मणिपाल तोडफोड प्रकरणमा २ जना दोषी, १७ लाई सफाइ
सुशील कार्की र विनय गुरुङ दोषी ठहर हुँदा पशुपति भट्टराई, गौरव बराल लगायत १७ जनाले भने सफाइ पाएका छन्

पोखरा ।
मणिपाल शिक्षण अस्पताल तोडफोड र डाक्टर कुटपिट गर्ने दुई जनालाई जिल्ला अदालत कास्कीले दोषी ठहर गरेको छ । न्यायाधीश नवराज दाहालको इजलासले मणिपाल शिक्षण अस्पताल तोडफोड र डाक्टर कुटपिट घटनाका १९ आरोपितमध्ये २ जनालाई बुधबार दोषी ठहर गरेको हो । यसअघि पुर्पक्षका लागि कारागार पुगेका छावा भन्ने सुशील कार्की र विनय गुरुङलाई अदालतले दोषी ठहर गरेको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।
गुरुङलाई अदालतले ६ महिना कैद र १० हजार जरिवाना फैसला गरेका छ । छावा भनिने सुशील कार्कीलाई अदालतले ३ महिना कैद र ५ हजार जरिवाना गरेको सूचना अधिकारी अधिकारीले जानकारी दिए । अदालतले दुवै जनालाई ०८० असार २६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
अदालतले आरोपित १९ मध्ये १७ जनालाई सफाइ दिएको छ । पशुपति भट्टराई, गौरव बराल, सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनाश गुरूङ, अरुण गुरुङ, नीतेश गुरुङ, विवेक गुरुङ, मनीष थापा र प्रदीप गुरुङ लगायतले सफाइ पाएका हुन् । यसअघि पनि २०८० असोज २६ गते जिल्ला अदालत कास्कीले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
तोकिएको कारागार सजायभन्दा धेरै जेलमा थुना बसिसकेको हुँदा विनय र सुशील पनि रिहा भए
पोखरा ८ का गौरव बराल, पोखरा २ का गिरे हिपप भनिने गिरबहादुर पुन, पोखरा १५ का प्रेमलाल पुन, पोखरा ६ का सागर परियार, पोखरा ९ का हम्पे भनिने नवीन लामा, पोखरा ३ का सुजन अधिकारी, पोखरा १० का चुमन गुरुङ, पोखरा ११ का पागल अर्थात् अशिष भनिने कार्लोस गुरुङ, पोखरा २३ का उत्तम भण्डारी हुन् र पशुपति भट्टराईले सफाइ पाएका छन् ।
प्रहरीले उनीहरुलाई पक्राउ नगरे पनि जिल्ला अदालतमा उनीहरु आफै उपस्थित भएपछि तारेखमा छुटेका थिए । भट्टराईलाई जिल्ला अदालतले १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
०८० भदौ ८ गते लमजुङकी ५७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले डाक्टर अनिल शाहमाथि कुटपिट र अस्पतालमा तोडफोड गरेका थिए । उक्त घटनामा संलग्न भएको भन्दै कास्की प्रहरीले १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तथापि ९ जनालाई मात्र नियन्त्रण लिएर अनुसन्धान गरेको थियो । अन्य १० जना जिल्ला अदालत कास्कीमा आफैं उपस्थित भएका हुन् ।
प्रहरीले घटनाबारे अनुसन्धान गरेर उनीहरु विरुद्ध स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसुरमा मुद्दा दायर गरेको थियो । प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलमार्फत जिल्ला अदालतमा ०८० असोज २६ गते पेश गरेको थियो ।
प्रहरीले स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनविरुद्धको कसुर गर्नेलाई २ वर्षदेखि ५ वर्षसम्म कैद र २ लाखदेखि ५ लाखसम्म जरिवाना माग दाबी गरिएको थियो । अदालतको फैसला पछि दोषी ठहर भएका विनय गुरुङ र छावा भनिने सुशील कार्की बुधबार जेलमुक्त भएका छन् । दुवैले भुक्तानी गरेको कैद समयभन्दा अदालतबाट भएको फैसला कम भएपछि जेल मुक्त गराइएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया