म्याग्दीको सिंगामा स्वास्थ्य शिविर

पोखरा ।
दर्शन फाउन्डेसनको आयोजनामा म्याग्दीको बेनी नगरपलिका ४ सिंगामा भएको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ५७ जना लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी सिंगा उपशाखाको सहआयोजना तथा युनाइटेड रेफरेन्स ल्याबोटोरी (युआरएल) पोखरा र बेनी अस्पतालको प्राविधिक सहयोगमा शिविर भएको हो ।
संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै दुर्गम ठाउँमा निःशुल्क शिविर आयोजना गरेको आयोजक फाउन्डेसनका अध्यक्ष पितमबहादुर सेनले जानकारी दिए । आगामी दिनमा पनि फाउन्डेसनले सेवामूलक कार्यलाई निरन्तरता दिने उनले बताए ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले यो शिविर युआरएलले आफैं र विभिन्न संघ, संस्थासँगको सहकार्यमा भएको १ सय ७३ शिविर सम्पन्न गरिसकेको जानकारी दिए । आगामी दिनमा समेत दूरदराजमा पुगी युआरएलले यस प्रकारका शिविर सञ्चालन गर्ने अध्यक्ष पन्तले वाचा गरे । शिविरमा मधुमेश, टिजी, युरिक एसिड र पिसाबसम्बन्धी रक्त परीक्षण सित्तैमा गरिएको थियो ।
कार्यक्रममा डाक्टरहरु सरोजचन्द्र दाहाल, विराट शर्मा, राज गुरुङ, अञ्जु थापा र रामु सापकोटाले शिविरमा सहभागीको स्वास्थ्य परीक्षण गरेका थिए । सो अवसरमा निःशुल्क औषधिसमेत उपलब्ध गराइएको थियो ।
नेपाल रेडक्रस सोसाइटी म्याग्दीका अध्यक्ष अमर बानिया, कोषाध्यक्ष नवराज पौडेल, बेनी ४ का वडाअध्यक्ष अणबहादुर खड्का र रेडक्रस सिंगा उपशाखाका सभापति सुमन बानियाले कार्यक्रममा बोलेका थिए । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्वास्थ्य शिविर आयोजना गरी दर्शन फाउन्डेसनले उदाहरणीय कार्य गरेको बताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ पेट, छाति एवं मुटुरोग विशेषज्ञ डा. कृष्णराज अधिकारीले यस प्रकारले शिविरले बेलैमा रोगको पहिचान र सहज उपचारका लागि सघाउने जनाए । उनले यस्ता शिविरले सर्वसाधारणमा जनचेतनासमेत जगाउने उल्लेख गरे ।
तपाईको प्रतिक्रिया