सिद्ध र अमरसिंह मावि फाइनलमा

पोखरा ।
पोखरा क्रिकेट एकेडेमीको आयोजनामा जारी कास्की जिल्ला स्तरीय तेस्रो ब्रेकिङ बाउपन्ड्रज अन्तर मावि छात्र छात्रा टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत छात्रातर्फ सिद्ध मावि र अमरसिंह मावि फाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रंगशालामा मंगलबार भएको खेलमा सिद्धले त्रिभुवन शान्तिलाई तथा अमरसिंहले बाराही माविलाई पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित बनाएका हुन् ।
प्रतियोगिताको पहिलो सेमिफाइलनमा अमरसिंहले बाराहीलाई ९ विकेटले पराजित गरेको थियो । पहिला ब्याटिङ गरेको बाराहीले १२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन बनाएको थियो ।
प्रत्युत्तरमा अमरसिंहले ९.३ ओभरमा १ विकेटको क्षतिमा जित निकाल्यो । खेलमा ३ विकेट लिएकी अमरसिंहकी चन्द्रमाया प्लेयर अफ द म्याच भइन् ।
दोस्रो सेमिफाइनलमा सिद्धले त्रिभुवन शान्तिमाथि ५१ रनको फराकिलो जित निकालेको छ । टस जितेर ब्याटिङ रोजेको सिद्धले १५ ओभर खेल्दै २ विकेटको क्षतिमा १ सय रन बनाएको थियो ।
त्रिभुवनको पारी १०.३ ओभरमा ४९ रनमै समेटियो । खेलमा सिद्धकी रचना चौधरीले ५ विकेट लिँदै प्लेयर अफ द म्याच बन्न सफल भइन् ।
बुधबार छात्रतर्फ जनप्रिय र नवप्रभातबीच पहिलो सेमीफाइनल तथा कालिका र त्रिभुवन शान्ति माविबीच दोस्रो सेमिफाइनल खेल हुने आयोजक समितिका अध्यक्ष बबिन कुँवरले जानकारी दिए ।
तपाईको प्रतिक्रिया