विन्ध्यश्वरी आदर्श स्कुललाई बास्केटबल उपाधि

समाधान संवाददाता २०८१ जेठ २१ गते ९:३७

कास्की ।

Advertisement


पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि मोहरियाटोलको विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुलले जितेको छ । पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुँडिखेलमा शनिबार भएको फाइनल खेलमा महिलातर्फ विन्ध्यश्वरी आदर्शले राष्ट्रिय माविलाई १७–३ ले हराउँदै उपाधि उपाधि जितेको हो ।


सो प्रतियोगिताबाट करुणानिधि एजुकेसन फाउन्डेसन (केफ) ले पोखरा आदर्शलाई हराउँदै तृतीय बनेको आयोजक संस्थाका सचिव अनिश गुरुङले जानकारी दिए । उपाधिसँगै विन्ध्यश्वरीले नगद १२ हजारसहित रनिङ सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

द्वित्तीय बनेको राष्ट्रिय मावि र तृतीय बनेको केफलाई क्रमश नगद १० हजार र ८ हजारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए । यसअघि विन्ध्यश्वरीले सेमिफाइनलमा करुणानिधी एजुकेसन फाउन्डेसन (केफ) लाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । राष्ट्रिय माविले पोखरा आदर्शलाई पराजित गरेर फाइनल पुगेको थियो ।


राष्ट्रिय माविलाई रनिङ शिल्ड
विद्यालयस्तरीय बास्केटबलमा छात्रातर्फ उपविजेता र छात्रतर्फ सान्त्वना स्थान हाँसिल गरे पनि राष्ट्रिय माविले रनिङ सिल्ड जितेको छ । राष्ट्रिय माविले १ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक जित्दै रनिङ सिल्ड जितेको हो ।

Advertisement


राष्ट्रिय माविले ५ किलोमिटर दौडमा छात्रतर्फ उमेश विक (स्वर्ण) र सोही स्कुलकै सन्देश राईले रजत पदक जितेको संस्थाका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए । उनका अनुसार कास्य पदक भने संस्कृत माविका आशीष सुनारले जिते ।


छात्रतर्फ रत्न आधारभूतकी भिममाया गुरुङले स्वर्ण, केफकी वर्षा कुँवरले रजत र राष्ट्रिय माविकी भूमिका सुनारले कास्यपदक जितेकी थिइन् ।

उनीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष, तथा पोखरा महानगरपालिकाका सल्लाहकार तेज गुरुङ, पोखरा महानगपालिका १ का वडाध्यक्ष साहारा प्रधान, नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष जुमप्रसाद गुरुङ, पोखरा महानगरपालिका १ का जनप्रतिनिधिहरु, राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा, आयोजक संस्थाका अध्यक्ष विष्णु गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया