जोमसोम ।
जलवायु परिवर्तनको असर हिमाली जिल्ला मुस्ताङमा पर्न थालेको छ । स्याउको राजधानी मानिएको मुस्ताङमा जलवायुको प्रभाव देखिन थालेपछि यहाँको कृषि उत्पादनमा समेत यसको प्रत्यक्ष/परोक्ष असर देखिन थालेको हो ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको तापमानसमेत विगतको तुलनामा वृद्धि भइरहेको छ । अनुकूल हिउँ पर्ने समयमा हिउँ नपर्ने, कुनै वर्ष आंशीक हिउँ पर्ने र कहिले भारी हिमपात हुने लगायतका कारण हिमाली क्षेत्रमा जलवायुको असर देखिन पुगेको हो । जलवायुका कारण यहाँको पर्यटन, जैविक विविधता, धर्म, संकृति, मौलिकता, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा, मौलिकतासँगै यहाँको मुख्य आयआर्जनको स्रोत कृषि र पशुपालन व्यवसायसमेत प्रभावित हुन थालेको छ ।
गत वर्ष स्याउको परागसेचन हुने महिना वैशाखमा जलवायु परिवर्तनकै असरका कारण निरन्तर वर्षा हुँदा स्याउ उत्पादन घटेको थियो । यस वर्ष पनि मुस्ताङका अधिकांश स्याउ बगानमा बोटमा रोगको प्रकोप र कीरा देखा परेका छन् । स्याउ बोटमा रोगकीराको प्रकोप देखिन थालेपछि किसान अहिले चिन्तामा छन् ।
मुस्ताङको ५ स्थानीय तहमध्ये ३ स्थानीय तहका कतिपय स्याउ बगैचामा झुसिल्कीरा प्रजातिको फलको गोवारो कीराको प्रकोप बढ्दो रुपमा रहेको कृषि ज्ञान केन्द्र मुस्ताङले उल्लेख गरेको छ ।
कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सम्बन्धित स्थानीय तहका कृषि शाखाहरुले आफ्नो कार्यालयको फेसबुक पेजबाट सार्वजनिक सूचना गरी कृषकलाई सजगता अपनाउन अनुरोध गरिएको छ । उनीहरुले फलको गवारो रोगकीरालाई न्यूनीकरण गर्न प्राविधिक सल्लाहसमेत दिने गरेका छन् ।
स्याउ लगायतका फलफूल तथा तरकारीमा गवारोको प्रकोप सबैभन्दा बढी घरपझोङ गाउँपालिका देखिएको छ । यहाँका ५ वटै वडामा यसको प्रकोप देखिएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका ४ र ५ नम्बर वडामा पनि यस प्रकारको समस्या देखिएको छ । थासाङमा यसको असर थोरै छ ।
घरपझोङ ४ जोमसोमका किसान हृदय श्रेष्ठले स्याउ लगायतका फलफूल तथा तरकारीमा झुसिल्कीरा जस्तो गवारो किरा व्यापक रुपमा देखिएको जानकारी दिए । उनले स्याउको बोट र अन्य बालीमा हरियो, कालो र खैरो रंगका कीराले क्षति पु¥याएको उल्लेख गरे ।
‘स्याउका पात र फलमा जता हेर्यो उतै कीरा देखिन्छन्, फलमा प्वालै प्वालले छिद्रछिद्र भएको छ,’ उनले भने, ‘हिजोमात्रै बगैचामा रसायनिक विषादी छर्किएको छु, अझै स्याउ बोटबाट कीरा हटिसकेको छैन ।’ जलवायु परिवर्तनको असरका कारण जमिनको तापक्रम बढेकाले यस प्रकारका रोगकीरा देखा परेको हुन सक्ने उनले सुनाए । ‘स्याउ बोटमा यस प्रकारका कीरा पहिलो चोटि देखेको हुँ,’ उनले भने, ‘यसले यहाँको ५० प्रतिशत हाराहारीमा उत्पादन घटाउन सक्ने मेरो अनुमान छ ।’
कतिपय स्याउ बगानमा फल्दै गरेका बोटबाट आफैं झरेर नष्ट भएका छन् । घरपझोङ जोमसोमकी किसान सुकमाया थकालीको बगैचामा रहेका धेरैजसो स्याउ बोटबाट झरेर नांगा भएका छन् । गत वर्ष लटरम्म फल्ने गरेको बगानका स्याउ अहिले झरेर पातलो भएको किसान थकालीले जनाइन् । एकाएक बोटबाट आफैं स्याउ झर्न थालेपछि सुकमाया थकाली आश्चार्य चकित भएकी छन् ।
उनले अनुकूल समयमा हिउँ नपरेको र स्याउको परागसेचन हुने बेला निरन्तर वर्षा भएकाले यस्तो भएको हुन सक्ने अनुमान गरिन् । मुस्ताङमा किसानको मुख्य आम्दानी स्रोत नै स्याउ हो । स्थानीय जातका स्याउ खेती भइरहेको मुस्ताङमा ५ वर्षदेखि उच्च घनत्व प्रविधिमा आधारित स्याउप्रति किसानको आर्कषण बढ्दै गएको छ ।
जलवायु परिर्वतनका कारण हिमाली क्षेत्रको तापमान वृद्धि हुँदा स्याउ खेतीले बसाइ सार्न थालेको छ । अर्कोतर्फ स्याउ लगायतका फलफूल र तरकारीमा विभिन्न प्रकोप देखिन थालेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङले घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा बढी र थासाङ गाउँपालिकामा स्याउका बोटमा रोगकीराको प्रकोप रहेको जनाएको छ । कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले भने, ‘यसले स्याउको फललाई प्वाल पारेर भित्रको गुदी खाएर फललाई खोक्रो पारिदिन्छ । स्याउको गुणस्तर घटाईदिन्छ भने फलको वजन समेत कम हुन्छ ।’
कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार स्याउ बगैचामा देखिएको कीराको प्रकोप हटाउन रसायनिक विषादीको उचित डोज मिलाएर छर्किनुपर्ने जनाएको छ । यसलाई रोक्न इमामेक्टिन बेन्जोइड वा स्पिनोसाडमध्ये एक १५ लिटर पानीमा ५ ग्राम मिलाएर बगैचामा छर्किन कृषि ज्ञान केन्द्रले सुझाएको छ ।
केन्द्रले जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण प्रकोप देखिएको जनाएको छ । परागसेचन हुने समयमा निरन्तरको वर्षाले यो वर्ष परागसेचनमा असर पुगेकाले बोटबाट फलहरु झर्न पुगेको केन्द्रले जनाएको छ । पछिल्लो समय मुस्ताङमा १ हजार ४ सय ९५ हेक्टरमा स्याउ खेती विस्तार भएको छ । त्यसमध्ये ५ सय ८५ हेक्टरमा लगाइएको स्याउ खेतीले स्याउ उत्पादन दिने गरेको छ । मुस्ताङमा गत वर्ष ४ हजार ९ सय ७५ टन स्याउ फलेको थियो ।
सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया