प्राइम सहकारी ठगी: ८ सरकारी कर्मचारीसहित ६६ जनालाई मुद्दा

समाधान संवाददाता २०८१ जेठ २९ गते १०:२४

पोखरा ।
पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा आइतबार ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दायर भएको छ । १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो मागदाबीसहित जिल्ला सहकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।

Advertisement


यो गण्डकी प्रदेशमा अहिलेसम्म सार्वजनिक भएको सबैभन्दा ठूलो सहकारी ठगी प्रकरण हो । विज्ञको वित्तीय विश्लेषण र प्रहरीको अनुसन्धान प्रतिवेदनपछि सहकारीका सञ्चालकहरु, सरकारी कर्मचारी, लेखा परीक्षकसहितलाई विपक्षी बनाइएको छ । प्राइम सहकारीमा सर्वसाधारणको बचत र सेयरधनीको सेयर रकमसमेत हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले जेठ १ गते अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको थियो ।


सहकारीका कानुनी सल्लाहकार अधिवक्ता ईन्द्रप्रसाद बराल उच्च अदालत पोखराको आदेशले तारेखमा रिहा भएका थिए । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहन्यायाधीवक्ता विपिनराज तिवारीले प्राइमका दुई पूर्वअध्यक्ष, वर्तमान अध्यक्ष, ८ नेपाल सरकारका कर्मचारी, लेखा परीक्षक लगायतमाथि अभियोगपत्र दर्ता भएको जानकारी दिए ।


‘आइतबार अभियोगपत्र दायर दर्ता भएको छ । ६६ जना भएकाले समय त लाग्ने नै भयो,’ उनले भने, ‘आदेश आउन पर्खिनुपर्ने देखिन्छ ।’ पोखरा महानगरपालिका वडा नम्बर ४, गैह्रापाटनमा मुख्य कार्यालय रहेको प्राइमको कार्य क्षेत्र कास्की जिल्लाभर छ ।


अहिले सहकारीका अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, पूर्वअध्यक्ष नितेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा, सञ्चालक मनबहादुर गुरुङ लगायत हिरासतमा छन् । मुद्दा दायर भएका ६६ जनामध्ये ५६ जना अझै फरार छन् ।

Advertisement


प्राइम सहकारीका प्रमुख कार्यकारी निर्देशक पौडेल र व्यवस्थापक निरु थापाले ठगीको योजना बनाएको अभियोगपत्रमा उल्लेख छ । ६६ जनामध्ये सबैलाई सहकारी ठगी र केहीलाई सम्पत्ति शुद्धिकरणमा मुद्दा चलाउनुपर्ने सरकारी राय दिइएको छ ।


प्राइमबाट सहकारी विभागका कर्मचारीले रकम लिएको, वैदेशिक भ्रमणमा सहकारीकै खर्चमा गएको अभियोगपत्रमा उल्लेख छ । सहकारी विभाग काठमाडौँबाट अनुगमनमा आएका शाखा अधिकृत सन्देशप्रसाद जोशी र नायब सुब्बा कमल पोखरेलले १५ लाख रकम लिएको अभियोगपत्रमा उल्लेख छ ।


गण्डकीका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका तत्कालीन प्राचार्य वद्रीनाथ अधिकारी, सहकारी डिभिजन कार्यालयका कर्मचारी बालकृष्ण सुवेदी र राष्ट्रिय सहकारी बैंक पोखराका शाखा प्रमुख सन्तोष घिमिरेले पनि रकम र अन्य सुविधा लिएको अभियोगपत्रले औंल्याएको छ ।


यसअघि नै कास्कीका मित्रमिलन सहकारी, सूर्यदर्शन बचत तथा सहकारी, बलिदानी बहुउद्देश्यीय सहकारी, विन्दवासिनी सहकारी, शिवशिखर सहकारी र इमेज सहकारीले बचतकर्ताको रकम अपचलन गरी अनियमितता गरेपछि मुद्दा अदालतमा विचाराधीन छ । जिल्ला अदालत कास्कीले सहकारी घोटला प्रकारणमा केहीलाई पुर्पक्षका लागि कारागार पठाएको छ भने केहीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।


जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले पछिल्लो एक वर्षमा कास्कीमा सात सहकारीमा भएको अनियमितताबारे प्रहरीले अनुसन्धान गरेको उल्लेख गरे । उनले भने, ‘प्राइम अहिलेसम्मको रकममा पनि सबैभन्दा धेरै र अभियोजनका दृष्टिले पनि सबैभन्दा ठूलो हो । अनुसन्धान जारी नै रहेकाले थप मानिसहरु पनि पछि तानिने सम्भावना छ ।’

तपाईको प्रतिक्रिया