सम्पादकीय—शिक्षक सरुवाको राजनीति

सामुदायिक विद्यालयमा चरम राजनीति छ भन्ने जगजाहेर छ । विद्यालय व्यवस्थापन समिति गठन हुन्छ त राजनीतिक आधारमा । भागबन्डाका आधारमा । अनि प्रधानाध्यापक पनि राजनीतिक आस्थाका आधारमा चयन गर्ने गरिन्छ । शिक्षा सेवा आयोग उत्तीर्ण गरेको शिक्षक आफूलाई पायक पर्ने विद्यालय छनोट गर्न सक्दैन । उसका लागि राजनीतिक पहुँच चाहिन्छ । अहिलेसम्म विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुले योग्य, क्षमतावान र निष्ठावान शिक्षकभन्दा आफ्नो राजनीतिक आस्थासँग नजिक शिक्षक खोज्छन् । अनि त्यही प्रवृत्तिले गर्दा सामुदायिक विद्यालयमा राजनीति घुस्छ ।
हालै विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ मापदण्डसहितको शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१ जारी गरेको छ, शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति चाहिने प्रावधान हटाइदिएको छ । अनि सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ भने त्यसको विरोधमा उत्रिएको छ । ऊ विरोधमा आउनु भनेको हामीले राजनीति गर्न पाउनुपर्छ भन्नेजस्तो देखिन्छ । महासंघको माग पूरा गर्न शिक्षामन्त्री सुमना श्रेष्ठलाई थुप्रै दबाब आउन सक्छ, तर उनले त्यो दबाब थेग्नुपर्छ र विद्यालय व्यवस्थापन समितिको राजनीतिबाट विद्यालयलाई मुक्त गर्नुपर्छ ।
शिक्षक सरुवामा घिनौना हर्कतहरु धेरै सुनिन्छ । पैसा खाएरमात्रै शिक्षक सरुवा गरिन्छ भन्ने त शिक्षकहरु स्वयं खुलेआम नै भन्छन् । त्यसैको लोभ र लालचमा कोही विद्यालय व्यवस्थापन समितिमा बस्छ । विद्यालय सुधार्ने वा शैक्षिक गुणस्तर उकास्ने भन्दा पनि विद्यालयमा बसेर राजनीति गर्न खोज्नेहरु धेरै छन् । त्यसैले नै त सामुदायिक विद्यालयको हालत गयगुज्रेको भएको छ । पठनपाठनको स्तर खस्केको छ ।
सामुदायिक विद्यालयका शिक्षकहरु सरुवामा खास मापदण्ड बनाइएन भने अहिलेको निर्देशिकाले मात्रै काम गर्दैन । एउटा विद्यालयमा सरुवा भएपछि अवकास नहुँदासम्म त्यहीं पढाउने तर दुर्गममा कहिल्यै नजाने प्रवृत्ति देशैभरि छ । निजामती कर्मचारीको जसरी २÷२ वर्षमा सरुवा हुन्छ, स्थायी शिक्षकलाई पालैपालो दुर्गम र सुगमको विद्यालयमा पठाउनुपर्छ । कोही जीवनभर दुर्गम र कोही सुगममा मात्रै बस्न पाउने हुनु हुँदैन ।
दुर्गमका विद्यालयमा शिक्षक नजाने र सुगमकहाँ आउन लाखौं लाख घुस खुवाउने प्रवृत्ति अन्त्य गर्ने र विद्यालयलाई राजनीतिमुक्त गर्ने हो भने केही हदसम्म सुधार हुने अपेक्षा गर्न सकिन्छ । सामुदायिक विद्यालय व्यवस्थापन समितिले आफूहरुको अधिकार खोसिए आन्दोलन गर्ने जुन चेतावनी दिएको छ, त्यो लज्जाजनक छ । आखिर अहिलेसम्म उनीहरुले किन विद्यालयको शिक्षा सुधार्न शिक्षामन्त्री, प्रधानमन्त्रीसँग कुनै माग राखेनन् ? त्यसबारे किन आन्दोलन गरेनन् ? अनि राजनीति गर्न पाइएन भनेरचाहिँ आन्दोलन गर्छाैं भन्नु बिडम्वना नै हो । उनीहरु आन्दोलनमा उत्रिए पनि समितिबाट बर्खास्तसम्म गर्ने हिम्मत सरकारले गर्न सक्नुपर्छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया