिएँ । स्कुल र स्कुलसँग जोडिएका हरेक प्रसंगका कुरा ग्रुपमा चल्थ्यो । स्कुल पढ्दा क्लोज नभएका साथी पनि ग्रुपमा आत्मीय बनेका थियौं ।


‘फलानो अस्पतालमा अक्सिजनको अभाव । अक्सिजन नपाएर यति जनाको मृत्यु । २४ घण्टामा यति कोरोना संक्रमित !’ यस्तै खालका समाचार छिनछिनमा आइरहेका थिए । त्यसै मन सिरिङ्ग बनाउने । यस्ता समाचार किन लेख्नु परेको होला ? किन देखाउनु परेको होला ? कोभिड जितेर अस्पतालबाट घर फर्केको समाचार सुन्दा र पढ्दा पनि आनन्द आउने । पीडाका बीचमा पनि केही राहत दिने खालका समाचार छिटफुटमात्र भेटिन्थे । म तिनैलाई सामाजिक सञ्जालमा बाँडिरहेको हुन्थें ।

‘आत्माराम सर’लाई कोभिड पोजेटिभ देखियो रे ! साथीहरूले एकाबिहानै सुनाए । छाती ढक्क फुलेर आयो । लौ, अब के हुने हो ? कसो हुने हो ? समय त्यति ठिक चलिरहेको थिएन । मान्छेको जातै कस्तो ? पहिला आफ्ना प्रियजन कसैलाई केही नहोस् भनी सोच्छौं । अनि, मात्र अरु ।

Advertisement


आत्माराम भण्डारी सर मेरा प्रियजनमध्येको अघिल्लो गन्तीमा आउने एक पात्र हुनुहुन्थ्यो । मनमा चिसो पस्यो । साथीभाइ सबैले के कसो भइरहेको छ ? छिनछिनमा अपडेट लिइरहेका थियौं । विशेष गरी साथी बालकृष्ण भण्डारीको घर र आत्माराम सरको उपचार चलिरहेको क्रिमसन अस्पताल नजिकै भएको हुनाले उसलाई फोन गरेर स्वास्थ्य अवस्था बुझिरहेको हुन्थें ।

देशभर अस्पताल नपाएर हाहाकार मच्चिरहेका बेलामा धन्न आत्माराम सरले बुटवलको क्रिमसन अस्पतालमा बेड पाउनु भएको थियो । त्यस बेला बेड पाउनु पनि ठूलो अहोभाग्य हुन्थ्यो ! हामी सबैले ढुक्को सास फेर्‍यौं । ‘हे भगवान् ! आत्माराम सरलाई केही नहोस् …!’ म जतिखेर पनि मनमनै पुकारिरहेको हुन्थें ।

Advertisement

मलाई साइन्स पढ्नुजत्तिको मजा अरु कुनै विषय पढ्दा आएन । उहाँको पढाउने शैली नै छुट्टै थियो ।

आत्माराम सरको क्रिमसन अस्पतालमा उपचार चलिरहेको थियो । परिवार तथा आफन्तजनसँग फोनबाटै स्वास्थ्य हालचाल बुझिरहेको थिएँ । त्यसबाहेक अर्थोक गर्न सक्ने अवस्था पनि केही थिएन । भेट्न जाऊँ, आउनेजाने बाटै बन्द । क्रिमसन अस्पतालले उपचारबाट हात झिक्यो । उहाँको स्वास्थ्य अवस्था अलि क्रिटिकल बन्दै गएपछि अस्पतालले अन्तै रिफर गरेको थियो ।


मनमा फेरि चिसो पस्यो । भेन्टिलेटर बेडमा राख्नु पर्ने सुझावसहित क्रिमसन अस्पतालले भेन्टिलेटर बेड भएको अस्पतालमा लैजान भन्यो । एउटा सामान्य बेड त नपाएर चिसो छिडीमा बिरामीले रात गुजार्नु परेको अवस्थामा भेन्टिलेटरसहितको बेड पाउनु चानेचुने कुरा थिएन । निकै हारगुहारपछि पोखरामा भेन्टिलेटरसहितको बेड मिल्यो । हामीलाई राहत मिल्यो ।
बुटवलबाट एम्बुलेन्समा आत्माराम सरको परिवारका केही सदस्यका साथ म्याडम पनि पोखरा आउनु भयो ।

घरबाट निस्केपछि १० ठाउँमा प्रहरीको सोधपुछपछि बल्लतल्ल अस्पताल पुगें । चरक मेमोरियल अस्पतालमा उहाँलाई भर्ना गरिएको थियो । आत्माराम सर बेडमा लडिरहनु भएको थियो । हप्तादिनसम्म राम्रोसँग सुत्न नपाएर पनि होला, म्याडमका आँखा राता भएका थिए । शरीर थाकेको प्रस्टै देखिन्थ्यो । तैपनि उहाँ यताउति हेर्नु हुन्थ्यो । डाक्टर कतिबेला राउण्डमा आउलान् र सरलाई जाँच्लान्, यही सोचेर हो कि …! उहाँ बेलाबेला ज्यादै आत्तिदै परपरसम्म हेरिरहनु हुन्थ्यो ।


परिवारका एक–दुई आफन्तजनबाहेक अरु कसैलाई पनि बिरामी भेट्नै दिइएको थिइन अस्पतालमा । बिरामीको नजिक परेमात्रै पनि कोरोना सर्ला भन्ने भय उत्तिकै थियो । आफन्तलाई भेट्न छुट्याएको अत्यन्तै छोटो समयमा आत्माराम सरलाई एकपटक भेटेको थिएँ । अक्सिजन लगाइरहँदा पनि सरलाई सास फेर्न निकै गाह्रो भइरहेको थियो । घरिघरि दुखाइ खेप्न नसकेर पूरै शरीलाई डल्लो पार्नु हुन्थ्यो ।


अस्पतालका नर्स र भेट्न जाने आफन्तलाई ‘मलाई घरै लैजाऊ…’ भन्दै अनुरोध गरिराख्नु हुन्थ्यो रे ! मसँग भने त्यतिबेला उहाँको दोहोरो संवाद हुनै पाएन । अस्पताल हो, कति बेला के हुने हो ? मुटुमा डरले ढ्याङ्ग्रो ठोकिरहन्थ्यो । घरि आत्माराम सरलाई हेर्दै, घरि म्याडमलाई हेर्दै केहीछिन अस्पताल बसें । उहाँहरूमा के बितिरहेको छ ? महसुस गर्न मात्रै सक्थ्यौं ।

बोल्न, एक शब्द पनि वाक्य फुटिरहेको थिएन । ‘उपचारमा कुनै कमी नहोस्,’ चिनजानका साथीहरूलाई भनुसन गर्न लगाएर म घर फर्कें । मनले मानिरहेको थिएन । यति धेरै भय मैले जीवनमा कहिल्यै बोकेको थिइनँ । सुत्न बेडमा पल्टे पनि निदाउनै सकिनँ । मेरा आँखाअघि झलझली आत्माराम सर नै आइरहनु हुन्थ्यो ।

ग्राम विकास प्राथमिक विद्यालयमा ५ कक्षासम्मको पढाइ सकेर ६ कक्षा पढ्न छतिनबोटमा रहेको सत्यवती माध्यमिक विद्यालयमा जानुपथ्र्यो । ६ कक्षादेखि साइन्स टिचरका रूपमा आत्माराम सरलाई पाएको थिएँ । मलाई अझै पनि सम्झना छ, आत्माराम सर घरबाटै तातोपानी बोकेर आउनु हुन्थ्यो । अत्यन्तै नरम मिजासको । कम बोल्ने । अरु शिक्षकको भन्दा उहाँको स्वभाव नै पृथक् लाग्थ्यो ।


म साइन्सको सामान्य विद्यार्थी हुँ । तर, मलाई साइन्स पढ्नुजत्तिको मजा अरु कुनै विषय पढ्दा आएन । उहाँको पढाउने शैली नै छुट्टै थियो । कक्षामा सबैजना कति बेला आत्माराम सरको पिरियड सुरु होला भन्ने सोचेर उहाँलाई नै पर्खिरहेका जस्ता देखिन्थे ।
कहिलेकाहीं अरु सर क्लास लिन आउँदा ५/१० मिनेट ढिला हुन्थ्यो । तर, आत्माराम सर सधैं समयमै आउनु हुन्थ्यो र पूरा पिरियड पढाउने गर्नु हुन्थ्यो ।

९ कक्षामा आत्माराम सरको पिरियडभन्दा अगाडि तेजप्रसाद ज्ञवाली सरले सामाजिक विषय पढाउनु हुन्थ्यो । उहाँले घण्टी लागेको नसुनेर ५/१० मिनेट ढिला गर्दा पनि केही नभनी ढोकामा आएर मुन्टो लुकाउँदै हेर्दै जाँदै गर्नु हुन्थ्यो । त्यसपछि, ‘तेजप्रसाद सरले घण्टी बजिसक्यो र नानी बाबु हो…!’ भन्दै क्लास छोट्याउनु हुन्थ्यो । आत्माराम सरप्रति विद्यार्थीको अथाह प्रेम थियो । विद्यार्थीको प्रिय शिक्षक हुनुहुन्थ्यो आत्माराम सर । मेरो पनि प्रिय शिक्षक हो उहाँ ।

कक्षामा सबैजना कति बेला आत्माराम सरको पिरियड सुरु होला भन्ने सोचेर उहाँलाई नै पर्खिरहेका जस्ता देखिन्थे ।



दुई खोलाको बीचमा थियो हाम्रो स्कुल । जुम्दी र तर्दी खोलाको बीचमा हाम्रो स्कुल पथ्र्यो । बर्खायाममा त ती खोलाले बितण्डै मच्चाउँथे । अहिले पनि बर्खा सुरु हुने बित्तिकै बाढी पहिरोले देशका विभिन्न भागमा क्षति पुर्‍याएको खबर आई नै रहन्छ ।


स्कुल र आत्माराम सरको गाउँलाई खोलाले सिमाना छुट्याएको छ । जुम्दी खोला तरेर अरुङ्गा र बिंडौरीको बीचमा पथ्र्यो आत्माराम सरको घर । त्यहींदेखि हिंडेर आउनु हुन्थ्यो आत्माराम सर हामीलाई पढाउन । बिंडौरीदेखि हँसरा पढ्न आउने विद्यार्थीलाई निकै सास्ती हुन्थ्यो । आत्माराम सरले तिनीलाई खोला तारेर स्कुल ल्याउने/लैजाने नगरेको भए ती साथीहरू कसरी पढ्थे होलान् ? अहिले सम्झिँदा उहाँप्रति झनै सम्मान जागेर आउँछ ।


सामुदायिक स्कुल राजनीतिको अखडा बनेको हाम्रो देशमा उहाँ मात्रै एउटा यस्तो उदाहरण हुनुहुन्थ्यो, राजनीतिदेखि निरपेक्ष शिक्षक । सधैं विद्यार्थीलाई कसरी गुणस्तरीय शिक्षा दिने ? कसरी पढाउँदा विद्यार्थीले सहजै बुझ्न सक्लान् ? उहाँको ध्यान केहीमा थियो त, यसमै केन्द्रित थियो ।

कोभिड हुनुअघि आत्माराम सर पोखरा आउनु भएको थियो । उस्तै हँसिलो । मायालु आत्माराम सरसँग स्कुललाई कसरी गुणस्तरीय बनाउन सकिएला भनेर निकै लामो छलफल पनि गरेका थियौं । स्कुलका सामान्य आवश्यकता कसरी पूरा गर्ने भन्नेमा सर धेरै चिन्तित हुनुहुन्थ्यो । यसै सन्दर्भमा साथी छविकला (थर) ले जापानबाट सहयोग गरेको सुनाउनु भयो ।

म संलग्न ‘लाइन्स क्लब अफ पोखरा पिस सोसाइटी’बाट हामीले पनि केही थान ह्वाइट बोर्ड, गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्कुल ड्रेसका साथै केही शैक्षिक सामग्री सहयोग गर्ने अवसर पाएका थियौं । यसै सन्दर्भमा पनि सरसँग कैयौं पटक कुराकानी भएको थियो ।


सम्झनाका तख्तामा खोजी हेर्ने हो भने सयौं सम्झना छन् आत्माराम सरसँग जोडिएका । मलाई अलि बढी याद आउने एउटै सम्झना, म एकपटक आउट ड्रेसमा स्कुल गएको थिएँ । सबै साथीहरू कुल ड्रेसमै थिए । त्यतिबेला म आउट ड्रेसमा रातो टिर्सट लगाएर स्कुल गएको सम्झना आउँछ ।


आत्माराम सरले चोरी पक्रिहाल्नु भयो, ‘ए रानी चरी ! उठ् ।’ म लाजले रातोपिरो भएँ । ‘किन ड्रेस नलगाएको ?’ उहाँले अरु साथीहरू र मेरो ड्रेस दाँज्नु भयो । म मात्र एक्लो थिएँ, ड्रेस नलगाउने । म लाजले भुतुक्कै भएँ । मैले ड्रेस नलगाएर गल्ती गरेको महसुस गराउनु भयो । सायद, अरु सर भएको भए सजाय दिने तरिका अरु नै हुन्थ्यो होला !


अहिले मेरै बच्चाले पनि टिचरहरूले भौतिक कारबाही गरेको चुक्ली लिएर आउँछन् । अहिलेको आधुनिक शिक्षामा पनि आत्माराम सरको जस्तो पढाउने शैली र विद्यार्थीलाई सम्झाउने शैली म भेट्दिनँ । विद्यार्थीलाई गल्ती महसुस गराउने भन्दा सजाय दिने चलन छ । सुदूर गाउँको शिक्षकमा त्यस्तो चेत थियो । यस्तै यस्तै सम्झनाले आत्माराम सरप्रतिको सम्मान सधैं उँचो रहिरहने छ । त्यसपछि स्कुले जीवनभर मैले कहिल्यै पनि आउट ड्रेस लगाएर स्कुल गइनँ । उहाँले सिकाएको त्यो आत्मानुशासन मलाई स्कुले–जीवनभर काम आयो ।

‘आत्माराम सर बित्नु भयो रे !’ नारायण न्यौपाने दाइले फोन गरेर सुनाउनु भयो । म उभिइरहेको ठाउँमै उभिई नै रहें । मनले विश्वासै मानेन । ‘यति सजिलै हामीलाई छोडेर कहाँ जान पाउनु हुन्छ आत्माराम सर …!’ सायद मनले यस्तै यस्तै सोच्यो क्यारे !
अहँ, मनले मान्दै मानेन । मस्तिष्क महाशून्यभित्र बिलाएजस्तै भएको थियो । आफ्ना प्रियजन गुमाउनु पर्दाको पीडाले यसै छटपटिई रहें । यस्तो बेलामा के गर्नु पर्ने हो ? दिमागले भेउ नै पाउन सकेन । मनै मानिरहेको थिएन । तर, सत्य त्यही थियो– अब आत्माराम सर रहनु भएन ।


जस्तो हुलियामा थिएँ । त्यस्तै अवस्थामा हस्पिटल दौडिएँ । कतिपय यस्ता घटना पनि हुन्छन् जिन्दगीमा, जो मनले नमाने पनि वास्तविकतामा सत्य ठहरिन्छन् । आत्माराम सर महाप्रस्थान गरिसक्नु भएको थियो । म्याडम, परिवारजन र त्यहाँ उपस्थित मानिसहरूको आर्तनाद र रुवाइले अस्पताल शोक स्थलमा परिणत भएको थियो । अन्य बिरामीका कुरुवाहरू हामीलाई हेर्दै थिए । उनीहरूका आँखाले भनिरहेथें, हाम्रो पनि जुनसुकै बेला यही हालत हुन सक्छ । उनीहरू नबोली हाम्रो पीडामा साथ दिइरहेको भान हुन्थ्यो ।


त्यहीं बेस्मारी डाँको छोडेर रोऊँ जस्तो भइरहेको थियो । म रोए म्याडमलाई झन् पीडा थपिन सक्थ्यो । जेनतेन आफूलाई सम्हालें । सत्य स्वीकार्न गाह्रो हो । तर, त्यसबाट भाग्न पनि त सकिन्न । गाउँका वडाध्यक्ष, स्कुलका टिचर, उहाँका आफन्त आदिलाई आत्माराम सर अब रहनु भएन भन्ने सूचना मैले नै दिएँ । परिवारका सदस्य त्यो खबर गर्न सक्ने अवस्थामै हुनुहुन्थेन । आत्माराम सर बेडमा लडिरहनु भएको थियो ।


घण्टौं लगाएर बल्लतल्ल शवबाहनको व्यवस्था भयो । आत्माराम सरलाई शवबाहनमा चढायौं । त्यति नै बेला ऐया ! बिस्तारै राख न भन्नु हुन्छ कि भनेर म चनाखो बनें । तर, अहँ ! उहाँले एक शब्द बोल्नु भएन । आत्माराम सर टसमस नगरी जुन आसनमा भ्यानमा चढाएका थियौं, त्यस्तै रहनु भयो । उहाँलाई बिदा गर्न घाटसम्म पुग्ने मन थियो । तर, घाट पुगेर फर्किने बाटो बन्द थियो । कहिलेसम्म बन्द हुने हो, त्यो पनि थाहा थिएन ।


कालो धूवाँ फाल्दै भ्यान अघि बढ्यो । बिस्तारै म्याडमको चिच्याहट पनि कम सुनिन थाल्यो । यतिबेलासम्म आफूलाई सम्हालिरहेको थिएँ । मन भक्कानिएर कहाँ पोखिऊँ जस्तो भइरह्यो । अघि जुन पीडाको आहालमा डुबेको थियो अस्पताल परिसर, एकैछिनमा सामान्य बन्दै गयो । सबै आ–आफ्नो काममा लाखापाखा लाग्न थाले । अस्पताल भवन उस्तै निर्जीव भई उभिइरहेको थियो । आत्माराम सरको निधनमा म भित्रभित्रै निचोरिइरहेको थिएँ । तर, उहाँको निधनमा मैले एकथोपा आँसु खसाउन पनि पाइनँ ।

तपाईको प्रतिक्रिया