अन्नपूर्ण म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

समाधान संवाददाता २०८१ जेठ २२ गते १०:०९

पोखरा ।

Advertisement


चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका होमलाल श्रेष्ठले जितेका छन् । गत वर्षका उपविजेता श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दुरी ४ घण्टा १६ मिनेट २४ सेकेण्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यद्यपि सो दूरी गत वर्ष उनले ४ घण्टा १२ मिनेट ५१ सेकेन्डमा पार गरेका थिए ।


त्यसैगरी सोलुखुम्बुका अर्जुङ कुलुङ दोस्रो भए । उनले निर्धारित दुरीलाई ४ घण्टा ३५ मिनेट १५ सेकेण्डमा पूरा गरेका थिए । उनले ५ दिनअघि मात्र एभरेस्ट म्याराथनको उपाधि चुमेका थिए । गतवर्षका विजेता जुम्लाका धीरबहादुर बुढा तेस्रो स्थानमा आए ।

उनले ४ घण्टा ४३ मिनेट ६ सेकेन्डको समयमा निर्धारित दुरी पार गरेका थिए भने उनले गत वर्ष ४ घण्टा १० मिनेट ५१ सेकेन्डमा दुरी पूरा गरी प्रथम स्थान प्राप्त गरेका थिए । द्वितीय र तृतीय स्थान प्राप्त गरेका राई र बुढाले क्रमशः एक लाख र ७५हजार नगद प्राप्त गरे ।


महिलातर्फको उपाधि खोटाङकी निर्मला राईले जितिन् । उनले निर्धारित दुरी ५ घण्टा ३७ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै विजेताले राईले नगद १ लाख ५० हजार राशि पुरस्कार प्राप्त गरिन् ।

Advertisement

नेपाल आर्मीकी (डोल्पा घर भएकी)सुनसरी रोकायले ५ घण्टा ४५ मिनेट ३१ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो स्थानमा रहिन् भने ओखलढुंगाकी छोकी शर्पाले ५ घण्टा ५६ मिनेट ५९ सेकेन्डको समय दुरी पार गर्दै तेस्रो स्थानमा आइन् ।

गत वर्ष पनि तेस्रो स्थान प्राप्त गरेकी शेर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । महिलातर्फ पनि द्वितीय र तृतीय स्थान प्राप्त गरेका रोकाय र शेर्पाले क्रमशः १ लाख र ७५ हजार प्राप्त गरे ।


दौड ४ हजार १ सय ३० मिटरको अन्नपूर्ण आधार शिविरबाट सुरु भई माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुक ओर्लिएर समापन भएको थियो ।


महिलातर्फ १ विदेशीसहित ११ जना धाविकाको सहभागिता थियो । ३ विदेशी ४९ जना पुरुष धावकको सहभागिता थियो । महिला तथा पुरुष गरी ६० जना धावकले भाग लिएकोमा २ जनाले बिचबाटै प्रतियोगिता छाडेका थिए । ४ विदेशी मध्ये ३ जना बेलायती र १ स्क्टल्यान्डका धावकको सहभागिता थियो ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा सञ्चालित अन्नपूर्ण म्याराथनमा विजेता धावकहरुलाई म्याराथनका समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामला मन्त्री डा. टकराज गुरूङ, मूल आयोजक समितिका संयोजक एवं समितिका अध्यक्ष ललित गुरूङ लगायत विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए ।


‘पर्यटनका लागि सबै मौसम’ भन्ने नारासहित अन्नपूर्ण पदयात्रा क्षेत्रको विकास र विस्तारमा टेवा पुर्‍याउने उद्देश्यसहित समितिले २०७५ सालदेखि अन्नपूर्ण म्याराथन आयोजना गर्दै आएको हो । अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न गत वर्षदेखि अल्टिमेट एडभान्चर नेपालको साथ र सहयोग रहेको समितिले जनाएको छ ।


सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको दिनलाई ‘अन्नपूर्ण आरोहण दिवस’ मनाउने गरिन्छ । सोही दिनको सम्झनामा ‘अन्नपूर्ण म्याराथन’ आयोजना गरिएको अन्नपूर्ण म्याराथन प्रतियोगिताका संयोजक ललित गुरुङले बताए ।

तपाईको प्रतिक्रिया