जातीय भेदभावका स्वरुप फेरिए

समाधान संवाददाता २०८१ जेठ २३ गते १०:५७

पोखरा ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा दलित महिला संघ (फेडो) कास्कीले जातीय छुवाछुत विरुद्ध सचेतनामूलक प्रभातफेरी ¥याली निकालेको छ ।

Advertisement


सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, पोखरा महानगरपालिका सामाजिक महाशाखा र जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा मानव अधिकारचोकदेखि निकालिएको ¥याली सिर्जनाचोकमा पुगी समापन भएको छ । समापन समारोहमा जातिय विभेद विरुद्धमा योगदान पु¥याएका १० अधिकारकर्मीलाई सम्मान तथा अन्तक्र्रिया गरिएको छ ।


सम्मानित हुनेमा जातीय विभेदका पीडितहरु कर्णबहादुर नेपाली, मोहन सुनार, माया नेपाली, सामाजिक अभियन्ताहरु विना सिलवाल, निर्मल दियाली सुनार, शम्भु खाती परियार, भीम विक क्षितिज, पत्रकार दीपक परियार, अधिवक्ता शिव सुनार र कुञ्जनी परियार छन् ।

Advertisement

गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री विन्दुकुमार थापाले दलित समुदायको उत्थान विकास र सशक्तिकरणको क्षेत्रमा बजेटलाई बढाउने प्रतिवद्धता व्यक्त गरे ।


उनले लक्षित समुदायको सवाललाई समेटर नीति कार्यक्रम र बजेट ल्याउने उल्लेख गरे । उनले सबै खालको विभेदको निर्मुल गर्नको लागि प्रदेश सरकार लागि परेको बताए । गण्डकी प्रदेश सभाका सामाजिक विकास तथा कृषि समितिका सभापति फणीन्द्र देवकोटाले नीति कानुन निर्माणमा सहयोग गर्ने बताए ।

Advertisement


‘सबै सरोकारवाला मिलेर दलित उत्थान र मुक्तिको लागि काम गर्नुपर्छ,’ उनले भने, ‘दलको झोले नेता बन्नु हँुदैन । राजनीति दलभन्दा माथि उठेर काम गर्नुपर्ने अवस्था छ ।’


प्रदेश सभाका सदस्य टीका बस्यालले विगतको भन्दा जातीय विभेद र छुवाछुतका स्वरुप फेरिएको जानकारी दिइन् । उनले पछिल्लो समयमा दलित समुदायले नयाँ तरिकाले विभेदको सामना गर्नु परेको उल्लेख गरिन् । प्रदेश सभाका अर्का सदस्य नन्दकला नेपालीले प्रदेक सभाका ६ जना सदस्यले दलितका सवाललाई साझा रुपमा उठाएको जानकारी दिइन् ।

आदर्शका कुराले जातीय विभेदको अन्त्य नहुने उल्लेख गर्दै उनले शहर बजारमा समेत विभेदका घटना कायम रहेको बताइन् ।
उनले व्यक्तिगत रुपमा गाली गलौज गर्न भन्दा पनि फराकिलो सांच र व्यवहारका साथ अगाडि बढे गन्तव्यमा पुग्न सकिने टिप्पणी गरिन् । अधिवक्ता शिव सुनारले नयाँ नयाँ हिसाबले गरिने छुवाछुत जीवितै भएको दाबी गरे ।


‘समानता समाजको निर्माण हाम्रो संकल्प, जातीय छुवाछुत प्रथाको पूर्ण अन्त्य’ भन्ने नाराका साथ भएको कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्यहरु सरस्वती गुरुङ, दिलमाया पौवी, अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष युवराज कुँवर, नेपाल बार एसोसियसनका केन्द्रीय सदस्य वीनिता नेपाली, ब्रम्हकुमारी अप्सरा, ताल मन्दिर व्यवस्थापन समिति अध्यक्ष परशुराम पहारी, दलित महिला संघ कास्कीका अध्यक्ष लक्ष्मी खाती परियार, कोषाध्यक्ष विना परियार, संघका परियोजना संयोजक ईश्वरी विक, सरस्वती रामदाम लगायतले गण्डकीमा दलित सशक्तीकरण विधेयक निर्माण गर्न माग गरे ।

तपाईको प्रतिक्रिया