गण्डकी विश्वविद्यालयले पहिल्याएको नयाँ दिशा

डा. कैलाश तिमिल्सिना २०८१ जेठ २५ गते १४:५३

अहिले विश्वविद्यालयको स्थापना आवश्यकता कि लहड ? भन्ने सन्दर्भमा अनेक तर्कवितर्क यत्रतत्र भेटिन्छन् । स्थापनाका पक्षधरहरु सम्पूर्ण रुपमा यसको वकालत गर्छन् भने विपक्षमा रहेकाहरु हात धोएर विरुद्धमा उत्रन्छन् । विषय स्थापना गर्ने कि नगर्ने भन्ने भन्दा पनि स्थापित विश्वविद्यालय कसरी सञ्चालित छन् र अब स्थापना हुनुको उद्देश्य के हो भन्ने विषय महत्वपूर्ण हो । हाम्रोमा विषयको गम्भीरता र गहिराइभन्दा व्यक्तिगत र राजनीतिक प्रतिशोधको आधारमा समर्थन र विरोध गर्ने प्रवृत्ति ज्यादा छ । आज विश्वविद्यालय आवश्यक छैन भन्ने प्राज्ञिक व्यक्तित्व भोलि कुनै अमूक नामको विश्वविद्यालय खोल्नुपर्छ भन्दै पूर्वाधार विकास समितिको नै नेतृत्व गरेको टिठलाग्दो अवस्थाको साक्षी हुन हामी बाध्य छौं ।

Advertisement


नेपालमा पुराना विश्वविद्यालयको सान्दर्भिकता सकियो भन्ने मत राख्नेहरुले ख्याल गर्नुपर्छ कि आजको नागरिक चेतना र भौतिक विकासको कारण यिनै विश्वविद्यालय हुन् । होला अपेक्षाकृत ढंगले जुन गति र मतिका साथ विश्वविद्यालय अगाडि बढ्नुपर्ने हो त्यो हुन सकेन । तर विश्वविद्यालयहरु सुधार हुनै सक्दैनन् भन्ने मतमा सहमत हुन सकिन्न ।


नयाँ विश्वविद्यालय किन र केका लागि भन्नेले बुझ्नुपर्छ कि विसं २००७ सम्मको २ प्रतिशतको साक्षरता दर अहिले करिब ७७ प्रतिशत पुगेको छ । सामाजिक समानता र समता, नागरिक सन्तुष्टिको बढोत्तरी, अवसरको समान पहुँच र सामाजिक सहअस्तित्व जस्ता विषयहरुमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन् । जसको मूल कारण शिक्षाका केन्द्र विश्वविद्यालय नै हुन् । युनिसेफ नेपालका अनुसार नेपालमा अझै पनि ५–१२ वर्ष उमेर समूहका ७ लाख ७० हजार बालबालिकाहरु विद्यालय जानबाट वञ्चित छन् ।

Advertisement

आधारभूत तह (१–५) ग्रेडमा भर्ना भएका विद्यार्थीहरूको संख्या आधारभूत तह (६–८) ग्रेडमा भर्ना भएका संख्याभन्दा झण्डै दोब्बर छ । यो संख्या माध्यमिक तह (९–१०) को लागि झण्डै ४५ प्रतिशत र माध्यमिक तह (११–१२) को लागि झण्डै ५० प्रतिशतले घट्छ । यसैगरी विदेशमा शिक्षा लिने नेपाली विद्यार्थीहरूको संख्या बढ्दै गएको छ । कुल विद्यार्थी जनसंख्याको २.१६ प्रतिशतभन्दा बढी उच्च शिक्षा हासिल गर्न भनी विभिन्न देशका विश्वविद्यालयहरुमा गएका छन् । विद्यार्थीहरुको उच्च रोजाइमा अस्ट्रेलिया, जापान, भारत र चीन पर्छन् भने अस्ट्रेलियामा मात्र ५७.४२ प्रतिशत विद्यार्थी गएका छन् ।


जनसंख्याको आधारमा विश्वका २ ठूला राष्ट्रहरू भारत र चीनको नेपाल छ । नेपालमा विश्वविद्यालय सञ्चालन गर्ने कुरा अवसरको रुपमा लिन सकिन्छ । अनुकूल हावापानी, धार्मिक सहिष्णुता र मनोरम प्राकृतिक सौन्दर्यका साथ नेपालले छिमेकी देश र बाहिरका सयौं विद्यार्थीहरूलाई आकर्षित गर्ने क्षमता राख्छ । नेपालले आफ्ना विश्वविद्यालयहरूको गुणस्तर र क्षमता अभिवृद्धि गरेर, राजनीतिक वातावरणबाट शैक्षिक क्षेत्रलाई अलग राखी यस क्षेत्रमा उच्च शिक्षाका लागि आकर्षक गन्तव्यको रूपमा आफूलाई स्थापित गर्नुको विकल्प छैन ।


विश्वविद्यालयहरू उच्च स्तरको जनशक्ति निर्माण गर्ने प्राज्ञिक थलो हुन् । विभिन्न विषय विशेषज्ञ वा वैज्ञानिक उत्पादन गर्ने अनुसन्धान केन्द्र पनि हुन् । व्यक्ति एवं समाजको मानवीय व्यवहारमा परिवर्तन ल्याउने, सोचाइको दायरालाई फराकिलो बनाउने स्रोत हुन् । त्यसैले विश्वविद्यालयको सामाजिक दायित्व गहन हुन्छ । यस्तो प्राज्ञिक एवं संवेदनशील क्षेत्रमा राज्यले जिम्मेवार भएर दूरदृष्टिकोणका साथ काम गर्नुपर्छ । त्यसो हुन सकेको छैन । विश्वविद्यालयहरू स्वायत्त बन्न सकेका छैनन् । विश्वविद्यालय शिक्षामा अनेक प्रकारका कमजोरी देखिएका छन् । विश्वविद्यालय राजनीतिक हस्तक्षेपले तहसनहस भएका छन् । शैक्षिक अनुशासन खल्बलिएको छ ।

गण्डकी विविले छोटो समयमा नै विकास गरेको विश्वस्तरीय मौलिक शैक्षिक प्रणाली, शैक्षिक गुणस्तर पाठ्यक्रमको ढाँचा, सक्षमता, विश्वव्यापी साझेदारी, जीवनोपयोगी अनुसन्धान जस्ता क्षेत्रमा प्राप्त उपलब्धि उदाहरणीय छन्


सबै विश्वविद्यालयले एकै घानमा हाल्न मिल्दैन । विश्वविद्यालय शिक्षामा हालैका अन्तर्राष्ट्रिय प्रवृत्तिहरूलाई ध्यानमा राख्दै विश्वस्तरीय शिक्षा प्रदान गर्न २०७६ मा स्थापित गण्डकी विश्वविद्यालयले बेग्लै बाटो समातेको छ । नेपालको संविधानले उच्च शिक्षा प्रदेश सरकार माताहतमा राखेसँगै गण्डकी प्रदेश सरकारले विश्वविद्यालय स्थापना गरेको हो ।

समृद्ध राष्ट्र निर्माण गर्न जीवनउपयोगी मूल्य, मान्यतामा आधारित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्षम र नेतृत्वदायी जनशक्ति तयार गर्न गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित गण्डकी विश्वविद्यालय ऐन २०७६ ल्याइएको थियो । त्यसै अनुरुप गण्डकी विश्वविद्यालय स्थापना गरी सञ्ञ्चालनमा छ । नेपालको संविधानले नै प्रदेशलाई दिएको एउटा अधिकार र कर्तव्य भनेको विश्वविद्यालय पनि हो ।


गण्डकी विश्वविद्यालय न्यासिक परिषद् (बोर्ड अफ ट्रस्टी) को अवधारणामा सञ्चालित नेपालको पहिलो विश्वविद्यालय हो । विश्वविद्यालय सञ्चालनको क्रममा आवश्यक नीति निर्माण गर्ने कार्य मूलतः न्यासिक परिषद्को हो । सञ्चालनको विषयमा नयाँ नीति बनाउने वा विद्यमान नीतिमा पुनरावलोकन गरी परिमार्जन गर्ने अधिकार परिषद्मा हुन्छ । विश्वका नाम चलेका विश्वविद्यालयहरु यसै मान्यतामा आधारित भएपनि नेपालको सन्दर्भमा भने यो नौलो अभ्यास हो । छोटो समयमा नै उदाहरणीय कार्य गर्न सफल भएकाले स्थापनाको क्रममा रहेका विश्वविद्यालयहरुले यसैको अनुसरण गर्न खोजिरहेको देखिन्छ ।


यो विश्वविद्यालयमा न्यासिक परिषदले नै प्राज्ञिक व्यक्तित्वलाई नै पूर्णकालीन कुलपतिमा सिफारिस गरी नियुक्ति गर्ने हुँदा विश्वविद्यालय पूर्ण रुपमा राजनीतिक हस्तक्षेप मुक्त हुन्छ । यस कुरामा सहमत हुने गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ र सिङगो प्रदेश सरकार धन्यवादका पात्र हुन् । हालकी शिक्षामन्त्री सुमना श्रेष्ठले पनि विश्वविद्यालयहरुमा प्राज्ञिक व्यक्ति कुलपति हुनुपर्छ भन्ने रायले यो मोडालिटिको महत्वलाई बढावा दिएको पाइन्छ ।


पाठ्यक्रम समग्र सिकाइ प्रक्रियाको मुटु हो । गण्डकी विश्वविद्यालय औपचारिक रुपमा स्थापना भएको छोटो अवधिमा के कस्ता शैक्षिक कार्यक्रमहरु ल्याउन उपयुक्त हो भन्ने, सन्दर्भमा एकेडेमिक निड एसिसमेन्ट र १० वर्षे रणनीतिक योजनाले देखाएको बाटो अवलम्बन गरी अघि बढिरहेको छ । यस विश्वविद्यालयले पठनपाठन, अनुसन्धान, आविष्कार र अन्वेषणको क्षेत्रलाई विशेष महत्व दिएर विभिन्न कार्यक्रमहरु अगाडि बढाइरहेको छ ।


विश्वविद्यालयले विभिन्न विषयका पाठ्यक्रम निर्माण सम्पन्न हुनुका साथै अपेक्षाकृत शैक्षिक तथा भौतिक उपलब्धि हासिल गर्न सफल भएको छ । पाठ्यक्रमको प्रयोग स्वयं पाठ्यक्रमको विकासमा, सिकाइ सहजीकरण प्रक्रियामा, विद्यार्थीको मूल्यांकनमा गर्न सकिन्छ । पाठ्यक्रमकै आधारमा विद्यमान चुनौतीको आँकलन गर्दै विश्वविद्यालयले मौलिक पठनपाठन, अनुसन्धान, आविष्कार र अन्वेषणको क्षेत्रलाई विशेष महत्व दिएर विभिन्न प्राज्ञिक तथा शैक्षिक कार्यक्रमहरु अगाडि बढाइरहेको छ । विश्वविद्यालयको पाठ्यक्रममा शिक्षाको राष्ट्रिय उद्देश्य, पठनपाठनको अवधि, पाठ्यक्रमको ढाँचा, सक्षमता, कार्यान्वयन योजना, सिकाइ उपलब्धि, सहजीकरण प्रक्रिया, पाठ्यभारको विभाजन, प्रयोगात्मक र सैद्धान्तिक मूल्यांकन प्रक्रियासमेत भएकाले पाठ्यक्रमलाई एक साध्यको रूपमा लिइएको छ ।


सिकाइ सहजीकरण र शैक्षिक तथा शैक्षणिक उपलब्धि सुनिश्चितका लागि विश्वविद्यालयका सूचना प्रविधि, खेलकुद व्यवस्थापन, बिबिए, कानुन र बिफर्मा पाठ्यक्रम कार्यान्वयनमा छन् । एमबिबिएस, बिडिएस लगायत १३ भन्दा धेरै विषयको पाठ्यक्रम बनाइसकिएको छ ।


विश्वविद्यालयमा हाल विभिन्न ५२ जिल्लाका करिब ५०० विद्यार्थी छन् । विगतका शैक्षिक तथा प्राज्ञिक अभ्यास र गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल स्थापना गर्ने विषयलाई निरन्तरता दिँदै गुणस्तरीय शिक्षाको विकास एवं प्रवर्द्धन गर्ने नीति विश्वविद्यालयले लिएको छ । स्रोत व्यवस्थापन हुन सके कृत्रिम बौद्धिकता र इन्जिनियरिङका कक्षाहरु यस वर्ष थप गर्ने उद्देश्यसमेत राखेको छ ।


भौतिक निर्माण र विकास, शिक्षण सिकाइ प्रक्रियाको अर्को महत्वपूर्ण पाटो हो । नेपाल सरकारबाट ५२६ रोपनी जग्गा प्राप्त भई विश्वविद्यालयको आफ्नै भवन निर्माण तथा सञ्चालनमा आउनुका साथै थप ८ करोडको सम्झौतामा नयाँ सुविधासम्पन्न भवन निर्माणाधिन अवस्थामा रहेकोमा आव २०८०÷०८१ मा सम्पन्न हुने लक्ष्य छ । थप २४८ रोपनी जमिन लिने प्रयासमा छ ।


विश्वविद्यालयले विश्वव्यापी साझेदारीलाई बढावा दिन विश्वभरका २८ प्रतिष्ठित विश्वविद्यालय र संस्थाहरूसँग सफलतापूर्वक समझदारी सम्झौता (ःयग्) गरेको छ । विभिन्न १२ देशका सम्मानित संस्थाहरूसँग सहकार्य गरी थप परियोजनाहरू र शैक्षिक कार्यक्रमहरूको विकास गर्ने प्रतिवद्धता विश्वविद्यालयले गरेको छ । नाष्ट विशिष्टीकृत अनुसन्धान केन्द्र खुलिसकेको छ । छोटो समयमा नै गण्डकी विश्वविद्यालय एक प्रमुख अन्तर्राष्ट्रिय शैक्षिक र अनुसन्धान केन्द्रको रूपमा स्थापित भएको छ ।


अनुसन्धान शैक्षिक उत्कृष्टताको अभिन्न अंग हो । अनुसन्धान, अन्वेषण तथा आविष्कारका गतिविधिहरु प्रवद्र्धन गर्दै शिक्षण, अनुसन्धान र समुदायमा आधारित जीवनोपयोगी अनुसन्धान कार्य गर्ने उद्देश्यले गण्डकी विश्वविद्यालय अनुसन्धान केन्द्र, अन्वेषण तथा आविष्कार केन्द्रको स्थापना भएको हो । केन्द्रमा हालसम्म मुलुकका आवश्यकतामा लक्षित प्रविधियुक्त ८ वटा मेसिनका प्रोटोटाइपहरु तथा केही बहुकार्यात्मक औजारहरु उत्पादन भएका छन्, जसलाई प्रयोग गरेर कृषि, स्वास्थ्य, सूचना प्रविधिजस्ता विषयसँग सम्वन्धित आधुनिक उपकरण तथा औजारहरु विकास गर्न सकिन्छ । अन्य मेसिन पनि निर्माणको प्रक्रियामा छन् ।


गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन–२०२४ विश्वविद्यालयले सफलतापूर्वक आयोजना गरेको थियो । सम्मेलनको मूल उद्देश्य विश्वभरका विद्वान, अनुसन्धानकर्ता, प्राज्ञ, व्यवसायी र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउने र विचार आदानप्रदान गर्ने थियो । सम्मेलनले शिक्षाविद् र चिकित्सकहरूलाई उनीहरूको अनुसन्धान निष्कर्षहरू साझा गर्न, उदीयमान प्रवृत्तिहरू अन्वेषण गर्न, आ–आफ्नो क्षेत्रमा चुनौती र अवसरहरू छलफल गर्न प्लेटफर्म प्रदान गर्‍यो । १२ देशहरूबाट सहभागीहरूले प्रस्तुतिकरण गरेका थिए । विश्वविद्यालयले विद्यार्थी भर्नाका लागि लिइएको प्रवेश परीक्षा, एईई/एसएलसीको प्राप्तांकको आधारमा प्रदेशभित्रका विद्यार्थीलाई विशेष आरक्षणका साथ पर्याप्त छात्रवृत्तिको व्यवस्था गरेको छ ।


संगठनको उद्देश्य प्राप्तिको सर्वोपरी आधारका रूपमा कर्मचारीको आर्थिक, सामाजिक, बौद्धिक र प्रशासकीय व्यक्तित्वको विकास गर्ने र संगठन प्रति समर्पित गराउने माध्यम र प्रक्रिया कर्मचारी व्यवस्थापन हो । गण्डकी विश्वविद्यालय ऐन, २०७६ ले व्यवस्था गरेको जनशक्ति व्यवस्थापन समितिले स्वीकृत दरबन्दीका आधारमा योग्यतामा आधारित परीक्षाहरूका माध्यमबाट आवश्यक पर्ने शिक्षक र कर्मचारीको छनोट गर्दै आएको छ ।


विश्वविद्यालयका लक्ष्य र उद्देश्य प्राप्त गर्न उपयुक्त विधि प्रक्रिया मार्फत मानवीय, भौतिक तथा आर्थिक स्रोतहरूको परिचालनका लागि निश्चित संगठन आवश्यक हुन्छ । यसरी नीति तथा कार्यक्रमहरूको कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह तथा संस्थाका उद्देश्य प्राप्तिका लागि निश्चित समय, स्थानमा सम्पर्क विन्दु स्थापित गर्न आवश्यक हुने भई कार्यालय र त्यस्तो कार्यालयका आर्थिक, भौतिक र मानवीय स्रोत उचित संयोजन गर्न कार्यालय व्यवस्थापन महत्वपूर्ण छ । जसका लागि विश्वविद्यालयमा केन्द्रीय कार्यालयबाट नै महत्वपूर्ण प्रशासनिक, अनुसन्धान र आविष्कार केन्द्रका कार्य गरिनुका साथै संयोजकको व्यवस्थापन मार्फत् सम्बन्धित कार्यक्रममा समन्वयात्मक तवरले विकेन्द्रित कार्य सम्पन्न गर्न सक्ने वातावरण तयार भएको छ ।


पछिल्लो समय गुणस्तरीय शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको संख्या बर्सेनि बढ्दो छ । उच्च शिक्षा पछि विद्यार्थीको सुरक्षित भविष्य बनाउन सकिरहेका छैनौँ भन्ने गुनासो सुनिन्छ । तर विश्वकै स्थापित विश्वविद्यालयमा समेत कार्यान्वयन हुन नसकेको वार्षिक कार्यतालिका अक्षरस पालना गरी विश्वविद्यालयका शैक्षिक कार्यक्रम र मूल्यांकन प्रणालीलाई अनुमानयोग्य वनाउने कार्यमा गण्डकी विश्वविद्यालय सफल छ ।

विश्वविद्यालयमा कहिले पठनपाठन सुरु हुन्छ, कहिले आन्तरिक परीक्षा सञ्चालन हुन्छ, कहिले अन्तिम बाह्य परीक्षा सम्पन्न हुन्छ र कहिले परीक्षाफल प्रकाशन हुन्छ भन्ने विषयमा शैक्षिक क्यालेन्डर प्रकाशन गर्दा नै विद्यार्थीलाई जानकारी प्राप्त हुन्छ । शैक्षिक गुणस्तरको मामिलामा विश्वविद्यालयले कुनै सम्झौता गर्दैन । त्यसैले प्रतिभा पलायनको समस्या समाधानका लागिसमेत गण्डकी विश्वविद्यालय महत्वपूर्ण आधार वन्न सक्छ, तर यसका असल अभ्यासको वारेमा प्रचार भने अनिवार्य छ ।


नियमित अध्ययन र अनुसन्धानका साथै समसामयिक समस्याको पहिचान र तिनको समाधानका उपाय दिने ज्ञानका स्रोत विश्वविद्यालयहरू हुन् । घरेलु मदिराको सेवनबाट विभिन्न ठाँउमा कैयौँ मानिसहरुले ज्यान गुमाएको विषयलाइ गम्भीरताका साथ मनन गर्दै विश्वविद्यालयले विद्यमान समस्याको सही पहिचान गरी प्रभावकारी समाधानका लागि कोदोको रक्सीको ब्रान्डिङका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाई त्यसमा महत्वपूर्ण सफलता समेत प्राप्त गरेको छ । विश्वविद्यालयले रैथाने प्रविधिको जगेर्नामा समेत प्रभावकारी कदम चालेकाले सँस्कृतिलाई माया गर्ने आम विद्यार्थीको विश्वविद्यालय प्रतिको आकर्षण थपिने देखिन्छ ।


तर सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गरी निर्धारित लक्ष्य हासिल गर्नु, कार्यप्रक्रियाका कारण जग्गा प्राप्तिमा ढिलाइ, सञ्चालनमा सम्वद्द पक्षसँग समन्वय गर्नु, विभिन्न कार्यदलहरु निर्माण गरी कार्यविधि र निर्देशिका तर्जुमा तथा कार्यान्वयन गर्नु, विषयगत र प्रशासनिक आवश्यकताका आधारमा कुशलतापूर्वक मानवस्रोत व्यवस्थापन र परिचालन गरी स्थायित्व र उन्नयन सम्भव तुल्याउनु, विश्वविद्यालयहरूमा नेपालको मौलिक पहिचान दिने विषय इतिहास, भूगोल र संस्कृतिलगायत विषय ओझेलमा परेका विषयमा अझ बढी अध्ययन र अनुसन्धान गरी विषयहरूको उत्थान गर्नु, विद्यमान भौतिक संरचनामात्र नभई शिक्षक तथा कर्मचारीमा सूचना प्रविधि ज्ञानयुक्त बनाउनुका साथै अध्ययन अध्यापनमा समय अनुकूल गुणस्तर वृद्धि गर्नु, समय अनुकूलका पाठ्य सामग्री तथा शिक्षण तथा सिकाइ प्रक्रिया र उत्पन्न समस्या समाधानार्थ थप गहन अध्ययन–अनुसन्धान आवश्यक छ ।


समग्रमा, विश्वविद्यालयलाई अब्बल बनाउन सिद्घान्तका ठेली कण्ठ गरेर डिग्री हासिल गर्ने तर आफूले केही गर्न नसक्ने शैक्षिक जनशक्ति आजको आवश्यकता होइन । घोकन्ते विद्यामा सिर्जना हुँदैन । मौलिकताले ठाउँ पाउँदैन । नयाँ चिन्तनको विकास हुँदैन । विश्वविद्यायमा नयाँ संस्कार, नयाँ चिन्तन, नयाँ विश्वास, नयाँ आविष्कार र सिर्जनाका दृष्टिकोण अटाउनुपर्छ । यसका लागि विश्वविद्यालयलाई नीतिगत रूपमा स्वतन्त्र प्राज्ञिक थिंकटयांकको रुपमा व्यवस्थापन गर्नुपर्ने विषयमा विश्वविद्यालय पूर्ण सतर्कताका साथ अगाडि बढिरहेको छ ।


अहिले विश्वविद्यालयका समग्र क्रियाकलाप तथा यसले विकास गरेका भावी अवधारणाले यो विश्वविद्यालय मुलुककै एक नमुना विश्वविद्यालयको यात्रातर्फ वामे सर्दै गरेको आभास हुन्छ । जसका लागि विश्वविद्यालयका पदाधिकारी तथा शिक्षक कर्मचारी जुन स्प्रिटका साथ अगाडि बढिरहेका छन् सोही अनुरुप उनीहरुको सपनालाई वास्तविक आकार दिन भने प्रदेश सरकार र सरोकारवाला सबैको अपेक्षित तथा अग्रगामी सोचको जरुरी देखिन्छ ।


अन्त्यमा, विश्वविद्यालय व्यवस्थापन तथा सञ्चालन आफैमा जटिल र लामो प्रक्रिया हो । विश्वविद्यालय पूर्णतः सक्षम पनि नभएको समयमा कतिपय कमिकमजोरी रहन सक्छन्, निराधारका प्रश्नको समेत सामना गर्नुपर्ने हुन सक्छ ।


गण्डकी विश्वविद्यालयलले स्थापनाको छोटो समयमा नै विकास गरेको विश्वस्तरीय मौलिक शैक्षिक प्रणाली, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शैक्षिक योजनाहरु निर्माण तथा कार्यान्वयनको तत्परता, खेलकुद व्यवस्थापन कार्यक्रमको सञ्चालन, नीति निर्माणप्रतिको तदारुकता, विद्यमान शैक्षिक तथा प्राज्ञिक अभ्यास, भौतिक निर्माणमा रफ्तार, शिक्षाको राष्ट्रिय उद्देश्य अनुरुपको पठनपाठन, पाठ्यक्रमको ढाँचा, सक्षमता, कार्यान्वयन योजना, सिकाइ उपलब्धि, सहजीकरण प्रक्रिया, बढ्दो विश्वव्यापी साझेदारी, न्यायपूर्ण, निष्पक्ष, उत्तरदायी र सहयोगात्मक प्रशासन संयन्त्र, अनुसन्धान, अन्वेषण तथा आविष्कारका गतिविधिहरुमा आधारित जीवनोपयोगी अनुसन्धान कार्य, जनशक्तिको आर्थिक, सामाजिक, बौद्धिक र प्रशासकीय कुशलता र भौतिक तथा आर्थिक स्रोतहरूको प्रभावकारी परिचालन जस्ता महत्वपूर्ण क्षेत्रमा प्राप्त उपलब्धि साच्चीकै उदाहरणीय र प्रशंसनीय छन् । जुन लक्ष्य र उद्देश्यका साथ गण्डकी विश्वविद्यालय स्थापना भएको थियो त्यसको सान्दर्भिकता पुष्टि हुँदै गइरहेको छ । प्रदेश सरकार तथा सम्वद्ध सरोकारवालाबाट आवश्यक सहयोग भए गण्डकी विश्वविद्यालय मुलुकको अग्रणी प्राज्ञिक केन्द्र बन्न सक्छ ।

तिमिल्सिना गण्डकी विश्वविद्यालयका रजिस्ट्रार हुन् ।

तपाईको प्रतिक्रिया