बिर्सिइए विनोद

पोखरा ।
बाटोछेउ र पार्कका गुलमोहरका बोटले अहिले पोखरालाई राताम्य बनाएका छन् । उसै पनि रामसार सूचीमा रहेका सिमसारहरु र अनेकौ वन भएको ठाउँमा सयौं थरि वनफूल फूलिरहन्छन् । यहाँका बासिन्दा घर र सडक किनारमै पनि नानाथरी फूल हुर्काउँछन् । पोखरेली सर्जक विनोद गौचनको २०६३ मा प्रकाशित कृतिको नाम अनौठो थियोः पोखरामा फूल फूल्दैन ।
रङ्गीबिरंगी वनफूल लहराइरहने गाउँ रुचाउने गीतकार÷कवि थिए गौचन । उनको कवितालाई प्रतीकात्मक रुपमा बुझ्नुपर्ने समीक्षक असफल गौतमको तर्क छ । ‘पोखरा सहरमै घर भए पनि गाउँमा धेरै रम्ने, उतै डुल्ने, लेख्ने गौचनलाई सहरिया जीवन खोक्रो लागेको बिम्बात्मक अभिव्यक्ति हो यो,’ गौतम भन्छन्, ‘प्रतिभावान् र अन्तर्मुखी मान्छेका रहरहरु कोपिलामै चुडिन्छन्, फक्रनन् भन्ने सङ्केत पनि हो ।’
६९ वर्षअघि जेठ १३ गते जन्मिएका गौचनका केही गीत चर्चित छन्, दुई कविता सञ्चयन प्रकाशित छन् । विनोदको जन्म जयन्तीमा उनको जन्म र कर्म क्षेत्रमा यसपालि देखिने खालका कार्यक्रम भएनन् । पोखरा सहरका काँठतिर बस्ने, लेकतिर रमाउने शान्त कविलाई पोखराले बिर्सिएको देखियो । कुनै औपचारिक कार्यक्रम यसपालि भएनन् ।
उनकै अगुवाइमा ‘कविता गाउँ’ घोषित कास्कीको लुम्लेमा कविको शालिक बनाइने भएको छ । समाजसेवी चीनबहादुर केसीले अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ लुम्लेमा शालिक बनाउन जग्गा दिएका छन् । गौचनलाई अन्तर्मुखी र गम्भीर स्वभावका सर्जकको रुपमा चिनेकी छन् साहित्यकार उषा शेरचनले ।
आफन्तसमेत पर्ने शेरचन सम्झिन्छिन्, ‘कसैलाई पनि थाहा नदिई लुकाई राखेको मेरो एउटा कविता कपीबाट सुटुक्क सारेर उहाँले गोरखापत्रमा पठाइदिनुभएछ, पछि छापिएपछि पो थाहा पाएँ ।’ विनोद अन्तर्मुखी भए पनि अव्यवहारिक भने नभएको शेरचनको टिप्पणी छ ।
गौचनका २ कविता सङ्ग्रह ढुंगेसाँघुको मेलामा र पोखरामा फूल फूल्दैन प्रकाशित छन् । विनोदले २३ वर्षको हुँदा लेखेको जति माया लाए पनि गीतले अरुण थापासहित गौचनको पृथक पहिचान बनाइदियो । ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’, ‘कस्तो ठाउँमा फूल्यौं तिमी टिप्नै गाह्रो भो’, ‘चोली फाटे पनि तिम्रो जोवन फाट्या छैन’ लगायतका चर्चित गीत गौचनकै हुन् ।
कालजयी गीत र तिख्खर कविता लेख्ने गामवेंशीका कवि/गीतकार विनोद गौचनको जन्म जयन्तीमा कुनै कार्यक्रम भएनन्
५८ वर्षको जीवन पाएका विनोदका दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । उनका केही गीत अझै आफूसँग रहेको सुनाउन् संगीतकार सुनील थापा । गीतकार वसन्ती लालचनको भाइ भएकाले थापाको विनोदसँग चिनजानी भएको थियो । उनका आधा दर्जन जति गीतमा संगीत भरेका थापाले विनोदको अन्तिम गीतमा पनि संगीत दिएका छन् ।
‘अन्नपूर्ण हिमालमुनि गंगापूर्ण ताल’ गीतको स्थायी र एउटा अन्तरामा संगीत भरेपछि बाँकी अन्तरा दिन नपाउँदै गौचनको निधन भएको थियो । ‘बाँकी गीत दिदी वसन्ती लालचन र मैले पूरा ग¥यौँ,’ थापा थप्छन्, ‘बाहिर त्यति खुल्ने स्वभाव थिएन उहाँको तर साह्रै सरल शब्दमा असाध्यै गहन भावका गीत, कविता लेख्नुहुन्थ्यो ।’ बारम्बार गीत सच्च्याउन लगाउँदा पनि झिँजो नमान्ने गरेको थापालाई याद छ ।
संरक्षण कविता आन्दोलनका समेत अगुवा विनोद पोखरा आसपासका धम्पुस, घान्द्रुक, पञ्चासे लगायतका गाउँमा रमाउथे । त्यहीका बिम्ब गीत, कवितामा ल्याउनुहुन्थ्यो । पञ्चासे क्षेत्रमा गुरुङ समुदायमा प्रचलित बाटो छेक्ने संस्कारलाई उनले स्थायी बनाएको गीत कन्दरा ब्यान्डका विवेक श्रेष्ठले स्वर दिएपछि निकै लोकप्रिय बन्योः
तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले
त्यही रुमालमा पञ्चासेको फूल राखेँ मैले ।
जीवनको उत्तरार्धतिर आफूले गजल लेख्दै गरेको उनले सुनाएका थिए । साह्रै कम लेख्ने र लेखेपछि पनि आफूलाई चित्त नबुझी सार्वजनिक नगर्ने विनोदका गजलहरु पाइएका छैनन् । उनी सशक्त मुक्तकारकार पनि थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया