‘नेतृत्वमा युवाको सहभागिता बढाउन आवश्यक’

समाधान संवाददाता २०८१ जेठ १४ गते १५:२०

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीको जिल्ला स्तरीय ४१ औं जुनियर तथा युवा, शिक्षक नायक गोष्ठी भएको छ । युवा रेडक्रस सर्कल छोरेपाटन माविको पोखरा १७ को व्यवस्थापनमा भएको गोष्ठीमा संरक्षक, शिक्षक नायक, जुनियर युवा, सामुदायिक युवा गरी ४ सय जनाको सहभागिता थियो ।

Advertisement


गोष्ठीमा प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदाता उत्प्रेरणा, विपद् व्यवस्थापन समितिका संयोजक नवराज भण्डारीले विपद् व्यवस्थापनमा रेडक्रसको भूमिका, लेखा अधिकृत गणेश कोइरालाले रेडक्रसको अभियानबारे सहजीकरण गरे ।


गोष्ठीले रेडक्रस कास्कीका जुनियर युवा समितिका संयोजक रमेशराज भण्डारी जुनियर तथा युवाको वार्षिक प्रतिवेदन तथा आगामी कार्ययोजनालाई सुधारसहित पारित गरेको छ । कार्यक्रममा जनप्रिय माविका शिक्षक नायक श्रीकान्त पौडेलले १२ बुँदे घोषणापत्र प्रस्तुत गरे ।

Advertisement


गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गोष्ठी उद्घाटन गर्दै विपद् व्यवस्थापन तथा मानवीय सेवाको क्षेत्रमा रेडक्रसले उल्लेखनीय काम गरेको बताए । रेडक्रसको सिद्धान्त, मानवीय मूल्य र मान्यताको आधारमा देश भरका युवालाई समेटिएको उल्लेख गर्दै उनले मानवीय सेवाका अलवा नेतृत्व र निर्णय प्रक्रियामा युवाको सहभागिता बढाउनुपर्ने विचार राखे ।


नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष प्राध्यापक सुदर्शन नेपालले रेडक्रसले जुनियर तथा युवालाई आशाको केन्द्र र प्रेरणाको स्रोत मानेर काम गरेको जानकारी दिए । उनले रुपान्तरण, सशक्तीकरण र सिकाईका लागि महत्वपूर्ण अवसरको रुपमा गोष्ठीलाई लिन युवालाई आग्रह गरे ।

Advertisement


गण्डकी प्रदेश सभाका सदस्य भीम कार्कीले गोष्ठीले मानवीय सेवा, स्वयंसेवी भावनाको विकासको अलवा देशमा युवाको भविश्य राम्रो भएको सकारात्मक सन्देश दिएको उल्लेख गरे ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकाल, कास्कीका सभापति डण्डराज शर्मा पौडेल, कोषाध्यक्ष सन्तोष अधिकारी लगायतले जुनियर तथा युवा सर्कल माध्यम विद्यालय र विश्व विद्यालयमा रेडक्रसको गतिविधि भएको बताए ।


‘विश्वव्यापी रुपमा अभिप्रेरित, स्थानीय रुपमा सशक्तीकृतः जलवायुसम्बन्धी गतिविधिमा जुनियर तथा युवा’ भन्ने नाराका साथ भएको कास्की जिल्ला स्तरीय गोष्ठी भएको नेपाल रेडक्रस सोसाइटी कास्की जुनियर युवा समितिका संयोजक भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया