सम्पादकीय—पोखरा स्वास्थ्य विज्ञानमा एमबिबिएसको पढाइ
नेपालमै धेरैभन्दा धेरै चिकित्साशास्त्रका कलेजहरू खुलुन् भन्ने धेरैको चाहना थियो । तर नेपालमै पढ्ने कलेज कम हुँदा विदेशमा गएर पढ्न विद्यार्थीहरू विवश थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा पनि चिकित्साशास्त्रमा स्नातक तह अर्थात एमबिबिएसको पढाइ हुने भएको छ । हालैका दिनमा सरकारले अरु प्रतिष्ठानहरूमा पनि एमबिबिएस पढाइ गराउने योजना अघि सारेको छ । यसबाट अब नेपालमै धेरै कलेजहरुमा एमबिबिएस पढाइ हुने भएको छ । नेपालमै चिकित्सक उत्पादन गर्नेदेखि विद्यार्थीको विदेश पलायन रोक्ने अवस्था अब आउने देखिन्छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सञ्चालन गरिरहेको छ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले । यो गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल हो । यहाँ स्नातकोत्तर तहको पढाइ त हुँदै आएको थियो नै । अब चिकित्साशास्त्रमा स्नातक तह (एमबिबिएस)को पढाइसमेत हुने भएको छ । पोखरामा अब एमबिबिएस पढाइ हुने कलेज पनि धेरै भएका छन् । यसले पोखराको स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि प्रगति हुने देखिएको छ नै आर्थिक अवस्थामा यसले कतै न कतै योगदान पुर्याउने छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्भवत आउँदो भदौदेखि पढाइ हुने छ । चिकित्सा शिक्षा आयोगले ५० विद्यार्थी लिएर पढाइ सुरु गर्न प्रतिष्ठानलाई कोटा दिन सक्ने देखिएको छ । तीमध्ये छात्रवृत्तिमा पनि कतिपयले पढ्न पाउने छन् । छात्रवृत्तिमा पढ्न र त्यो पनि स्वदेशमै अवसर हुनु विद्यार्थीहरूका लागि सुखद कुरा हो । शुल्क तिरेर पनि विदेशमा होइन स्वदेशमै पढ्न पाइनु पनि सुखदै हो ।
नेपालमा डक्टर पढ्ने तर पछि अमेरिका, बेलायत, अस्ट्रेलिया वा युरोपेली देश जाने प्रवृत्ति ज्यादा देखिन्छ । अब सरकारले नेपालमै पढाइ गराएपछि डक्टरी उत्तीर्णहरुलाई स्वदेशमै राख्ने नीति, योजना र कार्यक्रम पनि ल्याउनुपर्छ । स्वदेशमा चिकित्सकको संख्या वृद्धि भएपछि यहाँको स्वास्थ्य सेवा पनि स्तरवृद्धि हुने अपेक्षा गर्नु अस्वाभाविक हुँदैन । शुल्कमै पढाए पनि नेपालमा चिकित्साशास्त्रको पढाइ हुँदा त्यहाँ राज्यको लगानी भएको हुन्छ । छात्रवृत्तिलाई मात्रै लगानी होइन, शुल्कसहितको पनि राज्यकै लगानी हो । त्यसका लागि बनाएका पूर्वाधार र सरकारले दिएको सुविधा हो ।
तपाईको प्रतिक्रिया