माझठानामा साना किसान समूह गठन

समाधान संवाददाता २०८१ जेठ २८ गते १२:१४

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २८ माझठाना सौर्यस्थित साना किसान कृषि सहकारी संस्थामा समूह एवं अन्तर समूह गठन गरिएको छ ।

Advertisement


साना किसान विकास लघुवित्त वित्तीय संस्था पोखरा शाखाको वित्तीय सहयोगमा शनिबार १० वटा समूह गठन गरिएको हो । साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष सीताराम तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रत्येक समूहमा ५ देखि ७ जना सदस्य रहने गरी पायक मिल्ने गरी समूह गठन गरिएको उपाध्यक्ष तिवारीले बताए ।


समूहहरुको संयोजकहरुमा विष्णुप्रसाद लामिछाने, खिमबहादुर थापा, विकल केसी, विष्णुमाया लामिछाने, सुनिता तिवारी, सम्झना तिवारी, कालिराम तिवारी, सिताराम तिवारी, रुद्रनाथ लामिछाने र नारायणप्रसाद लामिछाने छन् ।

Advertisement


यसअघि राष्ट्रिय सहकारी महासंघ सञ्चालक समिति सदस्य एवं लाहाचोक साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कमला पौडेल सुवेदीले साना किसान कृषि सहकारी संस्थाको महत्वको बारेमा चर्चा गर्दै कास्कीमा रहेका १३ वटा कृषि सहकारीमा अहिलेसम्म सहकारी विभागमा कुनै सहकारीको बारेमा उजुरी नपरेको दाबी गरिन् ।


साना किसानले प्रदान गर्ने कर्जा लगायत अन्य सेवा सुविधाका बारेमा स्पष्ट पार्दै सुवेदीले साना किसान सहकारीको विधि अनुसार सञ्चालन हुनुपर्ने बताउँदै सहकारीमा समूह गठन प्रकृया र यसको महत्वमाथि प्रकाश पारेकी थिइन् ।

Advertisement

अन्य केही सहकारीका सञ्चालकहरुको खराब प्रवृत्तिका कारण सहकारीलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको दुख व्यक्त गर्दै कृषि सहकारी आफैमा बलियो र भरपर्दो सहकारी भएको बताइन् । समूहको काम, कर्तव्य र अधिकारका बारेमा चर्चा गर्दै सुवेदीले समूहमार्फत नियमित बचत रकम संकलन हुने भएकाले साना किसान कृषि सहकारी संस्था सुदृढ हुने दाबी गरिन् ।


सहकारीका प्रबन्धक रवि रानाभाटले सहकारीको बर्तमान वित्तिय अवस्था, यसका कार्य क्षेत्र, यसका सेयर सदस्य एवं सञ्चालक समिति, यसले उपलब्ध गराउने विभिन्न किसिमका कर्जा लागयत अन्य सेवा सुविधाका बारेमा जानकारी गराएका थिए ।


सहकारीका उपाध्यक्ष सीताराम तिवारीले स्वागत एवं कार्यक्रममाथि प्रकाश पार्दै सम्पतिको हिसाबले माझठानाको सानाकिसान कृषि सहकारी संस्था बलियो भएता पनि विगतमा ओझेलमा परेको गुनासो गरे ।

आगामी दिनमा सेयर सदस्यहरु, सञ्चालक समिति, कर्मचारी सबैजना एकजुट भएमा मात्रै सहकारीलाई सुदृढीकरण गर्न सकिने बताए । सहकारी सञ्चालक समितिका सहसचिव विकल केसीले कार्यक्रम सञ्चालन गरेका थिए ।


२०६२ सालमा दर्ता भएको सहकारीमा १ हजार २ सयभन्दा बढी सेयर सदस्य छन् ।

तपाईको प्रतिक्रिया