सय वर्षअघिको सगरमाथा
पोखरा ।
पृथ्वीको सर्वाेच्च शिखरमा पहिलो पाइला राख्ने सुनौलो इतिहास एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको नाममा लेखियो । सन् १९५३ मे २९ बिहान साढे ११ बजे उनीहरु सगरमाथा चुली पुगेका थिए । एकैपटक उनीहरु सगरमाथा चढे कि त्यसअघि पनि आरोहणका प्रयास भएका थिए ? शनिबार पोखरामा सगरमाथा आरोहणको इतिहासबारे यस्तै जिज्ञाशाबारे जानकारी दिने फोटो र डकुमेन्ट्री देखाइयो ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय र नेपाल पर्वतारोहण संघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा गण्डकीका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङ र बेलायती राजदुतावासका राजनीतिक विभाग प्रमुख म्याट वाल्टर्सले संयुक्त रुपमा सन् २०२४ को सगरमाथा आरोहणको फोटो प्रदर्शनी सुरुआत गरे । सो आरोहण अभियानका ६८ तस्बिर अब संग्रहालयमै राखी आगन्तुकलाई देखाइने छन् ।
सो अवसरमा माउन्ट एभरेस्ट फाउन्डेसनसँगको सहकार्यमा अल्पाइन क्लबले निर्माण गरेको डकुमेन्ट्री इभरेस्ट रिभिजिडेड १९२४ समेत देखाइएको छ । यसमा रोयल जोग्राफिक सोसाइटीको पनि सहकार्य छ । डकुमेन्ट्रीमा जर्ज म्यालरी र एन्ड्रयु इर्भानको टोलीको सगरमाथा आरोहण प्रयास समेटिएको छ । म्यालरीले ३ पटक आरोहण प्रयास गरेका थिए । १९२१ र १९२२ का आरोहण अभियानको लक्ष्य मुख्यगरी सम्भावित बाटो पत्ता लगाउनु थियो ।
१९२४ को तेस्रो अभियानमा म्यालरी, इर्भानसहित दुई शेर्पाको समेत सगरमाथामै मृत्यु भयो । उनीहरु ८ हजार ६ सय मिटरसम्म पुगेका थिए । सगरमाथा शिखरमा श्रीमतीको तस्बिर राख्ने वाचा गरी आएका म्यालरीले फोटो राखे या राखेनन्, उनीहरु त्यसको भोलिपल्ट शिखर पुगे कि पुगेनन्, अझै रहस्यमै छ ।
सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गेको सफल आरोहणअघिका इतिहास देखाउने फोटो र डकुमेन्ट्री प्रदर्शन
सन् १९९९ मा अमेरिकी आरोही कनरड एन्करले म्यालरीको कंकाल पत्ता लगाए र उनले त्यो समूहले सगरमाथा चढेको हुन सक्ने अनुमान गरेका छन् । आरोहण प्रमाणित नभए पनि उनको आरोहण प्रयास सगरमाथामाथि मानव विजयको पृष्ठभूमि हो । इकुमेन्ट्रीमा त्यो बेलाको सगरमाथा, शेर्पाहरुको जीवन, म्यालरीको आइस एक्स जस्ता विषय समेटिएका छन् ।
सो अवसरमा भएको कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत् पर्यटन क्षेत्रलाई समेट्ने वाचा गरे । उनले भने, ‘पर्यटन कृषिपछि दोस्रो प्राथमिकतामा राखिएको छ । बजेटले पर्यटनको राजधानी पोखरा र पर्वतारोहणका गतिविधिलाई सम्बोधन गर्नुुपर्छ ।’ उनले नेपालको पहिलो पर्यटकीय गतिविधि पर्वतारोहण भएको उल्लेख गर्दै त्यसको विकासमा योजनावद्ध प्रयास गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले पर्वतीय संग्रहालय स्थानीयको सहभागितामा बनेको जनाउँदै त्यसलाई हिमालीपन दिने उपाय सोच्न सुझाइन् । उनले भनिन्, ‘यहाँ स्थानीय आफैंले ल्याएर आफ्ना सांस्कृतिका विविध पक्षका सामग्री, भेषभूषा र तस्बिरहरु राखेका छन्,’ उनी भन्छिन्, ‘यहाँ प्रवेश गर्दा हिमाली क्षेत्रमा प्रचलित धुनहरु पृष्ठभूमिमा बज्ने व्यवस्था भए अझ राम्रो होला ।’
नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय पवतीय संग्रहालयका संयोजक ठाकुरराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बेलायती दुतावासमा राजनीतिक विभाग प्रमुख म्याट वाल्टर्स, माउन्ट एभरेस्ट फाउन्डेसनका सचिव जोन पोर्टर, एनएमएका महासचिव मोहन लम्साल, प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकार, पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपाने लगायतले बोलेका थिए ।
सोही अवसरमा इसिमोडले तयार गरेको नेपालको जैविक विविधता झल्काउने नक्सा प्रदेश सांसद सरस्वती गुरुङले उद्घाटन गरिन् । सो नक्सामा नेपालको जैविक विविधता, विश्व सम्पदा सूचीमा रहेका स्थान र लोपोन्मुख जातिको बसोबास स्थलहरु देखाइएको छ ।
संग्रहालयमा बनाइएको एनएमए कर्नर डा गणेश गुरुङ र पर्यटन विभागको सहासिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले सुरुआत गरे । एनएमए कर्नरमा भने यसले गर्दै आएका गतिविधिका तस्बिरहरु राखिएका छन् । कार्यक्रमअघि विश्व वातावरण दिवसको सन्दर्भमा अतिथि एवं सहभागीहरुले संग्रहालय हातामा वृक्षरोपणसमेत गरेका थिए ।
तपाईको प्रतिक्रिया