पोखरा १३ मा सार्वजनिक सुनुवाइ
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १३ ले पहिलो पटक सार्वजनिक सुनुवाइ गरेको छ । वडा कार्यालयले प्रदान गरेका सेवा र विकास निर्माणका विषयमा नागरिकलाई जानकारी गराउन र नागरिकबाट सुझाव लिन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा अधिकांश सहभागीले वडाले प्रभावकारी काम गरेको सुनाए । उनीहरुले ग्रामीण क्षेत्रहरुमा सडक सञ्जाल प्रभावकारी नभएको, यातायातको सुविधा राम्रोसँग नपुगेको, सिंचाइ कुलोको मर्मत र रेखदेख नगरिएको, लागुपदार्थ दुव्र्यसनी बढेको लगायतका गुनासासमेत गरे । कुकुरहरुको बिगबिगी बढेको, छाडा चौपायाका कारण खेतीमा असर पुगेको, फोहोर लिन गाडी नगएको पनि वडावासीले औंल्याए ।
जवाफमा वडाध्यक्ष किरण बरालले राजमार्गको स्तरोन्नतिमा ध्यान दिइएको र विस्तारै ग्रामीण क्षेत्रसम्म काम हुने सुनाए । उनले १३ नम्बर वडाबाट पोखराका विभिन्न ठाउँमा सिधै यातायात सेवा दिने गरी व्यवसायीहरुसँग संवाद गरिरहेको उल्लेख गरे ।
सिंचाइ कुलोको मर्मतका लागि सिंचाइ कार्यालयसँग छलफल भएको तर कुनै सम्बोधन नगरिएको उनको गुनासो छ । ‘सिंचाइ कार्यालय हाम्रै वडामा छ । तर कुलोको यो हालत छ,’ उनी भन्छन्, ‘फेरि डेलिगेसन जान्छौं । मन्त्रालयसम्म पुग्छौं ।’ १३ नम्बर वडामा धेरै सिंचाइ कुला छन् ।
लागुपदार्थ दुव्र्यसनी कम भएपनि नियन्त्रणमा आइनसकेको बरालको भनाइ छ । उनले कुकुर र छाडा चौपाया नियन्त्रणका लागि टोल विकास संस्थासँग मिलेर विशेष अभियान चलाउने वाचा गरे । ग्रामीण ठाउँहरुमा महिनाको कम्तीमा १ पटक गाडी पठाएर फोहोर संकलन गरिने बरालको प्रतिबद्धता छ ।
पत्रकार प्रकाश ढकालले सहजीकरण गरेको कार्यक्रममा वडा सदस्य सरिफ अली मियाँ र वडा सचिव अन्जु गुरुङले पनि बोलेका थिए । वडाले हालसम्म ८८ प्रतिशत पुँजीगत बजेट खर्च गरिसकेको तर सम्पन्न भएका योजनाको बजेट नै रोकिएको सचिव गुरुङले जनाइन् ।
‘काम लगभग सबै सकिएको छ । तर बजेट नआउँदा भुक्तानी दिन सकिएको छैन,’ उनले भनिन् । पोखरा १३ नम्बर वडाले पुँजीगततर्फ ४ करोड १७ लाखको काम गरिसकेको र चालुतर्फ ६६ लाख ९६ हजारमध्ये ४३ लाख ९० हजार खर्च भएको जनाएको छ । वडाले हालसम्म २ करोड २४ लाख ४५ हजार राजस्व संकलन गरेको छ ।
तपाईको प्रतिक्रिया