कास्कीलाई प्रदेशस्तरीय फुटबल उपाधि

समाधान संवाददाता २०८१ जेठ २९ गते १२:५१

पोखरा ।
गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । पोखरा रंगशालामा सोमबार सकिएको फाइनलमा तनहुँलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि जितेको हो ।


उपाधिसँगै कास्कीले नगद २ लाख जितेको छ भने उपविजेता तनहुँले नगद १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । निर्धारित समयमा दुबै टिम गोल गर्न असफल बनेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । कास्कीको तर्फबाट सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयुष्मान गुरुङले गोल गर्दा राजकुमार कुँवरको प्रहार गोल पोस्टमा लाग्दै बाहिरिएको थियो ।


यता, तनहुँका लागि दिपेश आले, शान्तबहादुर गुरुङ र आशबहादुर गुरुङको प्रहार गोलमा परिणत हुँदा देव गुरुङको प्रहार गोल पोस्टमा लाग्दै बाहिरिंदा सजिन थापाको प्रहारलाई कास्कीका गोल किपर आकाश रानाभाटले बचाउ गरेका थिए । निर्धारित समयमा कमजोर फिनिसिङका कारण दुबै टिम गोल गर्न असफल बनेका थिए ।

Advertisement


प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी तनहुँका शन्तबहादुर गुरुङ घोषित हुँदै नगद १० हजार हात पारे । कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा इमर्जिङ प्लेयर, कास्कीका विशन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक कास्कीका सन्तोष केसी घोषित भए ।


उत्कृष्ट घोषित भएका सबैले जनही नगद ५ हजारका साथमा ट्रफी प्राप्त गरेको गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले बताए ।

Advertisement

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा भएको प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिलबहादुर गुरुङ, अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङ, प्रदेश खेलकुदका सल्लाहकार सुनील गुरुङ, समाजसेवी टीका कार्की लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।


प्रदेश खेलकुदका उपाध्यक्ष गुरुङले पछिल्लो क्रममा परिषदले खेलकुद विकासका लागि विभिन्न प्रतियोगिता तय गरेको जनाउँदै पोखरालाई पर्यटनको सहरका रुपमा मात्रै नभई खेल पर्यटन हबको रुपमा विकास गर्न सबैको सहयोग र सहकार्यको खाँचो रहेको औंल्याए ।

एन्फाका निवर्तमान अध्यक्ष शेर्पाले पछिल्लो समय नेपाली फुटबलको अवस्था खस्किंदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै फुटबल विकासका लागि जिल्ला र प्रदेश लिगहरु आयोजना गर्नुपर्ने विचार राखे । कार्यक्रम प्रदेश फुटबल संघका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया