सम्पादकीय—अन्नपूर्ण हिमाल

अन्नपूर्ण हिमालको इतिहास आरोहणका हिसाबले सगरमाथाभन्दा पनि पुरानो छ । संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये सबैभन्दा पहिला आरोहण भएको हिमाल अन्नपूर्ण हो । सन् १९५० जुन ३ तारिख अर्थात २००८ सालको जेठ तेस्रो साता यो हिमालका शिखरमा मानव पाइला परेको थियो । त्यसको ३ वर्षपछि मात्रै सर्वाेच्च शिखर सगरमाथाको आरोहण तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीले गरेका हुन् । अन्नपूर्ण आरोहणचाहिँ फ्रान्सेली नागरिक मौरिस हर्जोगले गरेका थिए ।
८ हजार मिटर अग्ला हिमालको आरोहणको सुरुआत बिन्दुमात्रै मौरिसको सफलता थिएन, त्यसपछि नै नेपालमा पर्वतीय पर्यटन सुरु भयो । गण्डकी प्रदेशको हिमालको आरोहणपछि यो क्षेत्र विश्वमाझ परिचित भयो । पोखराको बाटो मौरिस गएका होइनन्, कालीगण्डकी किनार, म्याग्दी हुँदै उनी अन्नपूर्ण पुगेका थिए । तर पोखराको छेवैको बाटो हिँडेको हुँदा पनि पोखरा प्रचारित भयो । अन्नपूर्ण आरोहणपछि मौरिसले ‘ला अन्नपूर्ण’ भन्ने किताब लेखे । जुन ५ दर्जनभन्दा बढी भाषामा अनुदित भयो । करोडौंप्रति बिक्री भयो त्यो किताब । पोखरा र नेपालले विश्व माझ परिचित हुन मौका पायो ।
पोखराको पर्यटन प्रवद्र्धनको श्रेय अन्नपूर्ण हिमाललाई जान्छ । त्यसै कारण पनि अन्नपूर्ण आरोहणको र दिवसको महत्व छ । त्यही हिमालसमेतका कारण यहाँको पर्यटन फस्टाएको छ । पोखरा महानगरपालिकाले पोहोरसाल नेपाली सेनासँग मिलेर यो हिमालको सरसफाइ पनि गरेको थियो । आरोहणको पुरानो इतिहास हुँदाहुँदै पनि यसको उति प्रचार गर्न नसक्दा हिमाल आरोहण भन्नेबित्तिकै पूर्वतिरका हिमाल र सगरमाथाकै प्रसंग बढी आउँछ ।
आरोही सगरमाथाबाहेकका हिमाल चढ्न पनि पूर्वतिरै लम्कन्छन् । खासमा अन्नपूर्ण र यसको शृंखलाका हिमाल आरोहणको प्रवद्र्धनमा ध्यान नपुगेको हो । अन्नपूर्ण दिवसका अवसरमा केही विदेशी राजदूतसमेतलाई कास्कीका गाउँतिर पदयात्रामा लगिएको छ आइतबार । विभिन्न कार्यक्रम पनि भएका छन् । यसरी र अरु विभिन्न तवरबाट प्रचार गर्न सकियो भने अन्नपूर्ण दिवसले पर्यटनमा सार्थकता पाउने छ ।
मौरिसको सालिक समेत कास्कीको अन्नपूर्ण गाउँपालिकामा बनाइएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पनि बनाएको छ । सालिक बनाएर हर्जाेगको सम्मानु गर्न मनासिबै हो । त्यही बहानामा बढीभन्दा बढी फ्रान्सेली र युरोपेली पर्यटन भित्रयाउन पनि कसरत गर्नुपर्छ । अन्नपूर्ण हिमालको सरसफाइ र संरक्षणमा पनि ध्यान दिँदै पर्यटन प्रवद्र्धन गर्न सके गण्डकी प्रदेशको अर्थतन्त्रमा टेवा पुग्छ ।
तपाईको प्रतिक्रिया