भिआइपीको ट्रेकिङ

पोखरा ।
अन्नपूर्ण हिमाल पेरिफेरीमा ७४ औं अन्नपूर्ण आरोहण दिवस मनाइँदै छ । आइतबार आधा दर्जनभन्दा बढी देशका राजदूत, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी), संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपिए) र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का प्रमुख एवं प्रतिनिधिले धम्पुसदेखि ह्याङ्जाकोट हुँदै पञ्चेबाजा पार्कसम्म पदयात्रा गरे ।
पदयात्रामा अमेरिका, बेलायत, भारत, चीन, इजरायल, श्रीलंका, पाकिस्तान, थाइल्यान्ड, मलेसियाका राजदूत, दूतावासका राजदूत र उच्च अधिकारी, पर्यटनकर्मी, पत्रकार लगायत सहभागी थिए । पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले आइतबार र सोमबार विभिन्न कार्यक्रम गरी अन्नपूर्ण दिवस मनाउँदै छ ।
परराष्ट्र मन्त्रालयसँगको सहकार्य, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकासँगको समन्वयमा आयोजना गरिएको कार्यक्रममा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी हुँदै छन् । सोमबार अन्नपूर्ण हिमाल आरोहण गरेका पर्वतारोही पूर्णिमा श्रेष्ठ, दावा याङजोम शेर्पा, लाक्पाडेन्डी शेर्पा लगायतलाई सम्मान गरिँदै छ ।
पर्यटन क्षेत्रको विकास र पर्वतारोहण सुरु भएको दिनका रुपमा जुन ३ लाई मनाउने गरिएको जनाए । फ्रान्सका मौरिस हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा पहिलो मानव पाइला राख्ने हर्जाेग नै हुन् ।
अन्नपूर्ण दिवसमा आधा दर्जन देश र अन्तर्राष्ट्रिय संस्थाका कूटनीतिज्ञले धम्पुसदेखि ह्याङ्जाकोटको पैदलयात्रा गरे
मौरिसले लेखेको ‘अन्नपूर्णमा पहिलो पाइला’ पुस्तक २० करोड प्रति बिक्री बताइन्छ । उक्त पुस्तकको नेपाली अनुवाद ७५ औं अन्नपूर्ण दिवसमा मौरिस पत्नीको उपस्थितिमा सार्वजनिक गर्ने योजना छ ।
अन्नपूर्ण आरोहण गरेपछि हर्जोगले बाँकी जीवन भने पीडामा बिताउनुपरेको थियो । दुवै हात र दुवै खुट्टा हिउँले खाइदिएपछि उनले कृत्रिम हातखुट्टा राखेका थिए । फ्रान्सको लियोन सहरमा १५ जनवरी १९१९ मा जन्मिएका हर्जोगको १३ डिसेम्बर २०१२ मा ९३ वर्षमा निधन भएको थियो ।
अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग अहिले विश्वको प्रसिद्ध छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा हर्जोगको सालिक बनाएर आधार शिविरमा राख्न लागिएको छ ।
नेपाल पर्यटन बोर्डले आइतबार बिहान पोखरा विमानस्थलबाट विदेशी कूटनीतिज्ञसहित ८० जनालाई धम्पुसदेखि ह्याङ्जाकोट हुँदै पञ्चेबाजा पार्कसम्म पदयात्रा गराएको हो ।
बोर्ड गण्डकी प्रदेश कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम बमोजिम आइतबार र सोमबार विशेष कार्यक्रम गरी अन्नपूर्ण दिवस मनाइरहेको छ । पदयात्रामा सहभागीलाई ठाउँ ठाउँमा स्थानीयले स्वागत गरेका थिए ।
छिटपुट वर्षा, उकालो, ओरालो बाटो, काँडाहरु झल्दै राजदूतसहितका उच्च पदस्थहरुले पदयात्रा गरे । सहभागी इजरायली राजदूत हानन गोडर गोल्डब्रेटरले आफूलाई ‘दिलबहादुर’को रुपमा चिनाए । उनले नेपालका अन्नपूर्ण बेस क्याम्प, कास्कीकोट, मार्दी आदि क्षेत्रमा पदयात्रा गरिसकेको सुनाए । धेरै इजरायली नेपालको पदयात्रामा आउने गरेको उनको भनाइ छ ।
बेलायती राजदुत रोब फेनले नेपालमा रहेका कथाहरुलाई उजागर गर्दै पर्यटन प्रवद्र्ध गर्न सुझाव दिए । उनले पर्यटनका सम्भवना खोज्न धेरै क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए । युएनडिपी नेपाल प्रमुख आइसाने मेडागोन्गोडा लावेले नेपालीमा रहेको साधारणपना जोगाउन आग्रह गरिन् । ‘यो बेला साधारण जीवन बाँच्नु र साधारण हुनु सबैभन्दा कठिन कुरा हो,’ उनले भनिन्, ‘साधारणपन जोगाउनुहोस् ।’
उनले युवाहरुको पलायनप्रति चिन्ता व्यक्त गर्दै आयआर्जनका अवसरहरु पर्यटन क्षेत्रमा पनि खोज्न अनुरोध गरिन् । युएसएआइडीकी निमित्त निर्देशक जुडिथ अल्मोडोभरले अन्नपूर्ण फेदीको जनजीवनले आफूमा छुट्टै छाप छाडेको सुनाइन् । ठाउँठाउँमा उनले अन्नपूर्ण क्षेत्रलाई पृष्ठभूमिमा राखेर सेल्फीसमेत खिचिन् ।
पदयात्रामा चौतारीमा अतिथिहरुले विश्राम गरेका थिए । बाटोमा पर्ने मन्दिर, खानेपानी टंकीबारे जानकारी लिएका थिए । कोदो गोड्दै गरेका किसान, डोको बुन्दै गरेका गाउँलेसँग पनि उनीहरुले जिज्ञासा राखे । ठाउँठाउँमा स्थानीयले अतिथिहरुलाई स्वागत गरेका थिए । स्वागतमा बजाइएको पञ्चेबाजामा अतिथिहरु समेत नाचेका थिए ।
सोमबार बिहान अन्नपूर्ण दिवसको मुख्य कार्यक्रम हुँदै छ । कार्यक्रमपछि अतिथिहरु फेवातालमा बोटिङमा जाने छन् भने केबलकारबाट सराङकोट पुग्ने छन् । पर्यटन बोर्ड पोखराका प्रमुख पोखरेल पोखरा र आसपासका मुख्य पर्यटकीय स्थालमा विशिष्ट पाहुनाहरुको भ्रमणले पर्यटन क्षेत्रमा उत्साह ल्याउने अपेक्षा गरे ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया