पर्यटन व्यवसायमा महिलालाई सधैं उपेक्षा

समाधान संवाददाता २०८१ जेठ २७ गते १९:५२

पोखरा ।

Advertisement

पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले पर्यटन क्षेत्रमा लैङ्गिक समानता र सामाजिक समावेशीता नभएको बताएका छन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा गण्डकी प्रदेशका पर्यटन क्षेत्रमा महिला र सीमान्तकृत समुदायहरूको सहभागिता तथा वर्तमान अवस्थाबारे छलफल तथा अन्तरक्रियामा सहभागीहरुले अवसरको कमी, हाम्रा संस्कार, पितृसतात्मक सोच, कानुनको पूर्ण रूपमा कार्यान्वयन नहुनु लगायतका कारण महिलालाई हरेक क्षेत्रमा समस्या परिरहेको बताएका हुन् ।

पर्यटन व्यवसायी लक्की क्षेत्रीले केहि वर्ष पहिला यस किसिमको व्यवसायमा लाग्नेलाई नराम्रो नजरले हेर्ने, बिग्रिएको भन्ने गरेको तर अहिले केही परिवर्तन आएको बताइन् । महिलाले आफ्नै गुणस्तर र सिप विकास गरेर आउँदा अरुबाट हेपिन नपर्ने उनको भनाइ थियो ।

Advertisement

पर्यटन व्यवसायी महिला संघ (टेवान) की संस्थापक अध्यक्षसमेत रहेकी उनले पर्यटन क्षेत्रमा लागेका महिलालाई नेतृत्व विकाससँगै सिप मुलक तालिम पनि दिने गरेको उनले सुनाइन् । उनले यस क्षेत्रमा धेरै अवसर भएको बताउँदै विभेद र हिसांको प्रतिकार गर्दै अघि बढ्न सुझाव दिइन् । पछिल्लो समय पर्यटन क्षेत्रमा महिला उत्साहित भएर लागेको बताइन् ।

गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाको प्रतिनिधित्व हुने गरी पोखराको माउन्ट कैलाश रिसोर्टमा गरिएको सो कार्यक्रममा सहभागी मुस्ताङकी व्यवसायी सुकुन रसाइली बिकले दलित महिला भएकै कारण आफुले धेरै पटक विभेदको सामना गर्नु परेको बताइन् । शिक्षित वर्गले नै विभेद गर्ने गरेको गुनासो गर्दै उनले त्यो कामीको होटल हो त्यहाँ जानु हुन्नसम्म भन्ने गरेको उनको भनाइ छ । यस क्षेत्रमा महिलालाई आकर्षित गर्न र टिकाइराख्न सरकारी तहबाट नै विभेदको अन्त्य गरिनु पर्नेमा उनले जोड दिइन् ।

Advertisement

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) गण्डकीका उपाध्यक्ष ममता न्यौपानेले पर्यटनले महिला सशक्तीकरणमा ठूलो भूमिका खेलेको बताइन् । पर्यटनले महिलाको चौतर्फी विकासमा टेवा पुर्याएको बताउँदै महिला आर्थिक रुपमा सक्षम हुँदा विभेदमा पनि कमी आउने बताइन् । महिलालाई हरेक क्षेत्रमा चुनौती हुने बताउँदै यस क्षेत्रमा चुनौतीसँगै अवसर पनि रहेको उनको भनाइ थिायो ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीका अध्यक्ष शोभाकुमारी अधिकारी सापकोटाले पर्यटनमा महिलाको भूमिका अतुलनीय रहेको बताइन् । हरेक क्षेत्रमा जस्तै पर्यटनमा पनि महिला उच्च ओहोदामा कमै रहेको बताउँदै त्यसलाई बढाउन राज्यको नीति, कानुन र संयन्त्रमै परिवर्तन आउनु पर्नेमा जोड दिइन् । अधिकारीले महिलाका लागि सुहाउँदो क्षेत्र भएकाले पर्यटनमा महिला सहभागितालाई नै बढी जोड दिनुपर्ने बताइन् । उनले महिलाको योगदानलाई मूल्यांकन गर्दै उचित स्थान र प्रोत्साहन दिनु पर्ने औंल्याइन् ।

पोखरा पर्यटन परिषद्का कार्यबाहक अध्यक्ष कृष्ण भण्डारीले पछिल्लो समय यस क्षेत्रमा महिलाहरुको आकर्षण बढ्दै गएको बताए । नेपाल सरकारसँगको सहकार्यमा बोर्डले महिलालाई पर्यटनमा सशक्त बनाउन विविध खाले तालिम, कार्यशाला संचालन गर्ने गरेको बताउँदै यसले पनि महिलाको चौतर्फी विकासमा टेवा पुग्नुका साथै उनीहरूको जीनवस्तरमा सुधार भएको उनको भनाइ थियो ।

अन्तरक्रिया कार्यक्रममा पर्यटन क्षेत्रमा आवद्ध विभिन्न सघंसस्थाहरु ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका उपाध्यक्ष कृष्ण आचार्य, रेष्टुरेष्ट एण्ड वार एसोसिएसन (रेवान) पोखराका महासचिव विशाल भट्टराई, होटल सघं पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीलगायतले बोलेका थिए ।

आयोजक नेपाल पर्यटन बोर्डका प्रवन्धक तथा राष्ट्रिय परियोजना संयोजक श्रदा श्रेष्ठले जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तरगत नेपालको पर्यटन क्षेत्रको लैङ्गिक समानता र सामाजिक समावेशीकरण (जेसी ) को विश्लेषण गरिरहेको बताइन् । यसको उद्देश्य नेपालको पर्यटन क्षेत्रका महिला र सीमान्तकृत समुदायको अवस्थाको विश्लेषण गरी जेसीलाई पर्यटन क्षेत्रको योजना र बजेटमा समावेश गर्न सरकारलाई नीतिगत सिफारिस गर्नु रहेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया