पृथ्वीराजमार्गको पोखरा खण्डमा पनि पिच

प्रमिला कुँवर २०८१ जेठ १७ गते १६:४६
गण्डकी, १६ जेठ: अस्फाल्ट प्रविधिबाट कालोपत्र: पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा ‘अस्फाल्ट’ प्रविधिको प्रयोग गरी सडक कालोपत्रे गरिँदै । उक्त सडक आयोजनालाई चार लेनमा विस्तार तथा स्तरोन्नति गर्ने कार्य भइरहेको छ । तस्बिर : रामबहादुर थापा/रासस

पोखरा ।
पृथ्वीराजमार्गको पोखरा मुग्लिन सडक विस्तार अन्र्तगत पोखरा १४ चाउथे चोकदेखि पोखरा विमानस्थलसम्म कालोपत्रे गर्न सुरु गरिएको छ । डेढ किलोमिटर खण्डमा एकतर्फी आधा भाग बुधबार कालोपत्रे गरिएको छ भने आधा भाग शुक्रबार गरिने तयारी छ ।


कालोपत्रे गर्नु अघि सडकमा राखिने बेसलाई २४ घण्टासम्म राख्नुपर्ने भएकाले आधा/आधा गरेर काम गरिएको मुग्लिन—पोखरा सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर नारायण पौडेलले बताए । सडक विस्तारसँगै यातायातलाई पनि ध्यान राख्न पर्ने भएकाले काममा ढिलासुस्ती हुने उनको भनाइ छ ।


‘एकतर्फ सवारी साधन हिड्न पर्‍यो एकतर्फमात्र काम हुन्छ । कहिले सामाग्रीको अभाव हुन्छ, मौसमले पनि साथ दिनुपर्‍यो,’ उनले भने, ‘कालोपत्रे गर्न सुरु गरेका छौं । सुरुवातमा सात सय मिटर सडक कालोपत्र हुनेछ । बेस तयार भएका ठाउँमा समेत क्रमश मौसमले साथ दिए काम गर्नेछौं ।’

Advertisement


पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको पौडेलले जानकारी दिए । कामले गति लिइरहेको भए पनि बर्खा लाग्न थालेकाले विस्तार कार्य अघि नबढाउने योजना रहेको उनले सुनाए ।


पश्चिम खण्डमा तनहुँको जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर भएपनि हालसम्म २५ प्रतिशत मात्र भौतिक प्रगति भएको पौडेलले बताए । वित्तिय प्रगति पनि २५/२६ प्रतिशत नै भएको छ ।

Advertisement


जामुनेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्म खण्ड खण्ड गरेर १५ प्रतिशत सडक कालोपत्रे गरिएको छ । आगामी भदौसम्म म्याद भएपनि डेढ वर्ष भित्र सक्ने लक्ष्य रहेको पौडेलले जनाए ।


‘बिजुलीका पोल र खानेपानीका पाइप स्थानान्तरणले काम प्रभावित भएको थियो । ‘सर्वसाधरणका समस्यालाई ध्यानमा राखेर निर्धारित समयमै काम पूरा गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिएका छौँ ।’ पौडेलले भने ।


उनका अनुसार हालसम्म समग्रमा आबुखैरनीदेखि पोखरासम्मको सडक विस्तारको काम ४३ प्रतिशत मात्रै सकिएको छ । पूर्वी खण्डमा ६० र पूश्चिम खण्डमा २५ प्रतिशत मात्रै काम सकिएको छ ।


पूर्वी खण्डको ४१ किलोमिटरमध्ये २४ किलोमिटर दुईतर्फी र ८ किलोमिटर खण्ड एकतर्फी कालोपत्रे भएको छ । पश्चिमखण्डका १३ किलोमिटर एकतर्फी कालोपत्रे भएको छ । ८० किलोमिटरमध्ये ४५ किलोमिटर सकडमा कालापत्रे गरिएको छ भने करिब ३५ किलोमिटर बाँकि छ ।


पश्चिम खण्डको तनहुँको जामुनेदेखि पोखरा ३८ दशमलव ८८ किलोमिटर दूरीको जसमध्ये २० किलोमिटर दूरीमा छ लेनको बनाइने आयोजनाले जनाएको छ ।


आयोजनाका अनुसार राजमार्गको पश्चिम खण्डमा १२ वटा मोटरेवल पुल निर्माण भइरहेको र एक सयको हाराहारीमा कल्भर्ट निर्माण हुनेछ । तनहुँको कोत्रेदेखि पोखराको गगनगौँडासम्म ६ लेनको बन्ने भएको छ ।


२०७८ जेठमा सात अर्ब ४० करोड ४६ लाख लागतमा पश्चिम खण्डको निर्माण ठेक्का अनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको थियो । सम्झौता अनुसार ०८१ भदौभित्रमा सम्पन्न गर्नुपर्नेछ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया