
जोमसोम ।
उपल्लो मुस्ताङमा ५ वर्षदेखि अलपत्र चराङ छोसेर २५ किमी ग्राभेल सडकको अधुरो काम सुरु गरिएको छ । २०७३/०७४ सालमा ठेक्का सम्झौता भएको यो सडक निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र थियो ।
भारतीय नाकाबन्दी चरणमा उत्तर दक्षिण जोड्ने कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजना सुरु भएको थियो । चीनको कोरला नाकासम्म सडक स्तरोन्नति गर्न आयोजनाले पहिलो चरणमा बेनी जोमसोम ७४ किमी कालोपत्र र दोस्रो चरणमा जोमसोम कोरला १ सय १० किमी ७ खण्डमा ग्राभेल गर्ने गरी बजेट विनियोजन भएको थियो ।
जोमसोम झैते ४ खण्ड र झैते कोरला ३ खण्ड गरी ७ खण्डमा ग्राभेल सडक विस्तार गर्न ७ खण्डमा ठेक्का लगाइएको थियो । त्यस बेला ग्राभेल सडक निर्माण गर्न लगाईएका ७ खण्ड ठेक्कामध्ये ६ सेसन २०७६ अगावै निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेका छन् । जोमसोम कोरलाका ६ सेसन आयोजनालाई हस्तान्तरण हुँदा चराङ—छोसेर २५ किमी सडकको काम निर्माण कम्पनीले अलपत्र छोडेको थियो ।
७ वर्षअघि २४ करोड लागतमा तामाङ गौरी पार्वती कोशी एन्ड न्यौपाने जेभी कन्ट्रक्सनले चराङ—छोसेर सडकको ठेक्का पाएको थियो ।
सुरुवाती चरणमा काम गरेको ज्याइन भेन्जर काशी एन्ड न्यौपाने कन्ट्रक्सनले काम गर्ने गरी फिल्डमा परिचालन भएको थियो । तर, यो कम्पनीले आधाभन्दा केही प्रतिशत बढी काम गरेपछि सम्पर्कविहीन बनेको थियो ।
त्यसपछि आक्कलझुक्कल काम गरे जस्तो आयोजनाले आँखामा छारो हाल्ने काम गरेको थियो । निर्माणको काम ८५ प्रतिशत पुग्दा चराङ चराङ छोसेर सडकको काम ठप्पै भयो । तत्कालीन समय संघ तथा प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र स्थानीयले सडक निर्माणको कामलाई निरन्तता दिन आयोजनाको ध्यानार्कषण गराउँदै आएका थिए । आयोजनाले चराङ छोसेर सडकका निर्माण कम्पनीलाई काममा फर्किन पटक पटक लिखित र मौखिक ताकेता गरेको थियो ।
अलपत्र चराङ छोसेर खण्डको काम गर्न गौरी पार्वती कम्पनी आएको छ । अरु ६ खण्डको काम ५ वर्षअघि नै सकिएको थियो ।
ताकेता गर्दा समेत काममा नफर्किएपछि आयोजनाले निर्माण कम्पनीलाई दिएको ठेक्का मोबिलाइजेसन वापतको रकम १ करोड ९ लाख २०७८ सालमा आयोजनाको खातामा फिर्ता ल्याएको थियो । त्यसपछि भने चराङ छोसेर सडक निर्माण कार्यमा झनै विलम्ब भयो ।
जोमसोम कोरला ६ सेसनका निर्माण कम्पनीले काम सकेर हस्तान्तरण गरेको ५ वर्ष बितिसक्दासमेत चराङ—छोसेरको काम अहिलेसम्म भएको छैन । यो सडकको काम हेन्डल गरेको कोशी एन्ड न्यौपाने जेभी काममा नफर्किएपछि पछिल्लो समय कालो सूचीबाट जोगिनकै लागि भए पनि अर्को पार्टनर गौरी पार्वती काममा फर्किएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईले जानकारी दिए ।
‘सुरुको कोशी एन्ड न्यौपानेले काम गर्न नसकेर भाग्यो, अहिले उसैको पार्टनरले चराङ छोसेर सडकको अधुरो रहेको काम पूरा गर्न आएको छ,’ सूचना अधिकारी चापागाईले भने, ‘कटिङ, फिलिङ र ड्रेनसहित केही फिनिसिङका काम बाँकी छन्, चालु वर्षभित्रै सक्ने भनिएको छ ।’ उनले चराङ—छोसेरको अधुरो सडकको काम गर्न गौरी पार्वतीले मजदूर र उपकरण फिल्डमा पुर्याएको छ ।
उनले बर्खा यामको अनुकूल समय भएकाले त्यहाँको सडक निर्माणको काममा कुनै बाधा नपुग्ने बताए । लामो सयमदेखि अलपत्र चराङ—छोसेरको बाँकी रहेको अधुरो काम गर्न आयोजनाले ध्यान दिनुपर्ने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए । उनले कोरला नाका हेर्न पर्यटकहआउने गरेको र बिचको स्थानमा सडक नबन्दा समस्या गरेको उल्लेख गरे ।
अध्यक्ष गुरुङले थपे, ‘लामो समयसम्म काम ठप्पै भयो, आँखामा धुलो छर्ने हिसाबले काम गरे जस्तो गर्नु हुँदैन, विकासलाई निरन्तरता र तीव्रता दिइनु पर्छ ।’
चराङ—छोसेर सडकको जिम्मा लिएको तामाङ गौरी पार्वती कोशी एन्ड न्यौपानेले बेनी—जोमसोम ७४ किमी सडक अन्तर्गत चौथो खण्ड खन्ती जोमसोम सडकको काममा पनि निकै ढिलासुस्ती गरेको छ ।
खन्ती जोमसोम १६ किमीमध्ये खन्तीदेखि मार्फासम्म कालोपत्र भएको छ भने, जोमसोमबजारका आंशिक सडक ढलान काम गरेको छ । अझै मार्फा जोमसोममा सडक कालोपत्र हुन सकेको छैन ।
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कोरलानाका जोड्ने सडकको समग्र भौतिक प्रगति ८२ प्रतिशत छ भने वित्तीय प्रगति ७८ प्रतिशत छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया