म्याग्दी ‘ए’ तारा च्याम्पियन

समाधान संवाददाता २०८१ जेठ २० गते १२:४५

पोखरा ।

Advertisement


गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा घरेलु टोली म्याग्दी ‘ए’ च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा भएको फाइनल स्पर्धामा कास्कीलाई झिनो ३ अंकले अग्रता लिँदै च्याम्पियन भएको हो ।


शुक्रबारबाट सुरु भएको खेलमा कास्कीले लगातार लिड लिए पनि दोस्रो दिन अन्तिम खेल बाँकी हुँदा म्याग्दी ‘ए’ ८७ का विरुद्ध ९० अंक प्राप्त गर्दै च्याम्पियन भयो । निकै प्रतिस्पर्धात्मक खेलमा तेस्रो स्थान प्राप्त गरेको मुस्ताङ जिल्लाले ८६ अंक बटुल्यो ।


च्याम्पियन भएको म्याग्दीले नगद ७५ हजार, कास्कीले ५० हजार र मुस्ताङले ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे ।

प्रतियोगितामा म्याग्दी ‘ए’का विकल जुग्जाली सर्वश्रेष्ठ धर्नुधर घोषित हुँदै नगद ५ हजार, विशिष्ट धर्नुधर भएका मुस्ताङका एरवेज गर्वुजाले नगद ३ हजार प्राप्त गरे ।

Advertisement


प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुदका कार्यकारी सदस्य दिलबहादुर गुरुङ, परिषदका सदस्य गिरमान गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, म्याग्दी खेलकुद विकासका अध्यक्ष दिनेश केसी, परिषदका लेखा प्रमुख नीलकण्ठ ढकाल लगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।


कार्यक्रममा प्रतियोगिताका संयोजक एवं परिषदका सदस्य योगेन्द्र शेरचनले प्रतियोगिता सफल बनाउन भूमिका खेल्नेहरुप्रति आभार व्यक्त गरे । प्रतियोगितामा गण्डकी प्रदेशका ६ जिल्लाका ४२ खेलाडी सहभागी थिए ।

तपाईको प्रतिक्रिया