गौतमको नेतृत्वमा सहिद, घाइते समन्वय समिति

समाधान संवाददाता २०८१ जेठ १६ गते १४:११

पोखरा ।
जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति कास्कीको पाँचौ जिल्ला अधिवेशन मंगलबार भएको छ । अधिवेशनले अध्यक्ष शेखर गौतमको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

Advertisement


कार्यसमितिको उपाध्यक्ष नारायणप्रसाद सुवेदी, सचिव विजया सुवेदी, उपसचिव शंकर पौडेल, कोषाध्यक्ष विष्णु भट्टराई छन् ।

कार्यसमितिको सदस्यमा सूर्यदेवी बञ्जरा, समुन्द्र सुनार, नेत्रपाणि सुवेदी, लालुमाया शर्मा, उमादेवी बास्तोला, बाबुकाजी श्रेष्ठ, गंगाधर बराल रहेको निर्वाचन समितिका सदस्य शिवप्रसाद खकुरेलले जानकारी दिए । कार्यसमितिको पदेन सदस्यमा नितर्वमान अध्यक्ष ढाकाराम पौडेल छन् ।

Advertisement


कार्यक्रममा समितिले पोखरा महानगरपालिका सामाजिक महाशाखाको सहयोगमा निम्न आय भएका १० परिवारलाई कम्बाइन राइसमिल प्रदान गरेको छ । समितिमा आवद्ध ६ परिवारलाई कुखुराको खोर मर्मत, दाना समाग्री, टेबल कुर्ची, भकारो सुधार, खाद्यान्न वितरण गरिएको छ । महानगरका मेयर धनराज आचार्यले २०६२/०६३ सालको जनआन्दोलनको जगमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।


‘जनताको बलिदानीपूर्ण संघर्षबाट नयाँ राजनीतिक प्रणाली स्थापना भएको छ । कार्यसम्पादनमा केही कमी कमजोरी भएता पनि गणतान्त्रिक व्यवस्था आफैमा गलत छैन,’ आचार्यले भने ।

Advertisement


नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका उपाध्यक्ष भेषराज बरालले सबै दल मिलेर राजनीतिक आन्दोलन गरेकोले उपलब्धिलाई संस्थागत गर्न एक जुट हुनु पर्ने बताए । क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केशबहादुर परियारले सहिद तथा घाइतेको योगदानको कारण लोकतन्त्र आएको उल्लेख गरे । उनले शहिद परिवार तथा घाइतेहरुले उठाएको सवाललाई समय सापेक्ष ढंगले सम्बोधन गर्नु पर्ने चर्चा गरे ।


‘लोकतान्त्रिक योद्धाको सम्मान, शहिद घाइते आश्रित परिवारको उचित व्यवस्थापन, गणतान्त्रिक संविधानको कार्यान्वयन’ भन्ने नाराका साथ भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, नेकपाका प्रतिनिधि सोममाया सी, शान्तिको लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिलवाल, पूर्व संयोजक विष्णुप्रसाद बराल, राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत टंक खनाल, जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति कास्कीका अध्यक्ष गौतम, उपाध्यक्ष सुवेदी, सचिव सुवेदी, पोखरा महानगरपालिका वडा नम्बर १९ का कार्यवहाक अध्यक्ष विकास आचार्य लगायतले गणतन्त्र दिवस तथा जनआन्दोलनको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया