पोखरा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

समाधान संवाददाता २०८१ जेठ १६ गते १३:०१

पोखरा ।
पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । महानगर क्षेत्रमा रहेका जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३११ बालबालिकालाई घरमै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरेपछि नगरप्रमुख धनराज आचार्यले मंगलवार एक कार्यक्रमका बिच उक्त घोषणा गरेका हुन् ।

Advertisement


स्वास्थ्य सेवा विभाग अन्तरगतको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका अनुसार पोखरा महानगरपालिका भित्रका जन्मदेखि ११ महिनासम्ममा ५ हजार ९१३ बालबालिकाहरूलाई पेन्टा पहिलो र ९५ प्रतिशत बालबालिकाले दादुरा रुवेला दोस्रो खोप प्राप्त गरेका छन् । जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३११ बालबालिकालाई घर मै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरिएको छ ।


महानगरका अनुसार खोपको कुनै पनि मात्रा प्राप्त नगरेका ४ जना र १३२ जना आंशिक खोप प्राप्त गरेका बालबालिकाहरू समेत नियमित खोप सेसन र आकस्मिक खोप सेसनमा समावेश गरी पूर्ण खोप प्रदान गरिएको छ । पोखरा महानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नु अघि ३३ वटै वडामा पूर्ण खोप सुनिश्चितता गरिएको थियो ।

८९० जना स्वास्थ्यकर्मी र ६५२ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई घरधुरी सर्वेक्षण देखी खोप लगाउने कार्यसम्म परिचालन गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।


घोषणा सभामा नगर प्रमुख आचार्यले बालबालिकाहरूको स्वास्थ्यका लागि खोप आवश्यक रहेको तथ्यलाई मनन गर्न जरुरी रहेको बताए । ‘आफ्ना बालबालिबाहरुलाई लगाउनु पर्ने सबै प्रकारका खोपहरू नियमित लगाउने विषयमा सबै जनाकार हुन जरुरी छ,’ प्रमुख आचार्यले भने, ‘खोप केवल औपचारिकता मात्र नभई यो बालबालिकाको सुरक्षित भविष्यसँग जोडिएको विषय हो ।’

Advertisement


पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले पूर्वाधार जत्तिकै गुणस्तरीय शिक्षा र स्वास्थ्यको विकास पनि वास्तविक विकास हुने भन्दै विकास प्रतिको दृष्टिकोणमा व्यापकता आवश्यक रहेको बताए ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले पुर्णखोप सुनिश्चितता स्वास्थ्य सम्बन्धी बालबालिकाहरूको संवैधानिक अधिकारको प्रत्याभूति भएको उल्लेख गरे । पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानांगले बालबालिकाहरूलाई खोप लगाउने अभियानमा हातेमालो गर्न आह्वान गरे ।


स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्का, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपाली, महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल पोखराकी संयोजक भीमा पौडेल, महानगरपालिकाका जनस्वास्थ्य अधिकृत फूलदेव तिमिल्सिना र जनस्वास्थ्य निरीक्षक एवं खोप अधिकृत तेजाखर लम्साल लगायतले बाल स्वास्थ्य र खोपको प्रभावकारिताका विषयमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया