हंसपुरमा पुष्पकमल स्मृति भवन र शालिक

पोखरा ।
पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठान पोखराले रूपा गाउँपालिका ७ हंसपुरमा पुष्पकमल सुवेदी स्मृति भवन निर्माण गरेको छ । गण्डकी धौलागिरी क्षेत्रको राजनीतिक, शैक्षिक र साहित्य क्षेत्रमा योगदान पुर्याएका पुष्पकमलको जन्मस्थान हंसपुरमा बनेको भवनसँगै उनको शालिक शनिबार अनावरण गरिएको छ ।
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले भवन उद्घाटन तथा शालिकको अनावरण गरे । उनले पञ्चायत कालको कठिन घडीमा कास्कीमा मात्र नभएर गण्डकी र धौलागिरीका कुना कुनामा योजनाबद्ध ढंगले कम्युनिस्ट संगठन निर्माणमा पुष्पकमलको योगदान रहेको स्मरण गरे ।
अधिकारीले पुष्पकमलले पञ्चायती व्यवस्था विरोधी जनमत निर्माणदेखि कम्युनिस्ट आन्दोलनलाई संगठित र सुदृढ बनाउन महŒवपूर्ण योगदान गरेको जनाए । ‘पुष्पकमल कम्युनिस्ट कार्यकर्ता हुर्काउने, जन्माउने विचारले प्रशिक्षित गर्ने अभिभावक हो । उहाँलाई जति सम्मान गरे पनि पुग्दैन,’ अधिकारीले भने, ‘साहित्य रत्न, विचारक र दार्शनिक नेता हो ।’
स्मृति भवन निर्माण सुरुवात गर्ने आँट राम्रो काम भएको उल्लेख गर्दै नेता अधिकारीले भवनलाई व्यवस्थित गर्न निरन्तर रुपमा काम गर्न सुझाव दिए । उनले नयाँ पुस्तामाझ पुष्पकमलबारे जानकारी दिदै स्मरणीय बनाउन प्रतिष्ठानले खेलेको भूमिका प्रशंसायोग्य भएको उल्लेख गरे ।
प्रतिष्ठानका सल्लाहकार रामराज रेग्मीले प्रतिष्ठानले खरिद गरेको ६ रोपनी मध्ये ४ रोपनीमा स्मृति भवन बनाएको जानकारी दिए । भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले १० लाख र पुष्पकमलका छोरा दिलीप सुवेदीले अमेरिकाको टेक्सासबाट १२ लाख संकलन गरी पठाएको उल्लेख गर्दै उनले पुरानो संग्रहालय तथा पुस्तकालय निर्माणदेखि स्मृति बाटिकाको रुपमा विकास गर्ने योजना सुनाए ।
२०२६ मा पिएनको स्ववियु सभापति चुनिएका वामपन्थी नेता पुष्पकमल स्मृतिमा उनको जन्मस्थानमा भवन र शालिक निर्माण
स्मृति भवनको सभाकक्षलाई माक्र्सवादी अध्ययन केन्द्रको रुपमा विकास गर्ने योजना उनले सुनाए । रेग्मीले माक्सवादी विचारको आलोकमा खडा भएको प्रतिष्ठानले पुष्पकमलले अगाडि सारेका योजनालाई कार्यान्वयन गर्ने वाचा गरे ।
कम्युनिस्ट नेता सोमनाथ अधिकारी ‘प्यासी’ले क्रान्तिकारी कम्युनिस्ट दल गण्डकी र धौलागिरी संयोजक भएर काम गरेका पुष्पकमल २०२० देखि ०३० सम्मको दशकमा स्थापित नेता भएको बताए । पुष्पकमलले पश्चिम ३ नम्बर छात्र मण्डलमा सक्रिय भएर राजनीतिको सुरुवात गरेको उनको भनाइ छ ।
प्रतिष्ठानका अध्यक्ष पूर्ण गिरीले नेपालको राजनीति, सामाजिक र साहित्य क्षेत्रमा योगदान पुर्याएका पुष्पकमलको स्मरणमा सचेतना पुस्तक प्रकाशन गरेको जानकारी दिए । कार्यक्रममा पुष्पकमलका सहकर्मी वनमाली सुवेदीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
समारोहमा रामबाबु सुवेदीले लेखेको र रचना रिमाल तथा प्रताप दासले गाएको पुष्पकमलको गीत छायांकन समेत गरिएको प्रतिष्ठानका सचिव प्रदीप सुवेदीले जानकारी दिए । गायक पदमराज ढकाल र संगम साँस्कृतिक मञ्च नेपालका कलाकार काजी गाउँले र विकास लुंगेलीले पुष्पकमलको बारेमा लेखिएको गीत प्रस्तुत गरे ।
कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सदस्य धनबहादुर नेपाली, पोखरा महानगरपालिका कमिटीका निवर्तमान अध्यक्ष दिलीप न्यौपाने, रुपा गाउँपालिका कमिटीका अध्यक्ष नीलकण्ठ रेग्मी, नेपाली कांग्रेस रुपा गाउँपालिका समिति अध्यक्ष विमलबावु न्याैपाने, नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटीका सदस्य निर्मला क्रान्ति, रुपा गाउँ कमिटीका उपाध्यक्ष सत्यराज सुवेदी, गैसस महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदी, वामपन्थी नेता शेषमणि आचार्य, रुपा ७ का अध्यक्ष कृष्ण सुवेदी, पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठान नेपालका उपाध्यक्ष ध्रुव कल्पित सुवेदी, कोषाध्यक्ष इन्दु रेग्मी, प्रतिष्ठानका सदस्य शुक्रराज सापकाेटा लगायतले नेपालको राजनीतिमा पुष्पकमलको योगदानबारे चर्चा गरे ।
पुष्पकमल सुवेदी विस २०२६ मा पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति चुनिएका थिए ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया