निवर्तमान मुख्यमन्त्री अधिकारीले देखाए उच्च राजनीतिक संस्कार

समाधान संवाददाता २०८१ जेठ १७ गते १०:१८


पोखरा ।

गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले आयोजना गरेको मुल समारोहमा विपक्षी दलको लागि राखिएको कुर्सी खाली देखिएपछि निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले भनेका थिए- ‘यो प्रदेश प्रतिको जिम्मेवारी हामीमा छ । हामी कहीं पनि बहिष्कार गर्दैनौ । अनुचित कुरा स्वीकार पनि गर्देनौं । कुर्सी खाली गर्नुपरेको अवस्थामा गम्भीरतापूर्वक ३ पटक सोच्छौं ।’

सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डेसहित दुईजना मन्त्रीको सपथ ग्रहण कार्यक्रम बुधबार पोखरा सभागृह हलमा आयोजना गरियो ।

Advertisement

पाण्डेले दायर गरेको रिटको कारण सत्ता गुमाउन पुगेका निवर्तमान मुख्यमन्त्री अधिकारी सपथ ग्रहण कार्यक्रममा सहभागी हुँदैनन् होला भन्ने धेरैको अनुमान थियो ।

हुनपनि यसअघि उनले मुख्यमन्त्रीको सपथ लिदा होस् वा पछि मन्त्रिपरिषद विस्तार हुँदा मन्त्रीले सपथ लिने कार्यक्रममा होस् प्रतिपक्षी दलको उपस्थिति थिएन । प्रदेश सभा बैठक समेत बहिस्कार गरेका थिए । सोही कारण प्रतिपक्षी कुर्सी खाली हुनसक्ने आशंका बिहीबार पनि थियो ।

Advertisement


तर, अधिकारीले सपथ ग्रहण कार्यक्रममा सहभागी बनेर आफ्नो जिम्मेवारी पूरा गर्दै उच्च राजनीतिक संस्कार देखाएका छन् । उनले हात मिलाएर पाण्डेलाई बधाई समेत दिए । उनले देखाएको यो संस्कार अन्य नेताको लागि पनि सिकाइ हुनसक्छ ।

सपथ ग्रहण कार्यक्रममा उपस्थित भएका सहभागीले अधिकारीले देखाएको व्यवहारको प्रशंसा गरे । मुख्यमन्त्रीले प्रयोग गर्ने गाडी सहितका सुविधा समेत अधिकारीले अदालतको निर्णय थाहा पाउँदा साथ फिर्ता गरेका थिए।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताका हैसियतमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले अब ३० दिनभित्र अर्थात असार १३ गतेसम्ममा विश्वासको मत लिनुपर्ने हुन्छ ।

उनलाई विश्वासको मतको लागि आवश्यक पर्ने ३१ सांसद पुर्‍याउन हालको स्थितिमा सम्भव देखिदैन । उनलाई हालसम्म क्रांगेसको २७ जना सांसदको मात्र समर्थन छ । २ सांसद रहेको राप्रपाले सरकारलाई समर्थन गर्ने सम्भावना भएपनि त्यो विश्वासको मतको लागि पर्याप्त हुँदैन ।

नेकपा (एमाले) का २२ सांसद, माओवादी केन्द्रका ८ सांसद (सभामुख समेत) र राजीव गुरूङ गरेर ३१ जना अधिकारी नेतृत्वको गठबन्धनमा छन् ।

पाण्डेले विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार गठन प्रक्रिया सुरु हुनेछ।

तपाईको प्रतिक्रिया