मनसुनमा १८ लाख प्रभावित हुने

राष्ट्रिय समाचार समिति (रासस) २०८१ जेठ २३ गते १०:३५

काठमाडौं ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालिको मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

Advertisement

प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरण अनुसार बढी पानी पर्ने अनुमान गरिएको यसपालिको मनसुनमा १८ लाख १ हजारभन्दा बढी मानिस प्रभावित हुने जनाइएको छ ।


प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले ४ लाख १२ हजार घरघुरीका १८ लाख १ हजारभन्दा बढी मानिस कुनै न कुनै रुपमा प्रभावित हुने अनुमान गरिएको जानकारी दिए । ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने र १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अवस्था आउने आकलन गरिएको छ ।

Advertisement


गत वर्ष १२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको थियो । त्यसको अघिल्लो वर्ष २० लाख बढी प्रभावित हुने अनुमान गरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागले यसपालि सरदरभन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहने आकलन सार्वजनिक गरिसकेको छ । सोही अनुसार यसपाली बढी जोखिम हुने भएकाले सबै निकायलाई आवश्यक तयारीमा लाग्न निर्देशन गरिसकिएको पनि उनले उल्लेख गरे ।

Advertisement


गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार भएकाले सोही अनुसार अघि बढेको डा भट्टराईले जानकारी दिए । मौसम विभागका अनुसार अब मनसुन भित्रिने समय नजिकिएको छ । सोही अनुसार गृहमन्त्रालयले आवश्यक तयारी गरिरहेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया