पोखरा स्वास्थ्य विज्ञानमा एमबिबिएस पढाइ हुने

५० जनाले एमबिबिएस पढ्न पाउने

समाधान संवाददाता २०८१ जेठ २४ गते ९:४२

पोखरा ।
गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सञ्चालन गरिरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब चिकित्साशास्त्रमा स्नातक तह (एमबिबिएस)को पढाइसमेत हुने भएको छ ।


प्रतिष्ठान संघ सरकार मातहतमा छ । संघ सरकारले आउँदो वर्षका लागि ल्याएको बजेटमा यो प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु गर्न बजेटको व्यवस्थासमेत गरिएको घोषणा अर्थमन्त्री वर्षमान पुनले गरेका थिए ।

सरकारको नीति तथा कार्यक्रममा समेत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्साशास्त्र संकायको स्नातक तह (एमबिबिएस) को कक्षा सुरु गरिने उल्लेख थियो ।

Advertisement


एमबिबिएस पठनपाठनका लागि तयारी स्वरुप औपचारिक प्रक्रिया पूरा गर्नेक्रममा प्रतिष्ठानको सिनेटको बैठक बुधबार पोखरामा बसेको छ । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बैठकमा सहभागी भए ।

उक्त बैठकले एमबिबिएस पढाइका लागि आवश्यक प्रक्रिया स्वरुप संगठनात्मक ढाँचा (ओएनएम) पारित गरेको छ । अब प्रतिष्ठानमा एमबिबिएस पढाउन आवश्यक प्राध्यापक भर्ना गर्न पनि सिनेट बैठकले बाटो खुला गरेको छ ।

Advertisement


प्रतिष्ठानका निर्देशक डा भरत खत्रीले सकेसम्म यसै वर्षदेखि अर्थात आउँदो भदौबाटै एमबिबिएसको पढाइ सुरु गर्ने तयारीमा जुटेको जानकारी दिए । एमबिबिएस पढाइ सञ्चालन गर्न आवश्यक विद्यार्थी भर्नाका लागि भने चिकित्सा शिक्षा आयोगले कोटा निर्धारण गर्छ । प्रवेश परीक्षा पनि उसैले लिन्छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोगसँग पूरा गर्नुपर्ने प्रक्रिया पनि छिटै पूरा गर्ने डा खत्रीले जानकारी दिए । ‘पूर्वाधार निर्माण लगभग पूरा हुँदैछ,’ उनले भने, ‘सकेसम्म यसै वर्षदेखि पढाइ सुरु गर्ने तयारी गरिहेका छौं ।’


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो वर्ष ५० जना विद्यार्थी एमबिबिएसका लागि लिने तयारी छ । प्रतिष्ठानमा यसअघि नै स्नातकोत्तर तह (एमडी)को पढाइ चलिरहेको छ । सुरुको वर्ष १७ जना विद्यार्थी लिएर प्रतिष्ठानले एमडी पढाउन थालेको हो ।


२०१३ सालमा सोल्जर बोर्ड अस्पतालका नाममा स्थापित गण्डकी अञ्चल अस्पताल पश्चिमाञ्चल क्षेत्रीय हुँदै २०७२ देखि प्रतिष्ठान बनेको थियो । २०६९ मा ५ सय शैयाको स्तरोन्नति भएको अस्पतालमा स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अधययन र अनुसन्धानको व्यवस्था गरि दक्ष जनशक्ति उत्पादन गर्न तथा प्रतिष्ठान स्थापना भएको थियो ।


प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गरेका छन् ।


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षदेखि एमबिबिएस तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउन निर्देशन दिए ।

‘चिकित्सा शिक्षाको स्नातकोत्तर तह सञ्चालनमा आएपछि यस प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने सरकारको अपेक्षा छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आगामी आर्थिक वर्षदेखि एम.बि.बि.एस. तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउनेछ ।’


भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा र समग्र देशकै लागि दक्ष चिकित्सक उत्पादनमा यस प्रतिष्ठानले खेलेको भूमिका सबै प्रतिष्ठानका लागिसमेत अनुकरणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिष्ठानको विकास, विस्तार र उनन्नयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनले अर्थतन्त्रमा विद्यमान दवाव र स्रोत विनियोजनमा देखिएको संकुचनका बीच पनि सरकारले प्रतिष्ठानको विकास र सेवा विस्तारमा प्राथमिकता दिएको उल्लेख गरे ।


प्रतिष्ठान चिकित्सा शिक्षामा समग्र देशकै लागिसमेत उदाहरणीय शैक्षिक संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण सरोकारवाला निकाय र पोखरेली जनसमुदायमा बधाइ ज्ञापन गर्दै प्राप्त अवसरको पर्याप्त सदुपयोगका गर्न सुझाव दिए ।


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विगतमा समेत सबै राजनीतिक दल, सामाजिक संघसंस्था, स्वास्थ्य क्षेत्रसँग सरोकार राख्ने विज्ञहरूलगायत सबैसँग सहकार्य गर्दै अगाडि बढेको स्मरण गर्दै प्रधानमन्त्रीले सहकार्यका आधारमा पोखरेलीको गौरवको यस परियोजनालाई पूर्णत सफल पार्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया