सौन्दर्य कला पढेपछि तत्कालै काम

पोखरा ।
गैहपाटनस्थित पश्चिमाञ्चल माविले आयोजना गरेको एकहप्ते सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी निशुल्क तालिम मंगलबार सकिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले दिएको तालिममा ५० विद्यार्थी सहभागि थिए ।
प्राचार्य सरोज कोइरालाले सौन्दर्य कलाको क्षेत्रमा पछिल्लो समय भविश्य खोज्ने धेरै युवायुवती भएको जनाए । उनीहरुलाई सौन्दर्य कलाको क्षेत्रमा आकर्षण बढाउन विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत यो प्रशिक्षण आयोजना गरेको हो । पश्चिमाञ्चलले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ मा सौन्दर्य तथा केश कला विषयको पढाइ सुरु गर्दै छ ।
‘पछिल्लो समय सौन्दर्य कलाको क्षेत्रमा भविश्य खोज्ने युवायुवती पर्याप्त छन् । उनीहरुलाई यो क्षेत्रमा प्रवेशका लागि सहज बनाउन विद्यालयले निशुल्क तालिम दिएको हो,’ प्राचार्य कोइरालाले भने । सरकारले तोकेको पाठ्यक्रम अध्यापन गर्ने गरी यो वर्षदेखि आधिकारिक रुपमा अध्यापन थाल्ने तयारी छ ।
कार्यक्रममा सौन्दर्य कला संघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले विद्यार्थीलाई सहजै स्वरोजगार बनाउनका लागि सौन्दर्यकला क्षेत्र महत्वपूर्ण रहेको बताइन् । श्रेष्ठले भनिन, ‘केही वर्ष अघिसम्म सौन्दर्य कलासम्बन्धी पेशालाई समाजले खासै बुझेको थिएन । चासो पनि लिएको थिएन । तर, अहिले यो व्यावसायिक बनेको छ,’ श्रेष्ठले भनिन्, ‘म पनि निकै नै मेहनत र परिश्रमका साथ यो क्षेत्रमा प्रवेश गरेकी हुँ । अहिले यो क्षेत्र व्यावसायिक बनेको छ ।’
सौन्दर्य कलाको माग अहिले नेपालमा मात्र नभई विदेशमा झनै बढी रहेको उनले बताइन् । ‘अहिले तालिमको भरमा धेरै महिला र पुरुषले सौन्दर्य कलालाई व्यावसायिक बनाएका छन । तर, यसलाई शैक्षिक पाठयमक्रममार्फत समेट्दा अझै बढी प्रभावकारी हुनेछ,’ उनले भनिन् । अहिले अमेरिका, अस्ट्रेलियामा गएका धेरै महिला (पढ्न बाहेक)ले सौन्दर्य कलालाई मुख्य सीप बनाएको उनले सुनाइन् ।
पोखराकै आइरिस हेयर एन्ड ब्युटी केयर प्रालिसँगको सहकार्यमा विद्यालयले तालिम दिएको हो । पश्चिमाञ्चल माविमा सैद्धान्तिक र आइरिस हेयर एन्ड ब्युटी केयरमा प्रयोगात्मक अभ्यास हुनेछ । एक साता अवधिको यो तालिमले सुरुवाती चरणको सेल्फ मेकअपसम्बन्धी ज्ञान दिलाएको आइरिस हेयर एन्ड ब्युटी केयर प्रालिकी सञ्चालक सोनम गुरुङले सुनाइन् ।
विद्यालयका उच्च मावि संयोजक देव क्षेत्रीले एकसाताको तालिम पर्याप्त नभए पनि यही तालिमले विद्यार्थीलाई स्वरोजगार बन्न प्रेरणा दिने बताए । विद्यालयका अध्यक्ष प्राडा रामनाथ ओझाले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ (प्लस टु) मा सौन्दर्य तथा केश कला विषयको पढाइ सुरु गर्न थालेको जानकारी दिए ।
‘अध्यापन सकेको भोलिपल्ट कमाउन सक्ने गरी सक्षम बनाउने प्रयास विद्यालयले गर्ने छ,’ ओझाले भने, ‘बेरोजगार बस्नुपर्ने अवस्था पक्कै आउँदैन । सीप र जाँगर एक कमाउन नसक्ने कोही हुँदैन ।’ सह प्राचार्य मिनुु श्रेष्ठ कुँवरले एसइईपछि अब कता जाने भनेर सोच्ने बेला भएका विद्यार्थीलाई भविश्य हेरेर अघि बढ्न सुझाव दिइन् ।
विस २०४९ मा स्थापना भएको पश्चिमाञ्चल माध्यमिक विद्यालयमा नर्सरीदेखि १२ कक्षासम्मका कक्षा सञ्चालन भइरहेका छन् । हालसम्म कक्षा ११ र १२ मा व्यवस्थापन, होटल व्यवस्थापन, विज्ञान, मानविकी र कानुन विषयको अध्यापन हुने गरेको छ ।









डुंगा दौड जित्नेलाई खसी
समानुपातिकमा २२ दलको मात्रै पूर्ण उम्मेदवारी
सम्पादकीय—नयाँ शक्तिको ध्रुवीकरण आशा कि अराजकता ?
यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया