होमस्टे प्रवर्धन गर्न गीत

समाधान संवाददाता २०८१ जेठ २५ गते १६:५०

जोमसोम ।
मुस्ताङमा बिहीबार थकाली सांस्कृतिक गीत सार्वजनिक गरिएको छ । पर्यटन प्रर्वद्धनमा टेवा पुर्‍याउने उद्देश्यले मुस्ताङको ऐतिहासिक, धार्मिक र सांस्कृतिक विविधता झल्काउने थकाली गीत सार्वजनिक गरिएको हो ।


घरपझोङ गाउँपालिका ५ स्थित ठिनी थकाली सामुदायिक होमस्टेका लागि तयार पारिएको थकाली गीतसहित अर्को एक नेपाली गीत पनि सोही समारोहमा सार्वजनिक गरियो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङको आयोजना तथा ठिनी थकाली होमस्टेको समन्वयमा भएको कार्यक्रममा घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले गीत सार्वजनिक गरे । नेपाली गीतको रचना वसन्त थापा र थकाली गीतको रचना निरज थकालीले गरेका हुन् ।

Advertisement


अध्यक्ष लालचनले पर्यटन विकासको गतिलाई थप उचाईमा लैजान यस प्रकारका धर्म, संस्कृति र मौलिकता झल्काउने गीतले ठूलो प्रभाव राख्ने बताए । उनले मुस्ताङको पृथक भूगोल र जैविक विविधतामात्रै नभई मुस्ताङ जिल्ला धर्म, संस्कृति रहनसहन, भेषाभूषा, सांस्कृतिक पहिचान र मौलिकताले समेत महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको औंल्याए ।


घरपझोङ गाउँपालिका उपाध्यक्ष जमुना थकालीले थकाली होमस्टेका लागि बनेको गीतले सांस्कृतिक धरोहरको संरक्षणमा योगदान पुग्ने जनाईन् । एक्याप मुस्ताङ प्रमुख प्रमोदराज रेग्मीले पर्यापर्यटनका लागि होमस्टेन प्रर्वद्धन गर्न एक्यापले मागका आधारमा आर्थिक तथा सृजनात्मक कार्यमा समेत सहकार्य गर्दै आएको बताए ।

Advertisement


थकाली सामुदायिक होमस्टे घरपझोङ ५ ठिनीको निर्माण तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङको आर्थिक सहयोगमा थकाली गीतसहितको २ गीत रेकर्ड गरिएको हो । घरपझोङ ५ ठिनीका स्थानीय युवा निरज थकालीको शब्द रचना रहेको थकाली गीतसहितका २ गीतमा अशोककुमार राईले संगीत भरेका छन् ।


थकाली सामुदायिक होमस्टे प्रर्वद्धन तथा विकासका लागि तयार गरिएको थकाली भाषाको गीतले तीन गाउँले थकालीले मनाउने पर्व फालो पर्वको विषयवस्तुलाई समेट्ने प्रयास गरिएको छ । ‘यै हो ल्हासो यै हो’ बोलको थकाली गीतमा गायक साजन राई र गायिका बिनुसा राईले स्वर दिएका छन् ।


बर्सेनि तीन गाउँले थकाली समुदायले भदौ र साउन महिनामा आउने फालो अर्थात (भदौ मेला) मा यो गीत गाएर नृत्य प्रस्तुत गर्ने प्रचलन छ । यो थकाली गीतले फालो पर्वको अन्तिम दिन ग्रहदशा फाल्ने र अनिष्ट नहोस् भनी कामना गर्ने थकाली मौलिक कथावस्तुलाई उजागर गर्न खोजिएको गीतका रचनाकार निरज थकालीले प्रष्ट्याए ।


अर्को पर्यटन प्रर्वद्धनसम्बन्धी गीत ‘मुस्ताङ जाने हो यानीमाया’मा रुपक चौधरी र गायिका बिनुसा राईले स्वर दिएका छन् । यी गीत अब थकाली होमस्टेमा आउने आगन्तुक पाहुनाका लागि नृत्य प्रयोजनमा प्रस्तुत हुने होमस्टे सचिव जुमा थकालीले जानकारी दिइन् ।


मुस्ताङ सदरमुकाम जोमसोम नजिकै रहेको ठिनी गाउँ पर्यटकीय दृष्टिकोणले ओझेलमा छ । जनमुक्ति युवा क्लब्ले त्यहाँ होमस्टे सञ्चालनका लागि महिलालाई संगठित गर्दै लगेपछि त्यहाँ १० घरधुरीले होमस्टे चलाइरहेका छन् ।

तपाईको प्रतिक्रिया