मानवसेवा आश्रमलाई एकैदिन साढे ६४ लाख सहयोग

राष्ट्रिय समाचार समिति (रासस) २०८१ जेठ २७ गते १२:४६

बागलुङ ।
मानवसेवा आश्रम बागलुङको भवन निर्माणका लागि एकैदिन ६४ लाख ५४ हजार पाँच सय ९५ संकलन भएको छ ।

Advertisement


निर्माणाधीन भवन सहयोगार्थ ‘मिट एण्ड ग्रिट’ कार्यक्रमबाट एकैदिन उक्त रकम संकलन भएको छ । कार्यक्रममा बागलुङको काठेखोला गाउँपालिकाले १५ लाख, पर्वतको कुश्मा नगरपालिकाले ५लाख ११ हजार, फलेबास नगरपालिकाले ५ लाख ११ हजार र म्याग्दीको मालिका गाउँपालिकाले ५ लाख ११ हजारर रुपैयाँ सहयोग गरेका छन् ।


त्यस्तै स्थानीय र बागलुङ बजारका व्यापारीले सहयोग गरेको मानवसेवा आश्रमका सहकोषाध्यक्ष सुमीरा लामाले जानकारी दिइन् । विसं २०७३ देखि बागलुङको शाखा स्थापना गरेर सेवा दिँदै आएको आश्रमले विसं २०७८ मा बागलुङ नगरपालिका–४ निरयघाटमा जग्गा प्राप्त गरेपछि सुविधा सम्पन्न भवन निर्माण गर्न थालेको हो ।

Advertisement


स्थापनाकालदेखि अहिलेसम्म बागलुङ–३ किनारा टोलबाट आश्रम सञ्चालित छ । आश्रमको आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्नका लागि विसं २०७८ वैशाख २४ गते शिलान्यास गरिएको लामाले बताइन् । आश्रमलाई स्थापनाकालदेखि नै धेरैले सहयोग गर्दै आएको सुनाउँदै ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा एकैदिन धेरैले सहयोग गरेको उनको भनाइ छ ।


आश्रममा हाल महिला २२, पुरुष २४ र बालबालिका सात गरी ५३ जना सहयोगापेक्षी आश्रित रहेका छन् । भवन निर्माण सुरु भएको तीन वर्षमा ४० प्रतिशत काम सम्पन्न भएको मानवसेवा आश्रमका अभिभावक एवं भवन निर्माण समितिका संयोजक शिव खड्काले जानकारी दिए ।

Advertisement


१२ करोड ७५ लाखको योजना रहेकामा हालसम्म हालसम्म पाँच करोड खर्च भएको उनको भनाइ छ । यो सबै प्रदेश, पालिका र दाताबाट आएको सहयोग प्राप्त भएको खड्का बताउँछन् ।


‘भवन निर्माणको काम अगाडि बढेको छ, हालसम्म करिबकरिब आधा काम सकिन थालेको छ, आर्थिक सहयोग आउनेक्रम जारी छ, धेरै दाताले मन फुकाएर सहयोग गर्नुभएको छ, यो योजना १२ करोड ७५ लाखको हो, भवन निर्माण सकियो भने आश्रममा बस्नेहरुलाई सहज हुनेछ, अहिले जसोतसो व्यवस्थापन गर्दै आएका छौँ,’ खड्काले भने ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया