कलासंस्कृति
मुस्ताङमा लोक भजन चुड्का (संस्कृति) संरक्षण प्रतिष्ठानको शाखा गठन ,अध्यक्षमा पौडेल
लोपोन्मुख बाद्यवाधक खैजडी र मुजुराको तालमा महादेव र पार्वतीको कथा र बुद्ध धर्म र त्यसको महत्वको बारेमा गीती लयमा भजन गायर समावेशी र सहभागीतामूलक संस्कृतिलाई जोड्ने प्रयास गरिएको थियो ।
जोमसोम— राष्ट्रिय लोक भजन चुड्का (संस्कृति) संरक्षण प्रतिष्ठान मुस्ताङ शाखाको अध्यक्षमा नारायणप्रसाद पौडेल चुनिएका छन् । शनिबार सम्पन्न प्रतिष्ठान शाखाको जिल्ला कार्यसमिति गठन तथा विस्तार कार्यक्रममा पौडेल सर्वसम्वत अध्यक्ष पदमा चुनिएका हुन् ।
प्रतिष्ठानका केन्द्रिय संस्थापक अध्यक्ष प्रजापती पराजुली,केन्द्रिय उपाध्यक्ष सावित्री त्रिपाटी,महासचिव खगेन्द्रराज पराजुली लगायत प्रतिष्ठानका केन्द्रिय तथा प्रादेशिक पदाधिकारी तथा सदस्यहरुको बृहत उपस्थितीमा शनिबार जोमसोमको गणेश मन्दिरमा प्रतिष्ठानको मुस्ताङ शाखा गठन गरिएको हो ।
राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठानको उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, महिला उपाध्यक्षमा सिताकुमारी शर्मा ढकाल, सचिवमा सूर्यमोहन दाहाल,कोषाध्यक्षमा रत्नकुमारी शर्मा पौडेल ,सहसचिवमा प्रेमप्रसाद पौडेल र सहकोषाध्यक्षमा कमलराज जोशी छन् ।
यस्तै सदस्यमा लक्ष्मी पौडेल,योगनाथ रिजाल,हुमनाथ तिवारी,धर्मदत्त पौडेल,रमेश पौडेल,शिवराम आचार्य,सारदा सुवेदी,बिनोद बराल,समबहादुर नेपाली, मेघबहादुर खरोजार मधु सापकोटा छन् ।
प्रतिष्ठानको सल्लाहाकारमा नागरिक समाजकातर्फबाट चन्द्रबहादुर थकाली, पत्रकारका तर्फबाट सुन्दरकुमार थकाली र देवी प्रसाद चालिसेलाई चयन गरिएको हो ।
यसअघि प्रतिष्ठानको मुस्ताङ जिल्ला कार्यसमिति चयनका लागि प्रतिष्ठानका गण्डकी प्रदेश संयोजक हरिकृष्ण घिमिरेको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । गठित निर्वाचन समितिले सर्वसम्वतीमा मुस्ताङ शाखालाई पूर्णता दिएको जनाईएको् छ ।
नेपालको पुरानो र मौलिक संस्कृतिको रुपमा रहेको लोपोन्मुख भजन चुड्काहरुको संरक्षण र प्रर्वद्धन गर्दै पछिल्लो पीढींलाई पुस्तान्तरण गर्ने उद्देश्यसहित २०७६ सालमा गठन भएको संस्थाले मुस्ताङसहित गण्डकी प्रदेशको ११ वटै जिल्लामा आफ्नो शाखा विस्तार गर्न सफल भएको हो ।
राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठानको केन्द्रिय र प्रादेशिक टोलीहरुको उपस्थितीमा भजन चुड्कासहित मुस्ताङको जोमसोम बजारमा प्रभातफेरी समेत गरेको थियो । जोमसोममा अवस्थित गणेश मन्दिरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुले भजन चुड्काको मौलिक संस्कृति प्रर्दशन गरिएको थियो । भजन र चुड्का नेपालको एक मौलिक पुरानो संस्कृति रहेको र यसले नेपालको सनातन धर्म,संस्कृति मौलिकता र कलालाई जिवन्त राख्ने बताईएको छ ।
कार्यक्रमको समुद्घाटन गर्दै प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रजापती पराजुलीले भजन चुड्का केवल हिन्दु सनातन धर्ममा सीमित रहेको भाष्यलाई अपवादको रुपमा लिनुपर्ने तर्क गरे । उनले भजन चुड्का नेपालकै राष्ट्रिय मौलिक संस्कृति र परम्परा भएकाले भजन चुड्का गाउँदा सबै धर्मसंस्कृति र सबैथोकको यतार्थ चित्रण गर्न सकिने भएकाले भजन चुड्काको महत्व र गाम्भियतालाई सबैले अंगिकार गर्नुपर्नमा जोड दिए ।
प्रतिष्ठानका संस्थापक पराजुलीले पछिल्लो एक दशक अघिदेखि संस्थाले धर्मसंस्कृति र परम्परालाई जोगाउन आवाज बुलन्द गर्दैआईरहेको बताए ।‘हामीले राष्ट्रकै पुरानो मौलिक संस्कृति ,परम्परा र सम्यताको जोगाउनुपर्छ भन्ने मान्यताका साथ अघि बढिरहेका छौं, संस्थापक अध्यक्ष पराजुली भने, हामी देशभरनै यो अभियानमा लागेका छौं, राज्य पक्षबाट यसपक्षमा अपेक्षित सहयोग प्राप्त हुन सकिरहेको छैन ।’
प्रतिस्ठानकी केन्द्रिय उपाध्यक्ष सावित्री त्रिपाटीले राष्ट्रिय भजन चुड्का प्रतिष्ठानमा सबै जातजातीको समावेशीताका आधारमा सहभागी हुने गरेको बताईन । उनले संस्थाको शाखामा आमा समुह,युवाक्लव र अन्य सरोकारवाला निकायहरुलाई समेट्दै भजन चुड्का संरक्षण अभियानमा लाग्न सुझाईन ।
यसैगरी प्रतिष्ठानका गण्डकी प्रदेश अध्यक्ष बशन्त बास्तोलाले हिमाली जिल्ला मनाङपछि मुस्ताङ जिल्लामा प्रतिष्ठानको शाखा विस्तार गर्न पाउँदा गौरान्वित भएको बताए । हरेक भूगोल र हरेक जाँतजातीका आफ्ना आफ्ना संस्कृति र मौलिकता हुने गरेको उल्लेख गर्दै प्रदेश अध्यक्ष बास्तोलाले हरेक संंस्कृति र मौलिकतालाई सम्मान गर्दै नेपालकै पुरानो भजन चुड्कालाई संरक्षण र पुस्तान्तरण गर्न वान्छनीय भएको बताए ।
जामसोममा प्रतिष्ठानको टोलीले भजन चुड्का गायर मनोरञ्जन प्रदान गरेको थियो । लोपोन्मुख बाद्यवाधक खैजडी र मुजुराको तालमा महादेव र पार्वतीको कथा र बुद्ध धर्म र त्यसको महत्वको बारेमा गीती लयमा भजन गायर समावेशी र सहभागीतामूलक संस्कृतिलाई जोड्ने प्रयास गरिएको थियो ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रजापती पराजुली मन्तब्यसहित भजन चुड्का गायका थिए । उनले बुद्ध धर्म र हिन्दु धर्मलाई भजनका माध्यममा जोड्ने प्रयास गरे । सबैको गन्तब्य एकै भएको र हिड्ने बाटो मात्र फरक भएकाले भजन चुड्कालाई मौलिक संस्कृति परम्पराको रुपमा मात्र चित्रण गर्नुपर्ने सुझाए ।
सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया