सम्पादकीय—इच्छुकबाट लिनुपर्ने प्रेरणा

समाधान संवाददाता २०८१ जेठ १५ गते ११:५४

पत्रकारिता गर्दागर्दै सहिद बनेका कृष्ण सेन ‘इच्छुक’लाई उनको स्मृति दिवसमा देशभर सम्झना गरियो । सञ्चार, साहित्य र राजनीतिक तीनैतिर एकसाथ सक्रिय इच्छुकको २२ औं स्मृति दिवसमा विभिन्न कार्यक्रम भएका छन् । राजनीतिक परिवर्तनका लागि उनले निर्वाह गरेको भूमिका र पत्रकारिता क्षेत्रमा उनको योगदानको चर्चा भएको छ ।

Advertisement

अहिलेको अवस्थामा जनपक्षीय पत्रकारिताको आवश्यकता कत्तिको छ, राजनीतिक परिवर्तनपछि पनि नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्यामा कसरी पत्रकारले काम गर्ने भन्ने बहस भएका छन् । इच्छुक स्मृति दिवस हुन् कि अरु स्मृति दिवस, मञ्चमा गरिने प्रतिवद्धता व्यवहारमा देखिए, देशको कायाकल्प हुन असम्भव छैन । विडम्बना यो छ कि हामी ढोगी छौं, मञ्चमा प्रतिवद्धता एक थोक गर्छाैं, व्यवहारमा उल्टो गर्छौं । यसलाई सुधार्ने शिक्षा इच्छुकको स्मृति दिवस र उनको जीवनले दिएको छ ।


नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको अधिवेशन चाँडै हुँदै छ । राजनीतिक कित्ता कित्तामा बाँडिएका पत्रकारहरु समग्र पत्रकारिता र श्रवजीवी पत्रकारको हितभन्दा दलीय स्वार्थ र व्यक्तिगत स्वार्थमा केन्द्रीत भएका बेला इच्छुकको जीवनले पत्रकारिताको हितमा अर्जुनदृष्टि दिन सिकाएको छ । साहित्य, राजनीति र पत्रकारिता इच्छुकलाई बुझ्ने तीन मुख्य आयाम हुन् ।

उनले राजनीतिक परिवर्तनका पक्षमा अडिग रहँदै सहादत प्राप्त गरेका थिए । उनी जस्तै हजारौंको बलिदानीबाट प्राप्त लोकतन्त्र, संघीयता र अहिलेको व्यवस्थाप्रति यति चाँडै प्रश्न उठ्ने अवस्था बन्नु स्वभाविक कुरा होइन । यति छोटो समयमै युगीन क्रान्तिका उपलब्धिमाथि शंका गरिनु, व्यवस्था परिवर्तनको नारा लाग्नुले राज्य सञ्चालकहरुले कार्यशैलीमा परिवर्तन गर्नुपर्ने पाठ इच्छुकको त्याग, समर्पण र जीवनले दिन्छ ।


त्यो बेला देशमा राजनीतिक परिवर्तनको आवश्यकता थियो । परिवर्तनका खातिर सशस्त्र र निःशस्त्र आन्दोलनहरु भए । आन्दोलनले नयाँ व्यवस्था ल्यायो पनि तर त्यसको ठीक ढंगले राजनीतिक व्यवस्थापन हुन सकेको छैन । आधारभूत तहका नागरिकले परिवर्तन अनुभूति गर्न पाएका छैनन् । जहाँतहीँ अराजकता हुने र सर्वसाधारणले सास्ती भोग्नुपर्ने अवस्था विद्यमान छ । एउटा राजनीतिक दर्शनबाट निर्देशित भएर मिसन पत्रकारितामा लागेको भए पनि उनीसँग हतियार होइन, कलम नै थियो ।

Advertisement

कलमबाट डराएर राज्य पक्षले उनको हत्या गरेको थियो । इच्छुकले दिएको दर्शन अंगाल्नेहरु नै अहिले विभक्त छन्, केही त ठूला ठूला अनियमितता घटनामा समेत परेका छन् । परिवर्तनका लागि जीवन उत्सर्ग गर्नेहरुको बलिदानलाई भर्‍याङ बनाएर व्यक्तिगत स्वार्थ पूरा गर्ने, लोकतन्त्रका आधारभूत मान्यतामाथि नै प्रहार गर्ने क्रम रोकिएको छैन ।

इच्छुकको जीवनले आम पत्रकारलाई नागरिकका समस्या र देशका समस्या सुल्झाउन सघाउने गरी जिम्मेवार पत्रकारिता गर्न झक्झक्याउँछ । अरुलाई जिम्मेवार, उत्तरदायी बनाउने पत्रकारिता जगत आफैं विकृतिको अखडा बन्न मिल्दैन, परिवर्तनको सुरुआत आफैंबाट गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया