पत्रकार विरही र सिग्देल पुरस्कृत

पोखरा ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरही कृति स्मृति पत्रकारिता वृत्ति सम्मान–२०८० बाट सम्मानित भएका छन् । पूर्वसांसद तथा उद्योगपति सूर्यबहादुर केसीको स्मृतिको उनको परिवारद्वारा स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मानको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ ।
महासंघ कास्कीले आर्थिक पत्रकारिता पुरस्कार–२०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देललाई पुरस्कृत गरेको छ । पुरस्कारको राशि २० हजार रुपैयाँ छ ।
पूर्वराष्ट्रपति डा.रामवरण यादवले विरही र सिग्देललाई शनिबार पुरस्कार हस्तान्तरण गरे । पत्रकार महासंघ कास्कीको साधारण सभाको अवसरसमेत पारी उक्त पुरस्कार हस्तान्तरण गरिएको थियो । महासंघ कास्कीको १७ औं साधारणसभा तथा १२ औं अधिवेशनको उदघाटन पनि पूर्वराष्ट्रपति यादवले गरेका थिए ।
त्यस अवसरमा यादवले कान्तिपुर मिडिया अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी संविधान र विधिको शासनविपरीत भएको बताए । उनले सरकारको कदम संविधान, कानुन र विधिको शासनको नियमविपरीत भएको बताएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशले प्रेसमैत्री मिडिया विधेयक ल्याएको बताए । उनले पत्रकारितालाई समाजले हेर्ने नजर फरक भएको र यसलाई असल पत्रकारिताको कर्मले चिर्नुपर्ने बताए । अर्थमन्त्री हरिबहादुर चुमानले पत्रकारिता जगत स्वच्छ र निष्पक्ष हुनुपर्ने बताए ।
पुरस्कृत पत्रकार विरहीले जुनसुकै सरकार आए पनि राज्यले मूलधारका सञ्चारमाध्यमलाई नियन्त्रण र निषेधको प्रयास गर्ने प्रवृत्तिमा कुनै भिन्नता नदेखिएको बताए । कान्तिपुरका अध्यक्ष सिरोहियाको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उनको भनाइ थियो । ‘अहिलेको सरकारले सञ्चारमाध्यम र पत्रकारलाई नियन्त्रण गर्न झन् कडा कानुनको व्यवस्था गर्दै छ,’ उनले भने, ‘त्यसतर्फ बेलैमा सचेत हुनुपर्छ ।’
पत्रकार महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रमेश विष्टले कान्तिपुरले शृखंलाबद्ध रुपमा सहकारी ठगीको घटना उजागर गर्ने गरी रिपोर्टिङ गरेकै कारण गृहमन्त्रीले प्रतिशोध साँधेको बताए । उनले प्रकाशक भएकैले पत्रकारिता सम्भव भइरहेकाले प्रकाशक र पत्रकारलाई छुट्याएर हेर्न नमिल्ने उल्लेख गरे ।
‘पहिला प्रकाशक र सम्पादक एकै व्यक्ति हुँदाको अवस्था अर्कै थियो,’ उनले भने, ‘अहिले प्रकाशक वा सञ्चालक नहुने हो भने मूलधारको पत्रकारिता नरहने अवस्था छ । यस्तो अवस्थामा सरकार नै सञ्चारमाध्यमविरुद्ध खनिनु न्यायसंगत हुँदैन ।’
सो अवसरमा पत्रकार शिरोमणि बराल, पत्रकार तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, ज्योतिषी बलराम उपाध्याय रेग्मी र पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेलाई दीर्घ पत्रकारिता सम्मान प्रदान गरियो । विमला भण्डारी नेतृत्वको ३ वर्षे कार्यकालमा उत्कृष्ट कार्यसमिति सदस्यबाट सन्तोष बस्याल नगद १० हजारसहित सम्मानित भए ।
महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको साधारण सभा उद्घाटन समारोहमा प्रेस काउन्सिलकी सदस्य दुर्गा भण्डारी, पुरस्कार स्थापना गरेको परिवारका सदस्य तथा उद्यमी किरण केसी, महासंघको लेखा आयोगका लेखनाथ न्यौपाने लगायतले बोलेका थिए । सहसचिव रेम रसाइलीले उद्घोषण गरे । महासंघलाई योगदान गरेका विभिन्न व्यक्तिलाई त्यस अवसरमा सम्मान गरिएको थियो ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया