गणतान्त्रिक संस्कार र आचरणको आवश्यकता

खिमलाल देवकोटा २०८१ जेठ १४ गते १२:११

नेपाल यतिबेला संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भएको छ । विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले एक ऐतिहासिक प्रस्ताव पारित गरी राजतन्त्रको अन्त र गणतन्त्रको घोषणा गरिएको थियो । यसरी गणतन्त्र घोषणा गर्ने प्रस्ताव अन्तरिम संविधानबमोजिम संविधानसभामा पेस भएको थियो । कुल उपस्थित सदस्यमध्ये पक्षमा ५६० मत, विपक्षमा जम्मा चार मत र १२ अनुपस्थित भई भारी मतले पारित भएको गणतन्त्र आज १६ वर्षे बालिग भएको छ ।


अढाइ सय वर्ष पुरानो परम्परागत राजतन्त्रको विधिवत् अन्त भएको यो दिन नेपालको इतिहासमा ऐतिहासिक दिनका रुपमा रहेको छ । चिरकालपर्यन्त यो दिन ऐतिहासिक नै रहनेछ । त्यसो त नेपाल आरम्भमा गणराज्यहरुको मुलुक भनेर चिनिन्थ्यो ।
आजको नेपालमा थुप्रै गणराज्यहरु सञ्चालित थिए भन्ने कुरा अध्येताहरुको अध्ययनले पुष्टि पनि गरेको छ । मूलतः सामन्ती उत्पादन सम्बन्धका कारणले नेपाली समाज गणराज्यहरुबाट राजाहरुको उदय हुँदै राजतन्त्रात्मक मुलुकमा परिणत हुनु र राजतन्त्र पनि निरङ्कुश राजतन्त्रमा परिणत भई शासनभार आफनो हातमा लिदै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने सम्मको यात्रा अन्ततः एक प्रकारको राजतन्त्र अन्तको कारण बन्न पुग्यो ।


नेपालमा राजतन्त्र र गणतन्त्रको लडाई औपचारिक राजनीतिको थालनीभन्दा अघिदेखि नै भएको हो । खासगरी २००७ सालमा राणा शासनका विरुद्ध हतियारवद्ध युद्धको थालनीबाटै राणा शासन अन्तको दिशा समातेकै थियो । विश्वव्यापी परिवर्तनको लहरले नेपाललाई छाड्ने कुरा भएन । खासगरी दक्षिण भारत ब्रिटिश शासनबाट मुक्त हुनु उत्तरी छिमेकी चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भई जनवादी गणतन्त्र चीनको स्थापना हुनु नेपालमा गणतन्त्र स्थापनाको आधार थिए ।

Advertisement


तत्कालीन राजा त्रिभुवनको भारतीय दूतावासमा शरण अनि दिल्ली प्रस्थान भई दिल्ली सम्झौताका माध्यमबाट नेपालमा प्रजातन्त्रको बहाली भयो भनियो । राजा त्रिभुवनको नेपाल फिर्ता भई गरिएको सम्बोधनमा अबको नेपालको शासन प्रणाली जनताद्वारा चुनिएको वैधानिक सभाले निर्धारण गरेबमोजिम गणतन्त्रात्मक हुनेछ भन्नेबाटै आरम्भ भएको थियो ।


राजाबाट घोषणा भएको गणतन्त्र र संविधानसभा दुबै तत्कालीन राजनैतिक नेतृत्वको अक्षमताका कारणले गुम्न पुग्यो । राजतन्त्र बलियो मात्रै हैन, पटकपटक ‘कु’ गर्ने अवस्थामा पुग्यो । संविधानसभा संसदको चुनावमा गएर टुंगियो । संविधानसभा कि संसदको चुनाव भन्ने विवादमा अदालत तानियो । अदालतका माध्यमबाट संविधानसभाको चुनाव तुहाउने र संसदको चुनावमा थन्क्याउने काम हुन पुगेको थियो ।

Advertisement

गणतन्त्रको आन्दोलनमा समाहित हरेक नेतादेखि कार्यकर्तासम्मले गणतान्त्रिक आचरण व्यवहार र संस्कारको अवलम्बन पूर्व शर्त हुन्छ


त्यही २००७ सालमा चुकेको गणतन्त्र र संविधानसभा २०६५ मा प्राप्त भएको हो । यति लामो यात्रा पार गर्न पर्दाका पीडा र चुनौती आफ्नै ठाउँमा छन् । अन्तमा जनयुद्धको बलमा नेपालमा गणतन्त्र र संविधानसभा सम्भव भएका हुन् भन्ने कुरामा विवाद गर्ने ठाउँ छैन । २००७ सालमा घोषणा गर्न चुकेको गणतन्त्र संवैधानिक राजतन्त्रमा बदलिएको थियो । त्यही संसदीय राजतन्त्र पनि २०१७ सालमा राजा महेन्द्रको फौजी काण्डले अन्त भयो । त्यसका विरुद्धको प्रतिवाद अपेक्षाकृत हुन सकेन ।


यस्तै अवसर २०२८ सालको झापा विद्रोहले पनि प्राप्त गरेको थियो । तर चर्को दमनका सामने केही हात लागेन । २०३६ सालको जनमत संग्रह अर्को अवसर थियो । गणतन्त्रका लागि प्रतिवद्ध कम्युनिष्टहरु वहिष्कारको पक्षमा र काँग्रेस राजासँग घाटी जोडिएको छ भन्ने अवस्थामा पटाक्षेप भए । २०४२ सालको सत्याग्रहले पनि आकार लिन सकेन । २०४६ सालको जनआन्दोलन फेरि पनि राजाँंगै सम्झौता गरेर टङगियो । गणतन्त्रको काफी सम्भावना यस पटिक पनि टर्‍यो । अन्ततः जनयुद्धको थालनीले गणतन्त्रलाई सम्भव तुल्यायो ।


जनयुद्ध शान्ति प्रक्रियामा परिणत भयो । आन्दोलन फेरि पनि गणतन्त्र घोषणा नगरी टङ्गियो । फेरि पनि गणतन्त्र घोषणाको अवसर गुम्ने हो कि भन्ने भयका बीचमा अन्तरिम संविधानको निर्माण भयो । यसले राजतन्त्रको अन्त र गणतन्त्रको घोषणाको मार्गचित्र तय गरिदियो । यसरी मात्रै गणतन्त्र घोषणा सम्भव भएको हो ।


बिर्सनै नहुने कुरा के छ भने अन्तरिम संविधानमा राजतन्त्रका बारेमा संविधानसभाको पहिलो बैठकले निर्धारण गर्नेछ भन्ने त लखियो तर संविधानसभाको निर्वाचन नै नगरिदिने हो भने राजतन्त्र बाँचिरहने भ्रमका कारण संविधानमा मिति तोकेर पनि चुनाव गरिएन । दुईपटक संविधान संशोधन गरेर चुनावको मिति सार्नुपर्‍यो । तेस्रो पटकको अवसरमा मात्रै संविधानसभाको चुनाव सम्पन्न भयो ।


संविधानसभाको चुनाव भएर पनि पहिलो बैठकले घोषणा गर्ने गणतन्त्रका लागि बैठक बस्न आवश्यक थियो । तर बैठक आह्वान नै भएन । पहिलो बैठक नबसी गणतन्त्र घोषणा संविधान वमोजिम सम्भव थिएन । बढो प्रसव पिडाका साथ अन्तरिम संविधान संशोधन गरेर सहमतीय मोडेल भत्काएर बहुमतीय मोडेलमा गएपछि मात्रै बैठक बोलाउने शर्तका कारण त्यसो गर्न बाध्य भयो । बहुमतीय मोडेलको अवलम्बनपछि पहिलो बैठक बोलाएर मात्रै त्यो पनि दिन भर रातभरको माथापच्चिसीपश्चात् उज्यालो हुने बेलामा मात्रै गणतन्त्र घोषणा गर्न सम्भव भएको हो ।


यसरी आरम्भको गणराज्य २००७ देखि २०६५ सालसम्मका विभिन्न आरोह अवरोहका बीचबाट गुज्रदै गणतन्त्र नेपालमा परिणत भएको हो । यस प्रकृयामा आरम्भका कैयौं अवसरहरुमा राजनैतिक नेतृत्वले आँट गर्न नसक्दा राजासँग सम्झौता गर्न पुगेको र गणतन्त्र घोषणाको अवसर गुमाएको थियो । जनयुद्धको रापतापमा पैदा भएको नेतृत्वले सुझबुझ पुर्‍याएका कारण गणतन्त्र घोषणा भएको कुरा स्पष्ट छ ।


यसरी प्राप्त गरेको गणतन्त्र आज सित्तैमा प्राप्त भएको जस्तो गरिदैछ । यो गणतन्त्रको आन्दोलनमा कुर्वानी गर्नेहरुप्रति लज्जाको विषय त हुँदै हो त्यसप्रतिको उचित प्रतिवादको अभाव अर्को आक्रोसको विषय बन्न पर्दछ । आजको दिनमा गणतन्त्र प्राप्तिको अभियानमा लामवद्ध भई शहादत प्राप्त गर्ने शहिदहरुको बलिदानलाई स्मरण गर्ने हो भने मात्रै पनि गणतन्त्रप्रतिका कटुआलोचनाका बाणीहरु स्वीकार्य हुनै सक्दैनन् ।


गणतन्त्र केबल राजनैतिक उपलब्धि मात्रै हैन, जनताले रैतीबाट प्रजा र प्रजाबाट नागरिक र नागरिकबाट सार्वभौमसत्ता सम्पन्न नागरिक हुने अवसर पनि हो भन्ने कुरा बिर्सन हुँदैन । राजतन्त्रकालमा राजा र राजपरिवारलाई संविधान र कानुनभन्दा माथि राख्ने तैपनि प्रजातन्त्र दिवसमा नारा लगाउने कलाविहीन नाटक मञ्चन हुन्थे । त्यो दिनको अन्त गरिदिएको गणतन्त्रको घोषणाले मात्रै हो । त्यो आजकै दिनमा भएको हो । त्यसका लागि कैयन शहिद बेपत्ता घाइते र यातना पिडितहरुको योगदान छ भन्ने कुरा स्मरण गर्न जरुरी छ ।


आजको दिनमा गणतन्त्रप्रतिको निष्ठा व्यक्त गर्ने कुराको त्यतिकै महत्व छ । यसका अलावा पनि गणतन्त्रको संरक्षण सम्बद्र्धन र विकास अर्को कार्यभार हो । त्यो कार्यभार पुरा गर्न गणतन्त्र विरुद्धका हर्कतहरुका प्रति सम्झौताहिन सङ्घर्ष र तिनका विरुद्धको प्रतिवाद आजको आवश्यकता हो । यसैगरी गणतान्त्रिक संस्कार र आचरण अर्को अपरिहार्य आवश्यकता हो ।
आज गणतन्त्रलाई बदनाम गर्न राजतन्त्रको बखान गर्नेहरुको कमी त छैन नै त्यसमा पनि गणतन्त्र प्राप्तिका लागि नेतृत्व गर्ने नेताहरुका प्रतिको आक्रमण पनि सैह्य छैन । यसका लागि गणतन्त्रको आन्दोलनमा समाहित हरेक नेतादेखि कार्यकर्तासम्मले गणतान्त्रिक आचरण व्यवहार र संस्कारको अवलम्बन पूर्व शर्त हुन्छ ।


तसर्थ, आजको दिनमा गणतन्त्रप्रतिको निष्ठाका लागि आचरण व्यवहार र संस्कारप्रति पुनःएकपटक प्रतिबद्धता व्यक्त गरौँ । एउटा राजा फालेर थुप्रै राजा बनाउने गणतन्त्रको धेय हैन भन्ने जनस्तरबाट उठेको आवाजलाई पनि आत्मसात् गरी राजावादी चित्कारहरुको प्रतिवाद गर्दै गणतान्त्रिक संस्कारको प्रवद्र्धन गरौँ । यही नै सच्चा गणतन्त्र दिवसको उत्सवको अर्थ हुनेछ ।

देवकोटा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख हुन् ।

तपाईको प्रतिक्रिया