गृहमन्त्रीलाई खुला पत्र

डा सञ्जय कोइराला २०८१ जेठ १३ गते ११:३०

माननीय गृहमन्त्रीज्यू,
‘सिधा कुरा प्रधानमन्त्री’बाट सुरु भएको तपाइको सिधा कुराको शृंखला न्युज २४ च्यानलको ‘सिधा कुरा जनतासँग’ कार्यक्रम हुँदै आफ्नै टेलिभिजन ग्यालेक्सी फोर केमा ‘सिधा कुरा’ चलाईरहदा न्याय र नैतिकताका कुरा गरेर कहिल्यै थाक्नुभएन । लगातार ६२ घण्टा १२ मिनेटको अन्तरवार्ता लिएर गिनिज बुकमा विश्व कीर्तिमान नै बनाउनु भएका तपाईले देश र जनताका लागि भनेर अमेरिकाको लाखौँ डलरको जागिर छोडेर फर्किएको भनेर बेला बेलामा बढो गर्बका साथ भनिरहनु पनि हुन्छ ।

Advertisement


प्रायः सधैं राजनीतिज्ञलाई गाली गरेर मिडियाबाटै तपाइको उदय भएको हो । आफूले पाउने हो भने चोर नेताहरुको नाकको डाँडी नै भाँचिदिने तपाइको लोकप्रिय अभिव्यक्ति बेला बेलामा मिडिया र सोसल मिडियामा भाइरल बनिरहन्छ । यसरी सिधा कुराका हेरक शृंखलामा तपाइले नेताहरुलाई दिनुभएका गालीहरु संगाल्ने हो भने संसारकै ठूलो महाकाव्य नै बन्छ पनि होला ।


तपाइले धेरैलाई आशा देखाउनु भयो । राजनीति भनेको कस्तो हुनु पर्छ, कसरी गर्नु पर्छ भन्ने देखाउने तपाईको हुटहुटी देखेर जनताले तपाइको जरा पनि नपलाएको बिरुवालाई सोझै आकासमै पुर्‍याउने काम गरिदिए २०७९ को आम चुनावमा । सालिकराम पुडासैनीदेखि लिएर दोहोरो पासपोर्ट, नागरिकताका काण्डमा तपाईलाई जनताले अभूतपूर्व साथ दिइरहे ।


जिबी राईलाई भरोसा दिलाएर कम्पनी खोल्नु भयो, आफ्नै दममा चलाउन सक्छु भनेर एउटा टेलिभिजन पनि सुरु गर्नु भयो । त्यसमा आफू प्रबन्ध निर्देशक पनि बन्नु भयो तर आफैंले चलाउने कम्पनीको लगानीको स्रोत के हो भन्ने तपाइले कुनै खोजीनीति गर्नु भएन । जिबी राईको व्यक्तिगत विवरणका बिषयमा कुनै चासो नै लिनुभएन । कस्ता व्यक्ति हुन्, कहाँबाट त्यत्रो सम्पत्ति आर्जन गरेर आज आफूलाई करोडौं रकमको सेयर दिन सक्ने हैसियत बनाए भनेर कुनै विचार नै गर्नु भएन ।


नेताहरुको सम्पत्तिको स्रोत खोज्ने तपाइले आफ्नो मालिकको बिषयमा कुनै चासो नै राख्नु भएन । सहकारीका समस्याहरु तपाईले आफ्नै कार्यक्रममा पनि कुनै बेला प्रशारण पनि गर्नु पनि भयो होला । कम्पनीको प्रबन्ध निर्देशक भइरहँदा कम्पनीको काम, कारवाहीको बिषयमा पनि ज्ञान लिने चेस्टा गर्नु भयो कि भएन ? आफूले खोलेको कम्पनीले कानुन सम्मत गर्न पाउने नपाउने कुराहरुका बिषयमा कसरी अनभिज्ञ भएर बस्नु भएको होला त ?

Advertisement

मिसन ८४ तपाई सत्तामा बसेर सफल हुने छाँटकाँट कत्ति पनि देखिन्न । बेलैमा सोच्नुहोस् !


कम्पनी चलाईरहदा यदाकदा कानुनको थोरै पनि हेक्का नराख्ने, आफ्ना लागि नै खोलिएको सो कम्पनी बीचैमा छोडेर कम्पनी नै धरासायी बनाउने, पार्टी गठन हुँदा नहुँदै पाएको अभूतपूर्व सफलतालाई सोझै व्यक्तिगत स्वार्थ बाझिने मन्त्रालय नै खोजेर संसदलाई नै बन्धक बनाउन पनि पछि नपर्ने तपाईलाई नेपाली जनताले मसिहाकै रुपमा हेरिरहेका थिए ।


तर जसरी तपाईं संसदमा प्रस्तुत हुनुभयो, त्यसले तपाइको राजनीतिक छविमा हिलो छ्यापिएको छ । जनताले दिएको अभूतपूर्व साथको तपाइले कुनै न कुनै रुपमा गलत उपयोग गर्न चाहनु भएको प्रस्ट हुँदै छ । तपाइको बिर्सन लायक विगत (राजनीतिमा आउनुभन्दा आघिको व्यक्तिगत) छविको कुनै पनि पर्वाह नगरी तपाईले देखाएको सुनौलो भविष्यमा नेपाली जनता रमाउने ठूलो आसमा थिए । जसलाई तपाइले पुनः कुठाराघात गर्नु भएको छ ।


जनताबाट पाएको त्यत्रो समर्थनलाई संयमित भएर संगठन विस्तार गर्दै पार्टीलाई ८४ साल सम्ममा बहुमत जुटाउन सक्ने बनाउनु तपाइको पहिलो कर्तव्य थियो । पुरातनवादी राजनीतिक चरित्रहरुको बीचमा रहेर राजनीतिलाई सही ढंगबाट बुझेर वर्तमानमा संविधान अनुसार बन्ने सरकारलाई राजनीतिक स्थायित्वका लागि समर्थन गरे पनि सत्ता मोहमा नपरी भविष्यका बारेमा सोच्नु तपाइका लागि हितकारक हुने थियो । संसद छिर्न नपाउँदै काम गर्ने जोशमा होस् या आफैंलाई बचाउन तपाइको गृह मन्त्रालयको मोह अस्वाभाविक नै थियो र अहिले पनि छ । अहिले त सो मोहले संसद नै बन्धकसम्म बनाएको छ ।


राजनीति आवेशमा गर्ने काम होइन, यसका लागि धैर्य, ज्ञान, अनुभवसँगै अध्यात्म पनि चाहिन्छ । धेरै बोलिरहन भन्दा अहिले आफैं गृहमन्त्री भएको बेलामा हिजो संसदमा जम्मा गरेर ल्याएका ती हरेक काण्ड खोल्दै गरेको भए राम्रो हुने थियो कि गृहमन्त्रीज्यू ? पदलाई बार्गेनिङकै बिषय बनाउन तपाईले पनि खोज्नु भएको हो कि भन्ने कुरा तपाईका अभिव्यक्तिहरुले स्पष्टै भनिरहेका छन् । खोल्नुहोस् ती एक एक काण्डका फाइल, तपाई पनि छानबिनको दायरामा आउनुहोस्, अरु पनि कसैलाई नछोड्नुहोस्, बल्ल यो देशले कु – राजनीतिबाट मुक्ति पाउनेछ !


यसरी म तयार छु तपाईहरु तयार हुनुहुन्छ भनेर सोध्नेमात्रै गर्दा राम्रो सन्देश प्रवाह भएन । तपाईलाई काम गर्न कसले रोक्यो खुलेर जनतालाई सुनाईदिनुहोस् । अब त कस्तो नेता छान्ने भन्ने कुरा जनताले पनि विस्तारै बुझ्दै छन् । अब बार्गेनिङ छोड्नुहोस्, अरुलाई बरु आफ्नो कुरा सुनाउन पद नै चाहिएला, तपाईलाई सदन र सडक नै पर्याप्त हुन्छ ।


पार्टी गठन भएको वर्ष दिन नबित्दै पाएको त्यो अभूतपूर्व सफलतालाई सही ढंगबाट प्रयोग गर्नुहोस्, गृहमन्त्री बनिरहँदा पनि निरीह हुनुपर्ने अवस्थाको राजनीतिमा अझै किन सत्तालिप्त भइरहनु हुन्छ ? केही समय संगठन विस्तार र पार्टी सबलीकरणमा लागेर ८४ मा शक्ति सम्पन्न भएर संसद छिर्ने थोरै धैर्य राखेको भए जनताले मान्ने थिए होलान् ! मिसन ८४ तपाई सत्तामा बसेर सफल हुने छाँटकाँट कत्ति पनि देखिन्न । बेलैमा सोच्नुहोस् !


फेरि पनि म भन्छु राजनीति बोल्नमात्रै जानेर, अरुलाई नराम्रोमात्रै देखाएर आफू ठूलो बन्ने या ढुंगा मुढा गरेर, ठेक्का पट्टा गरेर, जेल बसेर या धेरै धन कमाएर जानिने कुरा हुँदै होइन । यो एउटा विज्ञान हो जसका लागि केही अध्ययन, केही समयको अनुभव, त्याग, तपस्या, धैर्य र अध्यात्मिक चिन्तन पनि आवश्यक छ । जनताले पनि कसैको पछि लागिहाल्नु पूर्व उसको योग्यता, क्षमता, सामाजिक योगदानका साथै उसको विगत पनि हेर्ने हो कि ?


डा कोइराला पोस्सोन केन्द्रीय उपाध्यक्ष हुन् ।

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया