जनप्रिय क्याम्पसका विद्यार्थीलाई न्यायिक प्रशिक्षण
पोखरा ।
पोखरा महानगरका न्यायिक समितिले नागरिक, श्रमिक, विद्यार्थीलाई न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।
पोखरा महानगरपालिकाको न्यायिक समितिको संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको महानगर न्यायिक समितिले जनाएको छ । विभिन्न संघ, संस्थासँग मिलेर कार्यक्रम सञ्चालन गरिहेको छ ।
‘न्यायिक समितिसँग विद्यार्थी’ कार्यक्रम अन्र्तगत आइतबार महानगर न्यायिक समितिको सहयोगमा प्रेस क्लब गण्डकीको आयोजनामा पोखराको सिमलचौरमा रहेको जनप्रिय क्याम्पसमा अध्ययनरत छात्रालाई न्यायिक समितिको बारेमा जानकारी गराइएको छ ।
स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको व्यवस्था र यसले निरुपण गर्ने विवादका विषयमा सचेतना जगाउने उद्देश्यले बार्षिक कार्यक्रममा समावेश गरिएको पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुुदेवी गुुरुङले बताइन् ।
उपप्रमुख गुुरुङले स्थानीय तहका विवाद स्थानीय तहबाटै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना संविधानमा गरिएकाले नागरिकलाई यसको बारेमा जानकारी गराउन वार्षिक कार्यक्रममा समावेश गरेर सञ्चालन गरिएको जनाइन् । स्थानी तहमा सृजना भएका विवादलाई स्थानीय स्तरमा समाधानका लागि न्यायिक समिति गठन गरिएको उनको भनाइ छ । ‘स्थानीय विवादहरु अदालत पुुग्ने अवस्थाले समय र पैशा दुवै खर्च हुने भएकाले सहज रुपमा न्याय पाउने उद्देश्यले उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समितिको ब्यवस्था गरिएको हो,’ उनले भनिन् ।
नागरिकले सहज र सरल रुपमा न्याय पाउन भन्ने उदेश्य र स्थानीय तहका विवाद अदालतसम्म पुुग्नुपर्ने अवस्था नआओस भन्नका लागि न्यायिक समितिको परिकल्पना गरिएको जनाउँदै थपिन्, ‘समय र पैशाको बचतका लागि र स्थानीय विवाद मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले न्यायिक समितिको व्यवस्था गरिएको हो । यसका बारेमा महानगरका नागरिकले जानकारी पाउनुपर्छ भन्ने मान्यताले कार्यक्रम सञ्चालन गरिएको हो ।’
पोखरा महानगरपालिका वडा नम्वर ८ का अध्यक्ष रुद्रनाथ बरालले पोखरा महानगरपालिका न्यायिक समितिले उत्कृष्ट रुपमा न्याय सम्पादनको काम गरिरहेको बताउँदै आफ्नो काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउँदै स्थानीयका विवादलाई स्थानीय रुपमै सुल्झाउनुपर्नेमा जोड दिए ।
प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रिय क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, जनप्रियका निमित्त क्याम्पस प्रमुुख रमेशबहादुर खड्का, प्रेस क्लब गण्डकी सचिव गौरव त्रिपाठी, कोषाध्यक्ष राजु गिरी लगायतले बोलेका थिए ।
कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिको गठन प्रक्रिया, न्यायिक समिति सदस्य रजनी परियारले अधिकार क्षेत्र र न्यायिक समितिका मेलमिलाप सहजकर्ता सोम लम्सालले मेलमिलापकर्ता सूचीकृतको प्रक्रिया, आचारण र योग्यताबारे सहजीकरण गरेका थिए ।
तपाईको प्रतिक्रिया