आधारभूत लेखा तालिम

समाधान संवाददाता २०८१ जेठ २९ गते १३:११

पोखरा ।
पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा ७ दिने आधारभूत लेखा तालिम आयोजना गरेको छ । सोमबारबाट सुरु भएको तालिममा ३० जना सहभागी छन् ।

Advertisement


पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीका अनुसार चुस्त रुपले लेखा व्यवस्थापन गर्ने दक्ष जनशक्ति उत्पादनका लागि निःशुल्क तालिमको आयोजना गरिएको हो ।

‘लेखा व्यवस्थापन गर्नु भनेको सम्पत्ति संरक्षणमात्र हैन, कानुनी झमेलाबाट मुक्ति पाउनु पनि हो,’ उनले भने, ‘सही तरिकाले लेखा नराख्दा झमेलामा पर्न सकिन्छ । चुहावट हुन सक्छ, त्यसैले सही तरिकाले लेखा राख्नैपर्छ ।’ उनले लेखापालको जागिर आफैंमा आकर्षक रहेको पनि जिकिर गरे ।

Advertisement


पोखरा महानगरपालिकाका वित्त महाशाखा प्रमुख जयराम पौडेलले लेखा प्रणाली भनेको व्यक्ति तथा व्यवसायीको जीवनको अत्यावश्यक सर्त रहेको बताए । उनले सही तरिकाले लेखा राख्दा दण्ड, जरिवानाको झन्झट नआउने र आफ्नो सम्पत्तिको सही सुरक्षा हुनेसमेत धारणा राखे ।


पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले वित्त व्यवस्थापनको प्रारम्भिक कार्य नै लेखाबाट सुरु हुने बताउँदै सही तरिकाले लेखा राख्नु व्यवसायी स्वयंको लागि पनि राम्रो हुने बताए ।

Advertisement

उनले नियामक निकायहरुलाई भुलवशः हुने गरेका सामान्य त्रुटिलाई देखाएर ठूलो दण्ड–जरिवाना गर्नुभन्दा वित्तीय साक्षरता र यस्ताखालका तालिम आयोजना गर्न पनि सुझाए ।


कार्यक्रममा अपिल सिग्देल लगायतले वित्त व्यवस्थापनका फाइदा तथा तालिमले दिने रोजगारीबारे प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया