कृषकलाई हाते ट्र्याक्टर वितरण

म्याग्दी ।
म्याग्दीको रघुगंगा गाउँपालिका ३ का कृषकलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्र्याक्टर (मिनिटेलर हलो) वितरण गरिएको हो ।
वडा कार्यालयको ‘कृषि प्रवद्र्धन’ वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ३८ कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको वडाध्यक्ष खिमबहादुर शाहीले जानकारी दिए । वडा कार्यालयले माग गरेका कृषक र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर उपलब्ध गराइएको उनले जनाए ।
‘४० हजार मूल्यका हाते ट्र्याक्टरमा कृषक र गाउँपालिकाले समान २० हजारको दरले साझेदारी भएको छ, छिट्टै व्यावसायिक रुपमा तरकारी खेती गर्ने कृषकलाई प्लाष्टिक टनेलसमेत अनुदानमा वितरण गर्ने योजना बनाएका छौं’, वडाध्यक्ष शाहीले भने । शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष शाही, वडा सदस्य जितबहादुर खत्री, आइती दर्जीलगायतले कृषकलाई हाते ट्र्याक्टर वितरण गरे ।
यस वर्ष कृषि प्रवद्र्धन कार्यक्रम अन्तर्गत ८ लाख ५० हजारमा ३८ कृषकलाई हाते ट्र्याक्टर र २५ कृषकलाई प्लाष्टिक टनेलमा ५० प्रतिशतको दरले अनुदान दिएको वडा कार्यालयले जनाएको छ ।
गाउँघरमा गोरु पाल्ने चलन हराएर जान थालेको र खेतबारी जोत्न समस्या भएको अवस्थामा वडा कार्यालयले अनुदानमा हाते ट्र्याक्टर दिएपछि राहत मिलेको रघुगंगा गाउँपालिका ३ मौवाफाँटका कृषक सुरतबहादुर चन्दले सुनाए ।
‘गोरु पाल्नै छाडे, हलो जुवा बनाउने सीप पनि हराएर जान थालेको छ, महिलाहरूले समेत जोत्न मिल्ने भएकाले हाते ट्र्याक्टर उपयोगी छ, हिउँदे र बर्खे खेती लगाउन हाते ट्र्याक्टरबाट सहज हुन्छ’, उनले भने । म्याग्दीमा पछिल्लो समय खेती किसानीको काममा परम्परागत रुपमा गोरुले खेतबारी जोत्ने चलन हराएको छ भने हाते ट्र्याक्टरलगायतका यान्त्रिक उपकरणको प्रयोग बढ्दो छ ।
हाते ट्र्याक्टरले छोटो समयमा धेरै खेतबारी जोत्न सकिने भएकाले समयको बचत हुने र गोरु पाल्नुपर्ने झन्झट नहुने पिप्लेका कृषक प्रकाश शर्माले बताए । सडक सञ्जालको पहुँच विस्तार भएसँगै जिल्लाको ग्रामीण भेगमा खेतबारी जोत्ने काममा हाते ट्र्याक्टरको प्रयोग बढ्दै गएको छ ।









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया