सम्पादकीय—मनसुन जन्य विपद् र जोगिने उपाय
नेपालमा यस वर्षको मनसुन भित्रिएको छ । सरदर मिति भन्दा तीन दिन अगाडी जुन १०मा मनसुन प्रवेश गरेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रायः जसो नेपालमा जुन महिनाको दोस्रो साता (जुन १३मा) मनसुन प्रवेश गर्ने भए पनि यसपालि तीन दिन छिटो आइपुगेको छ । नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने गर्दछ । तर यो तालिका सधैँ भरी एकनास हुदैन ।
अहिले कोसी प्रदेशमा केन्द्रीत रहेको मनसुन अबको केही दिनमा नेपालको पश्चिमी सीमासम्म फैलिने अनुमान गरिएको छ । विभागले नेपालमा आगामी बर्खायाममा सरदरभन्दा बढी वर्षा र सरदरभन्दा बढी गर्मी हुने सम्भावना छ । देशका अधिकांश स्थानहरूमा यो वर्ष सरदरभन्दा ३५ देखि ५५ प्रतिशत बढी वर्षा हुने पुर्वानुमान छ । जसको कारण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद्सम्बन्धी प्रक्षेपणअनुसार बाढी, पहिरो, डुबान/कटानलगायत प्राकृतिक प्रकोप बढ्न सक्छ ।
प्रशान्त महासागरमा विकसित हुने ‘ला नीन्या’ प्रणालीका कारण पनि यो वर्ष औसतभन्दा धेरै वर्षा हुने आकलन गरिएको हो । चार महिनाको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना भएपनि सरकारी मनसुनजन्य विपद्बाट हुने क्षतिलाई कम गर्न आवश्यक पूर्व तयारी गरेको देखिदैन । गण्डकी प्रदेशमा यो वर्ष औसतभन्दा बढी वर्षा हुने देखिन्छ ।
विभागले बाढी आउन सक्ने तटीय क्षेत्रमा बस्ने मानिसहरूको मोबाइलमा बाढीको पूर्वसूचनाबारे सन्देश पठाउँदै आएको छ । तर त्यस्तो पूर्वानुमान नदीको माथिल्लो भागमा आएका बाढीको आधारमा मात्रै हुने गरेको छ । नेपालमा माथिल्लो क्षेत्रमा पानी परेको निगरानीका आधारमा दिइने पूर्वचेतावनी मात्रै प्रयोग भइरहेको छ । नेपालमा बाढीको पूर्वानुमान गर्ने प्रविधि र अभ्यास सीमित छ ।
प्राधिकरणको यो बर्खायामको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा विपद्बाट करिब १८ लाख १ हजार जनसंख्या र ४ लाख १२ हजार घरधुरी कुनै न कुनै रूपमा प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ । मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र १८ हजार घर परिवारलाई मनसुनजन्य विपद्मा उद्वार तथा राहत दिनुपर्ने प्राधिकरणको आकलन छ ।
सरकारी निकायले हरेक वर्ष मनसुनजन्य विपद्को जोखिमको बारेमा प्रक्षेपण गर्छन । तर विपद्बाट हुने जनधनको क्षति रोक्ने गरी प्रभावकारी प्रतिकार्य योजना नबनाउने नेपालको समस्या हो । मनसुनका कारण हुने यस्ता घटनाको प्रभाव न्यूनीकरण गर्न पूर्वतयारीका लागि सरोकारवाला निकायले आवश्यक कार्य गर्नु पर्छ । विपद्पछि उद्धार र राहतको योजनासँगै सम्भावित जोखिम रोक्ने योजना बनाउनु पर्छ । सरकारले विपद् रोक्ने वा जोखिममा रहेकाहरूलाई पहिले नै स्थानान्तरण गर्ने योजना बनाउन ध्यान दिनु पर्ने देखिन्छ ।
तपाईको प्रतिक्रिया