एमाले माछापुच्छ्रेमा विक्रमको नेतृत्व
पोखरा ।
नेकपा (एमाले) माछापुच्छ्रे गाउँपालिका कमिटीको दोस्रो अधिवेशन भएको छ । अधिवेशनबाट अध्यक्ष विक्रम गुरुङको प्यानल विजयी भएको छ । अध्यक्षका उम्मेद्वार केशवराज पोखरेलले नेतृत्व गरेको समूह पराजित भएको प्रमुख निर्वाचन अधिकृत नन्दलाल अधिकारीले जानकारी दिए । अध्यक्ष पदमा गुरुङले १ सय २६ र पोखरेलले ५३ मत पाएका छन् ।
अधिवेशनमा पदाधिकारी, लेखा कमिटीको अध्यक्ष, खुला सदस्य, महिला सदस्य, दलित खुल्ला, युवा महिलाका केही सदस्यका लागि निर्वाचन भएको छ । भूगोल वडा, युवा खुल्ला, आदिवासी जनजाति, आदिवासी जनजाति महिला, दलित महिला, लेखा कमिटीको उपाध्यक्ष सरस्वती जिसी, सचिव रमेश परियारसहित सदस्य, अल्पसंख्यक सदस्य निर्विरोध भएको निर्वाचन अधिकृत विष्णुप्रसाद अधिकारीले बताए ।
पदाधिकारीमध्ये उपाध्यक्षमा पूर्णबहादुर शाही (नवराज) १ सय ३१ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी कुलप्रसाद भण्डारीले ४३ मत पाए । सचिवमा ऋषि गौतम १ सय ३१ मतका साथ विजयी भएका छन् । सचिव पदका प्रत्यासी रामप्रसाद अधिकारीले ४३ मत पाए । उपसचिव खुलामा अमिट गौतम (माधव) १ सय १३ मतका साथ निर्वाचित हुँदा प्रतिस्पर्धी इराक गुरुङले ५९ मत पाए ।
उपसचिव महिलामा फूलमाया गैरे (नेपाली)ले १ सय ७ मतका साथ विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी सीता तिवारी अधिकारीले ६९ मत पाएकी छन् । लेखा कमिटीको अध्यक्षमा पदम नेपालीले १ सय ६ मतसहित विजयी भएका छन् । लेखा कमिटीको अध्यक्षका उम्मेद्वार राजेन्द्र अधिकारीले ७१ मत पाएका छन् ।
अधिवेशनमा आयोजकसमेत गरी १ सय ८८ प्रतिनिधिले भाग लिएका थिए । निर्वाचनमा १ सय ८३ मत खसेको थियो । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेको अधिवेशनमा स्थायी कमिटीका सदस्य खगराज अधिकारी, पोलिटब्युरो सदस्य जगत विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया