बौद्धिक अपांगताको स्कुल निर्माणमा चरम ढिलाइ

समाधान संवाददाता २०८१ जेठ २० गते १०:१७
पोखरा महानगरपालिका वडा नम्बर ३०, खुदीमा बन्दै गरेको बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवासीय सुविधासहितको विद्यालय भवन ।

पोखरा ।

Advertisement


देशका सातै प्रदेशमा बौद्धिक अपांगता भएका बालबालिकाका लागि आवासीय सुविधासहितका छुट्टै विद्यालय चलाउने शिक्षा मन्त्रालयको योजना बजेट कम हुँदा प्रभावित बनेको छ । गण्डकी प्रदेशका लागि पोखरा महानगरपालिका वडा नम्बर ३० खुदीमा बन्दै गरेको विद्यालय भवन निर्माण सुरु भएको ३ वर्षमा १ तला ढलानमात्र भएको छ ।


त्रिभुवन शान्ति नमुना माविको जग्गामा बन्दै गरेको भवनको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बने पनि अझै स्वीकृत भएको छैन । संघीय शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले चलाएको यो योजनाको अनुगमन र प्राविधिक सहयोग प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको छ । सालबसाली योजनाका रुपमा निकै कम बजेट आउँदा विद्यालय निर्माण प्रभावित बनेको हो ।

सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेल यसलाई बहुवर्षीय योजनामा नलगी निर्माण पूरा हुन कठिन हुने उल्लेख गर्छन् । ‘बजेट डिपिआर भन्दा साह्रै कम आयो । यसरी वर्षको २ करोडमात्र बजेट हुँदा योजना नै कार्यान्वयनमा जान नसक्ने भनी संघीय शिक्षा मन्त्रालयमा लेखिपठाएका छौँ,’ सचिव पौडेलले भने, ‘यसपालिबाट विद्यालय सञ्चालन होला भनी सञ्चालनमा बजेट छुट्याएका थियौँ ।’


प्रदेशको स्रोत नै सीमित भएकाले यति ठूलो योजना कार्यान्वयन गर्न कठिन पर्ने उनको भनाइ छ । निर्माणै नसकिएकाले यसपालि विनियोजन भएको सञ्चालनतर्फको बजेट खर्च नहुने निश्चित देखिन्छ । ‘बौद्धिक अपांगता भएका विद्यार्थीलाई सबै तहका सरकारले हेर्नुपर्छ । तर हामी बढीमा ५० लाख वा १ करोड लगानी गर्न सक्छौँ,’ पौडेलले भने ।

Advertisement

गण्डकीका बौद्धिक अपांगता भएका बालबालिकाका लागि आवासीय सुविधासहित खुदीमा बन्दै गरेको विद्यालय भवन ३ वर्षमा १ तला ढलान


३ वर्षअघि बनेको डिपिआर अनुसार विद्यालय परिसरमा ३ ब्लक निर्माण हुनेछन् । यो विद्यालय भवनको लागत ३३ करोड हुने डिपिआरमा उल्लेख छ । संघीय शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अधिकृत अर्जुन ढकालले अबको आर्थिक वर्षमा धेरैजसो निर्माण सक्ने र अर्काे वर्षबाट विद्यालय सञ्चालन गर्ने योजना सुनाए । ‘अबको आर्थिक वर्षमा मुख्य काम सक्ने र त्यसपछिको वर्षबाट स्कुल सञ्चालन थाल्ने योजना छ । सबै निर्माण एकैपटक हुँदैन, चलाउँदै जाने, बनाउँदै जाने भन्ने हो,’ उनले भने ।


निर्माण र सञ्चालन दुवैमा प्रदेश र स्थानीय तहले पनि साझेदारी गर्नुपर्ने ढकालले औंल्याए । सामाजिक विकास मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले यो विद्यालयमा फिजियोथेरापी, स्पिचथेरापीसहित पेशागत सीपसमेत सिकाउने लक्ष्य राखिएको बताउँछन् । आर्थिक वर्ष ०७८/०७९ मा पहिलो पटक विनियोजन भएको २ करोड फिर्ता गएको थियो । त्यसपछिका २ वर्षमा २/२ करोडबाट बजेट विनियोजन भएको छ ।


छुट्टै विद्यालय र विशेष सुविधा नहुँदा बौद्धिक अपांगता भएका धेरै बालबालिका स्कुल जान पाएका छै्रनन् । अरु विद्यार्थीसँगै शिक्षा दिँदा उनीहरुको सिकाइसमेत प्रभावकारी बन्न सकेको छैन । खुदीमा बन्दै गरेको विद्यालयमा २ सय जना बौद्धिक अपांगता भएका विद्यार्थीलाई आवासीय सुविधा दिने लक्ष्य राखिएको छ । २ तलाका लिफ्टसहित विद्यालय भवन र प्रशासकीय भवन यहाँ बन्ने छन् । घरबाटै आउने जाने थप बौद्धिक अपांगता भएकालाई समेत शिक्षा दिने यसको लक्ष्य छ ।

तपाईको प्रतिक्रिया