आदेशको परिपालना आवश्यक

समाधान संवाददाता २०८१ जेठ २९ गते १२:४२

प्राकृतिक रुपमा बनेको फेवाताल पछिल्लो समयमा प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा छ । बढ्दो बसोवास र जनसंख्या, संरक्षण सोंच विनाका विकासकार्यले फेवाको क्षेत्रफल र आयातन घट्दै गएको छ । बाढीपैरो खोला किनारा कटान र थ्रेग्रिकरणले वर्षेनी ताल पुरिने क्रम बढ्दो छ ।


अर्कोतर्फ फेवाको संरक्षणको दायित्व बोकेका राज्यका निकायहरूका क्रियाकलापले फेवा निरन्तर मासिँदै गएको छ । फेवाको जलश्रोतको भण्डारको रुपमा रहेको सिमसार क्षेत्रमा डोजर चलाउने कार्य कानुनविपरीत हो । जसको कारण तालको क्षेत्र संकुचित हुदै समेत गएको छ । यस्तो अवस्थामा ताल संरक्षणको सवालमा उच्च अदालतले सकारात्मक आदेश दिएको छ । अधिवक्ता मनोज घर्तीमगरले तालको सिमसार क्षेत्र पुर्ने निर्णयविरुद्ध उत्प्रेषण मुद्दामा अदालतले फेवा मापदण्डभित्रका भौतिक संरचना साउनदेखि नै हटाउन परमादेश दिएको हो ।


विगतमा फेवा लगायत तालहरुको मापदण्डलाई ६५ मिटर कायम गर्न सर्वाेच्च अदालतले निर्देशनात्मक आदेश गरेको थियो । भने भर्खरै उच्चको आदेश अनुसार फेवाको निर्धारित मापदण्डभित्र यसअघि निर्मित संरचनाहरू हटाउने र त्यसबाट कायम हुन जाने ताल किनाराको मध्यवर्ती क्षेत्रको सौन्दर्यीकरण गर्नु पर्छ । सरोकावाला सरकारी निकायले संयुक्त सुरक्षा गस्ती टोली बनाई हप्ताको कम्तीमा १ पटक निरीक्षण र अनुगमन गरी प्रतिवेदन पेस गर्नु पर्ने आदेश गरिएको छ । उच्चको आदेशपछि तालको दीर्घकालिन संरक्षणको बाटो खुलेको छ ।

Advertisement


फेवाको पानीको स्रोतको रुपमा रहेका मुहानहरु, त्यसको बहाव क्षेत्र र समग्र जलाधार क्षेत्र समेतमा कुनै पनि भारी यान्त्रिक उपकरणको प्रयोगलाई पूर्ण नियन्त्रण गर्नु पर्छ । सिमसार क्षेत्रको संरक्षणका लागि त्यसको प्राकृतिक संरचना, स्वरुप तथा अवस्थिति नखल्बलिने र यथावत् कायम रहने किसिमबाट मात्र उपयोग गर्न पाउने गरी नीतिगत निर्णय गर्नु पर्ने देखिन्छ । ताल आसपासको क्षेत्रमा बसोबास गर्ने, व्यवसाय गर्ने र कृषिजन्य कार्य गर्ने सबैलाई सिमसार क्षेत्रको महत्व र संरक्षणको बारेमा सुसूचित गर्नु पर्छ ।


सरकारी तथा सरोकारावाला निकायले फेवामा आश्रित जलचरहरुको संरक्षणको सुनिश्चितताका लागि फेवा जलाधार क्षेत्र र तालसँग जोडिएका सिमसार क्षेत्रमा खेती गर्ने किसानलाई कुनै पनि रसायनिक मलको प्रयोग गर्नबाट रोक लगाउनु आवश्यक छ । फेवाको पानीको स्रोतको रुपमा रहेको मुहान क्षेत्र र सम्पूर्ण जलाधार क्षेत्रको संरक्षणको लागि उपयोगी मानिने रुख बिरुवाहरु रोप्ने व्यवस्था मिलाउनेदेखि पानीको स्रोत बढाउनका लागि वन, वातावरण र भूसंरक्षणको क्षेत्रमा क्रियाशील निकायहरुले समन्वय र सहकार्य गरी वृक्षरोपण र भूसंरक्षणको प्रबन्ध मिलाउन पर्छ । त्यस्तो गर्न सकेमा जलाधार क्षेत्रको माटो फेवामा झर्नबाट रोक्न सकिन्छ ।

Advertisement


ताल संरक्षणसँग सम्बन्धित सरोकारवाला निकाय, क्रियाशील नागरिक समाजको सहभागितामा संयन्त्र बनाएर फेवाको संरक्षण र दिगो विकासको लागि विद्यमान कानुन र न्यायिक निर्णयहरुका आधारमा स्थापित मापदण्डहरुको कार्यान्वयन गर्नु आजको आवश्यकता हो ।

तपाईको प्रतिक्रिया